स्व. सांसद घर्तीको संझनामा श्रद्धाान्जलि सभा : सांसद घर्तीले जनताको सेवामा लगाएको समय अतुलनीय – ढुंगाना

स्व.सांसद टेक वहादुर घर्तीको सपना पुरा गर्ने जिल्ला स्थित विभिन्न दलका नेताहरुको प्रतिबद्धता !

थम्मन थापा, बुर्तिवाङ (बागलुङ) २०७५ पुस ४ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङको आयोजनामा गण्डकी प्रदेश बागलुङ क्षेत्र नं २ ख का प्रदेश सांसद तथा राष्ट्रिय जनमोर्चाका युवा नेता टेक बहादुर घर्तीको सम्झनामा श्रद्वाञ्जली सभा बुधवार सम्पन्न भएको छ ।

ढोरपाटन नगरपालिका ६ अधिकारीचौर सहि खोलामा आयोजित श्रद्वाञ्जली सभामा बोल्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख तथा राष्ट्रिय जनमोर्चाका नेता राजेन्द्र ढुंगानाले जनताको गास, बास र कपास पाउने अधिकार स्थापित गर्ने सांसद घर्तीको सपना स्मरण गर्दै अव त्यो कार्यभार आफुहरुको काँधमा आएको बताए । स्व. घर्तीले जनताको सेवामा लगाएको समय अतुलनीय भएको भन्दै ढुंगानाले घर्तीको निधनले सिंगो जिल्लालाई घाटा पुगेको बताए ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटाले ढोरपाटन क्षेत्रको बिकासमा ध्यान दिईने बताए । संसद चन्द्रबहादुर बुढाले लघुजलबिधुतको केन्द्रको रुपमा बागलुङको २ नम्बर क्षेत्रलाई विकास गरिने बताए । सांसद घर्तीको सपना अनुसार जिल्लाको दुईनम्बर क्षेत्रको बिकास गर्ने उनिहरुको प्रतिबद्धता थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद दिपक कोईराला, राजमो जिल्ला उपाध्यक्ष धर्म कुवर, ढोरपाटन नगर प्रमुख देव कुमार नेपाली, नेपाली कांग्रेसका यामु पाैवी, नेकपा क्रान्तिकारीका निल बहादुर पुन, वावुराम नेपाली, नेकपा जिल्ला संयन्त्र सदस्य फमलाल निउरे, सांसद घर्तीकी श्रीमती सुनमाया घर्ती, बानपा–३ का वडाअध्यक्ष लक्ष्मी वास्कोटा लगायतले शोक मन्तव्य राखेका थिए ।

गण्डकी प्रदेशका सांसद स्वर्गीय टेक वहादुर घर्तीको सपना पुरा गर्ने जिल्ला स्थित विभिन्न दलका नेताहरुले प्रतिबद्धता जनाएका छन् । श्रद्धाञ्जली सभामा बोल्ने वक्ताहरुले सांसद घर्तीले देखेका सपना पुरा गरेरै छोड्ने बताएका हुन् ।

सो अवसरमा स्वर्गीय सांसद घर्तीको तस्विरमा उपस्थित सबैले फुल, माला, खादा र अविरले माल्यार्पण गरि दिवंगत आत्माको चीर शान्तिको कामना सहित भावपुर्ण श्रद्वाञ्जली अर्पण गरेका थिए । श्रद्वाञ्जली सभामा राष्ट्रिय जनमोर्चाका नेता कार्यकर्ता, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, शुभेच्छुक, आफन्तजन लगायतको व्यापक उपस्थिति रहेको थियो । श्रद्वाञ्जली सभा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापाको अध्यक्षता र भीमलाल पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.