नेपालकै सर्वाधिक ५ सय ६७ मिटर लामो बाँगेचौर-अदुवाबारी झोलुंगे पुल बनाउन अर्थको स्वीकृती !

गणेश पौडेल, बागलुङ २०७५ मंसिर २४ । बागलुङ र पर्वतको पाङ जोड्ने मुलुककै सबैभन्दा लामो झालुङ्गे पुल निर्माणको प्रक्रिया अगाडि बढेको छ । मुलुककै सबैभन्दा लामो हुने उक्त पुल निर्माणका लागि आवश्यक प्रविधि खरिदका लागि अर्थमन्त्रालयले सहमति दिएसँगै पुल निर्माणको काम सुरु भएको हो ।

बागलुङ नगरपालिका वडा नं. १ रामरेखा बांगेचौर र कुस्मा नगरपालिका वडा नं. १ पाङको अदुवावारी जोड्नेगरी निर्माण गर्न लागिएको ५ सय ६७ मिटर लामो र १ सय ६० मिटर अग्लो पुल निर्माणका लागि आवश्यक प्रविधि खरिदका लागि अर्थ मन्त्रालयले बजेट स्वीकृत गरेपछि पुल निर्माणको प्रक्रिया अगाडि बढेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका प्रमुख कुमार थापाले बताए ।

२०५९ सालदेखि पुल निर्माणको चर्चा चलेपनि लामो दुरी भएकाले लठ्ठा तान्न समस्या हुने भन्दै अध्ययन प्रक्रियामै रोकिएको थियो । बागलुङ नगरपालिकाले उक्त स्थानमा पुल बनाउँने सक्रियता देखाएसँगै सस्पेन्सन ब्रिज डिभिजनले पुनः सर्वे गरेर पुल निर्माणको कामलाई अगाडि बढाएको थापाले बताए । तीन महिना अगाडि सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले पुनः सर्वेक्षण गरी पुल निर्माणमा आवश्यक लठ्ठा तान्ने मेसिन खरिदका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरेको थियो ।

अर्थ मन्त्रालयले चीनियाँ प्रविधिको लठ्ठा तान्ने मेसिन खरिद गर्न ४० लाख रुपियाँ बजेट स्वीकृत गरेपछि पुल निर्माणको प्रक्रिया सुरु भएको प्रमुख थापाको भनाई छ । ‘हामीले यही पुल निर्माण गर्ने भनेरै लठ्ठा तान्ने मेसिन खरिदका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरेका थियौं, अर्थ मन्त्रालयले बजेट स्वीकृतपछि मेसिन खरिद र निर्माणको प्रक्रिया एकसाथ अगाडि बढाउँने सोंच बनाएका छौं ।’ थापाले भने ।

बागलुङ बजारदेखि नजिकै देखिने पाङको अदुवावारीसम्म पुग्नका लागि कालीगण्डकी नदीको ठूलो खोंच पार गरेर हिड्नेपर्ने बाध्यताको अन्त्य गर्नका लागि पुल निर्माणको प्रक्रिया अगाडि बढाइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । बागलुङ बजारसँग व्यवसायीक सम्बन्ध रहेका कुश्मा नगरपालिकाका केही वडा र जलजला गाउँपालिकाका केही वडावासी लगायतका जनताका लागि सहज पुहुँच पुग्नेगरी पुल निर्माणका लागि केन्द्र सरकारलाई यस अगाडिनै दवाव दिइरहेको नगरप्रमुख पौडेलको भनाई छ ।

२०५९ सालमा पाँच करोड ८४ लाख रुपियाँ लागत अनुमान गरिएको उक्त पुल निर्माणका लागि अहिले आएर करिब १० करोड रुपियाँ खर्च हुने सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका इन्जिनियर बैकुण्ठ अर्यालले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *