गुल्मी भार्सेली मगरहरुको ईतिहासः खानी मजदुर देखि मन्त्री सम्म !

खानी बन्द पछि लडाई र भैसी पालना : अहिले पनि ७० वटा भैसी र बर्षेनी २५ वटा लैना !

प्रेम सुनार, गुल्मी २०७५ मंसिर–२४ । दोश्रो बिश्व युद्ध देखि नै गुल्मीको भार्से गाउँ मलायका लाहुरेको गाउँका रुपमा ( तत्कालिन ब्रिटिश आर्मी ) रुपमा कहलाउँदै आएको थलो हो । पछि भारतिय सेनामा कम्तीमा एक घरधुरी भार्सेली एक लाहुरे भई पेन्सनवाला रहेका छन ।

त्यस ताका युवाहरु लाहुरे हुन गए पनि यता घरमा बसेका बुढापाका र महिलाहरुले ठुलो संख्यामा भैसी पाल्ने गर्दथे । भार्सेको जंगलमा ५ सय भन्दा बढि भैसी पालिन्थ्यो त्यो ताका । अहिले पनि तिन जना ब्यक्तिले ७२ वटा भैसी पालेर पुर्खेयौली इतिहासलाई बचाएका छन ।

अहिले सत्यवती गाउँपालिका वडा नम्वर ८ मा पर्ने भार्सेको थाप्ले लेक, लिमेटा, दवुङ्ग, दमारीडाँडा, लिसापानी हिलेमा तारकोटे जातको भैसी पालिन्थ्यो । लुम्विनी अञ्चल कै सबै भन्दा अग्लो लेक थाप्लेमा अर्ना भैसी पनि प्रशस्तै पाईन्छन ।

तीनै जंगलमा चराउँदै भार्से लामडाँडाका युवाहरु कुमबहादुर राना , नन्दुप्रसाद बुढाथोकी र निर्मल बुढाथोकीले २०७२ सालमा विदेशबाट फर्के पछि ७२ वटा भैसी पालन गरेका हुन । उनिहरु तीन जना मिलेर २० लाख लगानी गर्दै थाप्ले लामाचौर लिमेटा तारकोटे पैसी पालन सुरु गरेका छन ।
ब्यवस्थीत गोठ , भैसीका लागि पानी पोखरी, जाडो सिजनमा पार ताप्ने स्थान निर्माण गरी सुरु गरिएको भैसी पालन फममा बर्षेनी २५ वटा सम्म दुहुना भैसी हुन्छन । यति वेला ७ वटा भैसी ब्यायका छन । महिनामा कम्तीमा ४० हजार दुध बेचेर आम्दानी लिईने कुम्भबहादुर राना बताउँछन ।
त्यसका अलवा लडेर घाईते भएका , बेहुना छाडेका भैसीको मासुबाट सुकुटी बनाई खैरेनी , बुटवल हुँदै विभिन्न शहरमा २ हजार किलोका दरमा बिक्रि समेत गरिदै आएको रानाले बताए ।

यति बेला विभिन्न गाउँबाट स–साना पाडीहरु समेत खरिद गरेर पालिएको छ । शहर तिर बसाई सराई र भैसी ब्यापारीहरुले गाउँमा भैसीको अभाव सिर्जना गरिरहेको बेला ती युवाहरुले ठुलो संख्यामा भैसी पालेर उत्प्रेरणा दिई रहेको त्यस वडाका वडाध्यक्ष सन्तकुमार थापाले बताए ।

‘ हाम्रा पिता–पुर्खाहरुले माथी जंगलमा ५ सय वटा भन्दा बढि भैसी पाल्ने गरेको थलो हो भार्से’– थापाले भने–‘ अहिले त मधेस र शहरतिर बसाई सराई गर्ने हुँदा हिजो पचास साठी वटा पाल्नेहरुको गोठ समेत अहिले रित्तै छ । कतिपयले एक दुई भैसी पालेका छन । ती युवाहरुले पहिला पहिला जस्तै त्यति धेरै संख्यामा भैसी पाल्दा उनिहरुले उत्पादन गरेको दुधले गाउँ निर्भर भएकोमा खुशी लागेको छ ।’

उनिहरु मध्ये कुमबहादुर र नन्दप्रसाद बुढाथोकी दुई बर्ष सम्म कतार बसेर आएका थिए । निर्मल बुढाथोकी मलेशियाबाट फर्केका थिए । त्यहाँबाट फर्केर आए पछि गाउँ मै केहि गरेर देखाउँ भन्ने उद्देश्य लिएर भैसी पालन सुरु गरेको उनिहरुरुले बताए । उनिहरु भैसीको संख्या क्रमिक रुपले बृद्धि गर्न थालिएको बताउँ छन । माथी प्रशस्त जंगल छ । घाँस काटेर दिनु पर्दैन जंगलमा छाडिन्छ । दिनभरी चरेर आउने गर्दछन ।

किवी खेतीले हराभरा भार्से

गाउँपालिकाको तर्फ देखि नै यति वेला भार्सेमा महँगो मुल्य पर्ने किवी खेतीमा कृषकहरुलाई संगठित गरेर आम्दानीको भरपर्दो माध्यम सिर्जना गरिदै छ । भार्सेको त्रिवेणी कृषक समुह , अगुर्ल कृषक समुह , ठुलापोखरा कृषक समुह र त्रिगा कृषक समुह गठन गरी २०६४ साल देखि सुरु गरिएको किवी खेतीलाई अहिले सत्यवती गाउँपालिकाले ब्यबसायीकिकरण गर्न थालेको हो ।

त्यस गाउँपालिका प्रमुख पारिश्वर ढकाल भन्छन –‘ भार्सेलाई किवी खेती र ब्यवासीक तरकारी खेतीबाट माथी उठाउन सक्ने गरी गाउँपालिका अगाडी बढेको छ । काठमाण्डौ लगायतका ठुला शहरमा ७ सय रुपैयाँ किलो बिक्रि हुने किवीको मुल्य गाउँमा २ सय ५० रहेको र बुटवलमा ४ सय रुपैयाँ किलोमा बेच्न सुरु गरिएको वडाध्यक्ष थापाले बताए ।

अरु समुहमा फल्न सुरु भएको छैन, ठुलापोखरा समुहले यस बर्ष देखि आम्दानी लिन सुरु गरेको छ थापाले भने यस बर्ष त्यस समुहले ४० हजार जतिको किवी बिक्रि गर्न सफल भएको छ । भार्सेकै धनबहादुर पुनले बिश्व मै सबै भन्दा महँङ्गो वनस्पति मानिने अगरुट खेती ठुलो मात्रमा गर्दै आएका छन ।
पुरै जंगलभरी उनले अगरुट लगाएका छन । त्यसको विउ वेर्नाबाट बर्सेनी लाखौको कारोवार गर्छन । जव हुर्काईएको अगरुटले आम्दानी दिन थाल्छ त्यसबाट उनि अरबौंको कारोवार गर्ने सक्ने हुने छन । उनले स्थानिय खजी जातका सयौ बाख्र्रा पालन समेत गरेका छन । उनको घरमा अन्य दुर्लभ वनस्पति र चराचुरुङ्गीले समेत हराभरा छ ।

बसाई सराईले भार्से रित्तिदै

वडाध्यक्ष थापाका अनुसार पलायको लाहुरे पछि भार्सेली युवाहरु प्प्राय कम्तीमा एक जना भारतिय सेनाको लाहुरे हुन हिडे । जसले गर्दा भार्से गाउँ जिल्ला मै सबै भन्दा धनी गाउँमा परिणत भयो । धनी त बन्यो तर त्यही धनले पुर्खेयौली गाउँ छाड्ने बनायो ।

अहिले भार्सेबाट करिव ७० प्रतिशतले मधेसमा जमिन किनेको र ति मध्ये धेरैले घर रित्तै पारेर हिडेको वडाध्यक्ष थापाले बताउँ छन । भार्सेको झण्डै दुई तिहाई जमिन पनि बाँझै छ वडाध्यक्ष थापाले भने कतिपयले दाजु भाई र नातागोतालाई घर धुवाँर्न दिएर छाडेका छन । ’

थापा २०४७ सालमा तत्कालीन भार्से गाविसका उपाध्यक्ष पनि थिए । उनले भने–‘ म त्यति बेला उपाध्यक्ष भएर काम गर्दा भार्सेमा ५ सय २० घरधुरी थिए । बसाई सराई नगरेको भए अहिले त्यसको तेब्बर घरधुरी संख्या हुनु पर्दथ्यो । जबकी अहिले जम्मा ३ सय २९ घरधुरी छन । ती मध्ये धेरैले घर त्यति कै छाडेर रुपन्देही र काठमाण्डौ तिर बसाई सराई गरेका छन । धेरैले बसाई सराई गरेर तराई झरे । घरबारी न उनिहरु बेच्न चाहन्छन न त यहाँ बस्न नै ।’

उनका अनुसार २०५२÷ ०५४ साल तिर हङकङको आईडी खुले पछि ठुलो संख्यामा भार्सेलीहरु त्यता लागे । त्यसका अलवा बेलायतमा पनि धेरै पुगे । सिंगापुर लगायत धेरै मुलुकमा पनि छरिएर बसेका छन । दोश्रो विश्व युद्धताका मलेसिया र वर्मा तिरै बसेकाहरु प्नि छन ।

दोश्रो पुस्ता जसले नयाँ मोडमा पुरायो भार्सेलाई

तामा र फलाम खानीका मजुदुरीमा मात्रै सीमित रहेका त्यहाँका मगर समुदाय मध्येका दोश्रो पुस्ताका एक युवाको सैनिक जीवन यात्रा नै भार्सेली मगरहरुको भाग्यको ढोका खुल्न पुग्यो । विक्रम सम्वत १९७२ तदानुसार सन १९१५ सालमा त्यहाँका १७ बर्षिय युवा गिरिप्रसाद बुढाथोकीले तत्कालीन व्रिटिश ईन्डिया सेनामा भर्ति हुनका लागि घर छाडे । उनि भर्ति केन्द्र गोरखपुरमा पुगेर भर्ति भए । दोश्रो बिश्व युद्धमा ठुलो शाहस देखाए । त्यस पछि उनको नाम लियो कि भार्सेली युवा भर्ती भयो भनेर निश्चित हुन थाल्यो ।

उनि त्यहाँ अनरोरी क्याप्पेटनमा अवकास लिएर नेपाली सेनाको बृद्धि विकासका लागि तत्कालीन राजा महेन्द्रले उनलाई नेपाली सेनाको मानर्थ उपरथी ( मेजर जनरल ) बनाएर नेपाली सेनाको बृद्धि विकासमा लगाए । भारतमा सिपाही देखिको जीवन यात्राका क्रममा उनि नै गुल्मीको पहिलो बडाहाकिम बने ।

पछि धेरै पटक राष्ट्रिय पञ्चायतको सदस्य र रक्षा मन्त्री सम्म भए । उनकै पहलमा भार्सेमा २००८ सालमा बिद्यालय स्थापना भयो । त्यति बेला देखि नै बेलायती नागरिकले निशुल्क अग्रेजी र विज्ञान शिक्षा दिने भएका थिए । जिल्ला मै अग्रेजी माध्यमबाट पढाई सुरु भएको बिद्यालय नै भार्सेको जनसहयोग विद्यालय हो ।

२०१४ सालमा उनले त्यही विद्यालय प्राङ्गणमा जनजातीहरुलाई संगठित गर्न भेला राखे । त्यस लाङ्गाली भेलामा तराईमा बसोबास गर्न पुगेका स्वर्गिय दिलबहादुर दर्लामी र श्रीबहादुर आलेले सुरक्षा स्वयम्सेवीको जिम्मा लिदै लाङ्गालीहरुलाई सुंगुर र खसीको मासु कटाएर खुवाएका थिए ।

त्यस विद्यालय स्थापनामा उनिहरुको पनि ठुलो देन रहेको छ । त्यति बेला सम्म गुल्मीमा कसैले पनि पनि मासु जोखेर खाने चलन थिएन । तर भार्सेमा शैक्षिक विकास संगै जोखेर मासु खाने चलन २०१४ साल अघि देखि नै सुरु भएको थियो । त्यति बेला भार्सेलीहरुले सुंगुरको मासु ५ रुपैयाँ धाने र खशीको मासु ७ रुपैयाँ धार्ने किन बेच गर्दथे । तुलोमा उनिहरुले जोखेर बेच्दै गरेको तस्वीर त्यहाँका युवाले अहिले सम्म सुरक्षित राखेका छन ।

अहिले सामुदायिक विद्यालयमा अग्रेजी माध्यममा पढाईका लागि सहयोगका नाममा चर्को शुल्क अशुल्ने गरिन्छ । तर २००८ साल देखि नै वेलायती नागरिक मगाएर स्थापना गरिएको हाई स्कुलमा उति बेला देखि अग्रेजी र विज्ञान बिषय पढाईन्थ्यो । अहिले पनि भार्सेको जनसहयोग माध्यामिक विद्यालयमा उति बेलाको विज्ञान बिषयको प्रयोगशाला त्यस विद्यालयमा संग्रह गरेर राखिएको छ । भुतपुर्व भारतिय सैनिकहरुको पहलमा निर्माण गरिएको त्यस विद्यालय भवन अहिले पनि अन्यत्रको भन्दा शानदार छ ।
एउटै टोलका ५ जना प्रतिनिधी सभामा

एक समय खानी मजदुर पछि लाहुरेहरुको गाउँका रुपमा मात्रै भार्सेलीहरुले आफ्नो परिचय दिएनन । भार्सेलीहरु राजनैतिक रुपमा पनि गुल्मीका अन्य गाउँ भन्दा धेरै अगाडी बढे ।

फलतः गिरिप्रसाद कै संगतबाट एउटै गाउँ भार्से त्यसमा पानी एउटै टोलबाट हाल सम्म ५ जना प्रतिनिधी सभामा पुगेका छन भने त्यसै गाउँ भार्सेका एउटै परिवारका तिन भाई छोरा मन्त्री बनेको ईतिहास रचेका छन । २०४६ साल अघि सम्म गिरिप्रसाद रक्षामन्त्री भए ।

त्यस अवधी सम्म उनका भाई भिमबहादुर बुढाथोकी र उनका छोरा श्रीप्रसाद बुढाथोकी पनि मन्त्री भए । २०४८ सालमा आएर भार्सेकै झकबहादुर पुन प्रतिनिधी सभामा कांग्रेसबाट निर्वाचित भए । २०७० सालको निर्वाचनमा त्यसै गाउँका डाक्टर कृष्णप्रसाद छन्त्याल कांग्रेसबाटै निर्वाचित थिए ।

भार्से र बुढाथोकी अर्थात सुनारिगी परिवारको ईतिहास गिरिप्रसादका छोरी तर्फका नाती तथा नेपाल प्रहरीका पुर्व प्रहरी नायव महानिरक्षक निरज पुनले लेखेका छन । गिरिप्रसादका कान्छा छोरा नरबहादुर बुढाथोकी नेपाली सेनाका अवकास प्राप्त मेजर जर्नेल हुन ।

यसरी भयो भार्सेमा मगरको मात्रै राज

लेखक तथा पुर्व डिआईजी निरज पुनका अनुसार लुम्विनी अञ्चल मै सबै भन्दा अग्लो लेक थाप्ले समुन्द्री सतह देखि ८ हजार ४ सय ४६ फिट उचाईमा रहेको छ भने त्यसको काँखमा अवस्थित भार्से ४६ फिट उचाईमा रहेको छ । चारै तिर टाकुरा र बिचमा भास्सिएको समथल जमिन भएका कारण भार्से भन्न थालिएको हो । तामा र फलाम खानीको उत्खनन् गर्ने थलो भएका कारण भार्सेमा मगर समुदायले वस्ती बसाल्न सुरु गरेका थिए ।

जहाँ एक घर पनि रैथाने व्राह्मण र क्षेत्री समुदायको छैन । जम्मा एक जना व्राह्मण मात्र १७ बर्ष अघि त्यस गाउँमा बस्न आएका थिए । सीमित मात्रमा बिश्वकर्मा र दर्जीहरुको बसोवास छ । सार्की जाती पनि एक घर नभएको वडाध्यक्ष थापा बताउँछन । ती दलित समुदायका बाहेक पुरै मगर समुदायको बसोबास रहेको छ भार्से जनजाति लोकसंस्कृतिको पनि मुल थलो मानिन्छ ।

सदरमुकाम तम्घासबाट पुर्व १६ माईल दुरीमा पर्ने भार्सेको आफ्नै सीमना पुर्वमा लुम्दी खोला, भनभने नेटाको देउराली, पश्चिमा गेदीखोला, उत्तरमा चस्सेराको गैरा पर्दछ । भुरे टाकुरे राज्यकालमा शिरकोट ,फुर्सेथान , हरिपालमा चौकी अर्थात गौडा स्थापना गरि अर्कुल मौला राज्यका रुपमा अर्कुलको टापुमा भुरे राजाले राज्य गरेर बस्दथे ।

परापुर्वकालमा खामी श्रीस थरका मगरहरु पश्चिम सिंजागडमा राज गरी बस्दथे । उनैहरु घुम्दै फिर्दै भार्से आई पुगेका थिए । सोही वंशका सन्तान मध्ये पुर्णे बुढाका माईला छोरा शिद्धे बुढाले अर्कुल मौला राज्यका राजाको कालिन्दारका रुपमा काम गर्न थालेका थिए ।

उनि जनता प्रति ईमान्दार भएका कारण पछि त्यहाँको मुख्य मन्त्री सम्म भएका थिए । कालन्तरमा गुल्मेली राजाले त्यस मौलालाई कब्जामा लिए । त्यस पछि त्यस मौलाको सम्पुर्ण जिम्मा उनै शिद्धे बुढालाई छाडेर ती राजा हिडेका थिए । पछि त्यस मौला अन्तरगतको रुपाकोट र लिम्घालाई नयाँ राजालाई बक्सिस दिईएको थियो ।

त्यस पछि शिद्देृ बुढाले जुनियाँका छपाली ढकुरीलाई त्यस अर्कुल दरवारको हात हतियार र नहरा लगाउने बजाको सम्पुर्ण जिम्मा लगाएका थिए । त्यस पछि उनि परिवार सहित फोक्सीङ्गको रिमा गाउँमा बस्न गए । पछि भने दाजु भाई ईष्ट मित्रको आग्रहमा उनि पुनः भार्से मै आई बसेका थिए ।

त्यहाँ प्रशस्त तामा र फलामका खानीहरु थिए । मगरहरुले अअन्यत्र रहेको पुर्खेयौली घर छाडेर भार्से मै बसोबास गर्न थाले । उर्वरभुमी, सुन्दर पाखा पखेरी भएका कारण जोहाङ्गबासीले पनि भार्सेलाई पटक पटक कब्जा गर्ने गरेका थिए । चाहरे नामका खानी रक्षार्थ त्यहाँका खड्गजित कौशल गौडाका प्राईमिनिष्टरलाई निवेदन चढाएका थिए ।

विक्रम सम्वत १९२३ सालमा तत्कालि प्राईमिनिष्टर जंगबहादर राणाले धर्मगत उपाध्याले लगेको रुक्का दस्तखत ढाँटी लगेकोले मगरहरु कै सदर हुन्छ भनि कमाण्डर ईनचिफ रणदिप सिंहलाई लेखेको आदेश पत्र अनुसार जोहाङ्गवासी उपाध्याहरको हार र भार्सेका मगरहरुको जित अदालतबाट फैसाला भई सदाका लागि जोहाङ्ग र भार्सेलीहरुको झगडा पनि अन्त्य भएको थियो ।

यसरी खानी मजदुरका रुपमा भार्से आएका मगर समुदायहरु त्यहाँको जिम्मावाल , मुखिया देखि जिल्ला कै बढा हाकिम र देश कै मन्त्री सम्ममको ईतिहास रच्न सफल भएका छन । भार्सेमा बुढाथोकी , थापा मगर , गलामी, दर्लामी , राना , काउछा , श्रीस र पुन लगायतका थर भएका मगरहरु बसोबास गर्छन । साँफढुङ्गा , ठुलोपोखरा , सानो पोखरा, झुलेथुङ्ग दृविको मन्दिर , सेन पोखरा पनि अर्कुल दरवार जस्तै ऐतिहासिक थलो हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *