सहकारी अवलोकनका लागि अमेरिका गएको नेपाली टोली फिर्ता !

काठमाडौं, २०७५ पुस ६ । संयुक्त राज्य अमेरिकामा सञ्चालित सहकारीहरुको अध्ययन अवलोकनका लागि भर्जिनिया राज्यमा गएको नेपाली सहकारीकर्मीहरुको टोली स्वदेश फर्किएको छ । इन्टरनेशनल डेभलपमेण्ट इन्स्टिच्यूट (आइडिआई) अमेरिकाको आयोजना तथा राष्ट्रिय सहकारी बैंक लिमिटेड नेपालको समन्वयमा अमेरिकाको भर्जिनियामा सञ्चालित सहकारी व्यवस्थापन नेतृत्व विकास तथा अध्ययन अवलोकन कार्यक्रममा सहभागी नेपाली टोली स्वदेश फर्किएको हो ।

राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीको नेतृत्वमा देशभरका विभिन्न सहकारी संघ संस्थाका १६ जना सहकारीकर्मीहरु उक्त कार्यक्रममा सहभागी भएका थिए ।

डिसेम्बर २ देखि ८ गतेसम्म भर्जिनियाको स्प्रिङफिल्डमा सम्पन्न कार्यक्रममा सहकारी अभियान र सुशासन, विकासोन्मुख देशमा सहकारीको भूमिका, कृषक देखि कृषक कार्यक्रम, अमेरिकाको सहकारी अभियान, विद्युत सहकारीमार्फत देश विकासमा पुगेको योगदान लगायतका विषयमा जानकारी गराइएको थियो । सहकारीमार्फत आर्थिक विकासमा भएका विभिन्न क्षेत्रका बारेमा कार्यक्रममा छलफल भएको बैंकका सञ्चालक रामबहादुर जिसीले जानकारी दिए ।

कार्यक्रममा नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसीले सहकारी बैंक र दिगो विकास लक्ष्यका विषयमा सहजीकरण गरेका थिए । नेपालको बारेमा धेरै विषयमा आफ्नो अनुभव रहेको स्मरण गर्दै उनले नेपालको स्रोत साधनलाई अधिकतम प्रयोग गर्न सके नेपाल समृद्ध बन्न धेरै समय नलाग्ने बताएका थिए ।

नेपालको समृद्धिका लागि महिला र युवाहरुलाई अगाडि सार्न आवश्यक रहेको उहाँको भनाइ थियो । जबसम्म युवा जनशक्तिलाई देश निर्माणको अभियानमा लगाइदैन तवसम्म विकासले गति लिन नसक्ने उनको भनाइ थियो ।

आइडिआई अमेरिकाका प्रवन्ध निर्देशक परशु नेपाल र कार्यकारी प्रमुख सुमनराज तिमिल्सिनाले सहकारीमार्फत अमेरिकामा भएका प्रगति, असल कार्यहरु, प्रविधि र व्यवस्थापन लगायतका विषयमा सहजीकरण गरेका थिए । नेपाल र अमेरिकाको सहकारीबीच समन्वय गरी प्रविधि लगायत आवश्यक सहयोगको वातावरण बनाउन आफुहरु निरन्तर लागेको बताएका थिए ।

आइडीआइको संयोजनमा नेपालबाट गएको टोलीले विश्व बैंक, विश्व ऋण परिषद, अमेरिकाको राष्ट्रिय सहकारी बैंक, सहकारीमार्फत सञ्चालित कमन कोप बजार लगायत अमेरिकाका विभिन्न पर्यटकीय स्थलहरुको अध्ययन अवलोकन गरेको गरेको टोलीका सदस्य नारायणदत्त तिमिल्सिनाले जानकारी दिए ।

सहकारी क्षेत्रमा क्रियाशिल अगुवाहरुलाई अमेरिकाको सहकारी अभियानले गरेका असल अभ्यास र प्रविधिहरुका बारेमा जानकारी लिई नेपाल फर्केर त्यसको विस्तार गर्ने उदेश्यले बैंंकसंग सहकार्य गरिएको आइडिआई अमेरिकाका कार्यकारी प्रमुख सुमन तिमिल्सिनाले बताए ।

कार्यक्रममा सहभागी नेपाली सहकारीकर्मीहरुलाई प्रमाणपत्र वितरण गर्दै अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीले अमेरिकाले प्रविधिका क्षेत्रमा गरेको विकासलाई नेपाल भित्र्याउन सके विकासमा फड्को मार्न सकिने बताए । उनले सहकारीमार्फत आर्थिक विकासका क्षेत्रमा अमेरिकामा सिकेको कुरा नेपालमा व्यवहारमा ल्याउन समेत सहभागीहरुलाई आग्रह गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *