‘नगरकोट’को रुपमा रहेको कार्यालयबाट नगरवासीलाई सास्ती ! अबिलम्व बजारमा स्थानन्तरण गर्न माग !

बागलुङ २०७५ मंसिर २६ । बागलुङ नगरपालिका कार्यालय अनुपयुक्त स्थानमा भएकाले सेवाग्राहीहरुले सास्ती खेप्नु परेको कुरा आम नगरवासीबाट छिपेको छैन । अन्य सबै सरकारी कार्यालयहरु बजारमा नगरपालिकाको कार्यालयमात्र बजार भन्दा माथीको डाँडामा राख्नाले सेवाग्राहीहरु सानो सिफारिस लिन समेत झण्डै एक किलोमिटर पहाड चढ्नु पर्ने बाध्यताले मारमा परेका छन् । न नगरपालिकाका कर्मचारी न त्यस्का पदाधिकारीज्यूहरुलाई नै त्यो स्थान पायक पर्छ, त्यसार्थले प्रारम्भ देखी नै नगरपालिका कार्यालय अपायक र अनुपयुक्त स्थानमा भएको व्यापक बिरोध हुँदै आएको छ । आम नगरवासीको असुविधालाई ध्यानमा राखी नगरपालिकाको कार्यालय पहिले जस्तै बजार क्षेत्रमा स्थानान्तरण गर्नुपर्ने माग जोडदार तरिकाले उठिरहेको छ ।

पछिल्लो स्थानीय तहको पुनसंरचना अनुसार बागलुङ नगरपालिकामा साबिक भकुण्डे, अमलाचौर, पैयुँपाटा, रायडाँडा, नारायणस्थान लगायतका भागहरु समावेश गरिएपछी त्यस क्षेत्रका नगरबासीहरुले पनि नगरपालिकाको कार्यालय अपायक स्थानमा भएकोले स्थानान्तरणका लागि माग गरेका छन् । यसरी संपूर्ण नगरवासीहरुको जायज मागलाई कहिँकतैबाट सुनुवाई नहुनु नगरवासीको हित बिपरीतको कार्य भनेर टिप्पणी भैरहेको छ ।

नगरपालिका कार्यालयमा सेवाग्राहीहरु पुग्दा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतका पदाधिकारी एवं कर्मचारीहरु अनुपस्थित रहनाले सेवाग्राहीहरुले आक्रोश व्यक्त गर्दै आएका छन् । रित्ता कार्यकक्षका तस्वीर खिचेर सामाजिक सन्जाल फेसबुकमा अपडेट गरिहेका छन् । स्थानीय सन्चारमाध्यमहरुमा यस सम्वन्धमा समाचार सम्प्रेषण गरिएपनि सुनुवाई हुन सकेको छैन ।

केहि दिन पहिले राजधानीको एक टीभी च्यानलले बागलुङ नगरपालिकामा प्रमुख उपप्रमुख लगायत कर्मचारीहरु समेत अनुपस्थित रहेको समाचार प्रशारण गर्दै नगरप्रमुखलाई यस सम्वन्धमा केहि जिज्ञासा राखेको थियो, नगरप्रमुखको जवाफ थियो, ‘कार्यालयमा २०/२५ जना कर्मचारी अनुपस्थित रहेको पाएँ … … ।’

जब जनप्रतिनिधी, कर्मचारी कसैलाई नगरपालिका कार्यालय पायक पर्दैन करबलले मात्रै हाँजिर हुन जान्छन र फर्कन्छन भने अन्य सेवाग्राहीलाई नगरकोटको रुपमा रहेका कार्यालयमा पुगेर कोहि नभेटेर रित्तो हात फर्कनु पर्दा कति सास्ती हुन्छ होला ? जिल्ला प्रशासन, जिल्ला प्रहरी, मालपोत, शिक्षा, कर, अदालत लगायतका सबै कार्यालयहरु बागलुङ बजारमा रहनु र केबल नगरपालिका मात्र माथी हुनाले नगरवासीलाई निकै सास्ती खेप्नु परेको यथार्थलाई आत्मसात गरी नगरप्रमुख जनकराज पौडेलले संपूर्ण नगरवासीले व्यहोर्न बाध्य यस असुविधा प्रति गम्भीररुपमा सोँच्नु जरुरी छ । नगरवासीको सर्वाधिक हितमा रहेको यस समस्यालाई समाधान गर्न सके नगरप्रमुखले नगरवासीको हाईहाई पाउनेछन भन्ने कुरामा शंका छैन ।

पन्चकोट, कारीकोट, माझकोट, राजारानीकोट, संसारकोट जस्तै अहिलेको नगरपलिका कार्यालयलाई नगरकोटको रपमा बिकास गरी अन्य प्रयोजनका लागि प्रयोगमा ल्याउनु सार्थक हुने भन्दै नगरबासीहरुले स्थानीय सरकारसंग माग गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *