व्यवस्थापन समितिलाई नै असफल बनाउन अस्पताल प्रशासन लाग्यो !
विशेषज्ञ डाक्टर टिकाउ हुन नदिन अस्पताल भित्रै असहज वातावरण सिर्जना गरिन्छ – राना मगर

कोपिला कंडेल, बागलुङ २०७५ पुस २ । धौलागिरि अन्चल अस्पताल व्यवस्थापन समिति बागलुङका अध्यक्ष केबी राना मगरले अस्पताल सुधारका लागि आफु निकै प्रयत्नरत रहेपनि अस्पताल प्रशासनले सहयोग नगरेको गम्भीर आरोप लगाएका छन् । सोमबार आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष राना मगरले ब्यवस्थापन समितिलाई नै असफल बनाउनका लागि प्रशासन लागिपरेको खुलासा गरे ।

अस्पताल भित्र सहकार्य र समन्वयको अभावका कारण धेरैखाले समस्या पैदा भएको चर्चा गर्दै उनले संरचनागत त्रुटी र प्रशासनिक कमजोरीले गर्दा अस्पतालबाट प्रवाह हुने सेवा प्रभावकारी बन्न नसकेको बताए ।

धौलागिरी संचार क्लब बागलुङले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले अस्पतालमा पटक पटक बिशेषज्ञ डाक्टरको अभाव हुने गरेको छ, अध्यक्ष रानाले भने, बस्ने वातावरण नहुदा सिनियर डाक्टरहरु बागलुङमा टिकाउ हुन सक्दैनन् । बिशेषज्ञ डाक्टर टिकाउ हुन नदिन अस्पताल भित्रै असहज वातावरण सृजना हुने गरेको उनको टिप्पणी थियो ।

जनतालाई सेवा दिन दरबन्दी अनुसारको डाक्टर ल्याउन पहल गरिरहेका छौ, अध्यक्ष रानाले भने, अस्पतालको सुधारका लागि आफु निरन्तर प्रयासरत रहेपनि प्रशासनले सहयोग गरेन ।

अस्पतालमा बिरामीको लागि अत्यावश्यक औषधी र सेवा सुबिधा भए पनि अस्पताल भित्र कै कर्मचारीले बाहिरी ल्किनिकमा रिफर गर्ने गलत काम भइरहेको गुनासो आइरहेको बताउदै उनले यस्ताखाले गलत क्रियाकलाप बिरुद्ध म निरन्तर खट्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले अस्पतालमा आउने गरेको प्रोत्साहन भत्ता समेत केही कर्मचारीको मिलेमतोमा सीमितले मात्र खाने गरेको आरोप लगाए । ती सीमित कर्मचारी को को हुन उनिहरुको नाम भने उनले बताएनन् ।

कार्यक्रममा समितिका सदस्य शालिग्राम शर्माले अस्पताललाई राम्रो बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । आफुहरु आएपछि अस्पताल भित्र शौचालय सरसफाई र कर्मचारी नियमितता लगायतका सुधारात्मक कार्य भएको उनको भनाई थियो ।

कार्यक्रम धौलागिरि संचार क्लब बागलुङका राजेशचन्द्र राजभण्डारीको अध्यक्षता र सदस्य कृष्ण कडेलको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित लिंक
‘अस्पतालमा असल मान्छे’ संगको कुराकानी : वर्ष दिनमा धौलागिरी अन्चल अस्पतालमा सुधार ल्याउछौँ !

कसरी हुन्छ, हाम्रो अस्पताल, राम्रो अस्पताल ? धौलागिरी अन्चल अस्पतालप्रति घट्दै विश्वसनीयता !

डा. हेमा छन्त्याल, जस्को घरघरमा प्रशंसा छ : धौलागिरी अन्चल अस्पताल, जस्को सर्वत्र निन्दा छ !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.