आर्थिक अनुशासन कायम गरी काम गर्न महालेखा परीक्षणको कार्यालयको आग्रह !

बागलुङ २०७५ पुस ४ । महालेखा परीक्षणको कार्यालयले सरकारी कार्यालयहरुको अन्तिम लेखापरीक्षण गर्नका लागि आर्थिक अनुशासन कायम हुनेगरी काम गर्न सबैलाई आग्रह गरेको छ ।

लेखा परीक्षणको कार्यालयले बागलुङ नगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरुका बीचमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरी महालेखा परीक्षणको कार्यालयले अन्तिम लेखा परीक्षणको काम गरिरहेकाले आर्थिक अनुशासन कायम गरी काम गर्न सबैलाई आग्रह गरेको हो ।

महालेखा परीक्षणको कार्यालयका निर्देशक नीरप्रसाद सुवेदीले लेखा परीक्षणको सिलसिलामा आर्थिक अनुशासनलाई ध्यान नदिई काम गर्ने परिपाटीको विकास भइरहेको भन्दै जनप्रतिनिधि तथा कर्मचारीहरुबीच समन्वय र सहकार्य गरेर अगाडि बढ्न आग्रह गरे ।

राज्य सञ्चालनका लागि विभिन्न ऐन, नियम, कानुनहरु भएपनि त्यसको ख्याल नगरी गरिने कामको बारेमा महालेखा परीक्षणको कार्यालयले गल्ती औल्याई कारवाहीको दायरामा समेत ल्याउने गरेको भन्दै सुवेदीले सबैले ऐन, नियमको पालना गर्न आग्रह गरे ।

बागलुङ नगर कार्यपालिकाका सदस्यहरुले खरिद सम्झौता, रकमान्तरण, सानातिना आर्थिक कारोवार वडा स्तरबाटै हुन सक्ने नसक्ने बारेमा महालेखा परीक्षणको कार्यालयसँग प्रश्न सोधेका थिए । कार्यपालिका सदस्यहरुले उठाएको प्रश्नको उत्तर दिदै निर्देशक सुवेदीले कुनैपनि सामाग्री खरिद गर्दा ब्राण्ड वा कम्पनी खुलाउँन नपाइने, रकमान्तरण गर्दा पुँजीगत खर्चलाई चालुमा रकमान्तरण गर्न नपाइने र सरकारी निकायको सम्पूर्ण आर्थिक कारोवारको जिम्मेवारी कार्यालय प्रमुख हुने भएकाले कार्यालय प्रमुखबाट सेवा प्रदान हुन सक्ने बताए ।

अहिले महालेखा परीक्षणको कार्यालयले कुनैपनि सरकारी निकायको अख्तियारीप्राप्त कर्मचारीहरुले गरेका आर्थिक क्रियाकलापको सम्पूर्ण गुण दोषको भागीदार स्वयंनै हुने भएकाले कार्यालयमा देखिने बेरुजु तथा महालेखा परीक्षकको कार्यालयले औल्याउँने कमजोरीकै आधारमा स्वयं कर्मचारीको सरुवा, बढुवा तथा अवसर प्राप्तीमा असर पुग्ने बताए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले महालेखा परीक्षणको कार्यालयले गर्ने अन्तिम लेखा परीक्षणका क्रममा केही गल्ती कमजोरी भेटिएमा कार्यालय प्रमुखको जागिरे जीवनमै ठूलो धक्का लाग्ने भएकाले प्रक्रियागत ढंगबाट अगाडि बढ्नुपर्ने अवस्था रहेको बताए ।

बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले महालेखापरीक्षणको कार्यालयले जानकारी गराएको विषयमा नगरपालिकाले गम्भिरताका साथ काम गर्ने बताएका थिए । पौडेलले जनताको इच्छा आकांक्षा अनुसार नगरपालिकाले काम गरिरहेको भन्दै कहीं कतै आर्थिक अनुशासनमा समस्या भए त्यसलाई सच्चाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बागलुङ नगरपालिका वडा अध्यक्षहरु जीवन आचार्य, शिवप्रसाद सापकोटा, खेमराज सापकोटा, गणेश बहादुर थापा, गुरुदत्त पाठक लगायतले महालेखा परीक्षणको कार्यालयले गर्ने काम, कर्तव्य र अधिकारका विषयमा जिज्ञासा रखेका थिए ।

महालेखा परीक्षणको कार्यालयले बागलुङ नगर क्षेत्रका सरकारी कार्यालयहरुको अन्तिम लेखापरीक्षण गर्नका लागि कार्यालयका निर्देशक सुवेदीको नेतृत्वमा लेखापरीक्षण अधिकारी विवेकानन्द झा, संगीता शर्मा र विष्णुबहादुर राईको टोलीले बागलुङमा केही समय काम गर्ने जनाइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.