दुदिलाभाटी सिरबारेका कृषकहरु भुईस्याउको खेतीप्रति आकर्षित !

गुमानसिँह भण्डारी, गल्कोट २०७३ पुस २१ । दुदिलाभाटी ४ सिरबारेका कृषकहरुले भुईस्याउको खेति सुरु गरेका छन । केही वर्ष अघि सम्म भुईँस्याउको नाम नसुनेका उक्त गाउका किसानले अहिले व्यापकरुपमा भुँइ स्याउको खेती गरेका छन् ।

एउटै झाङ् मुनी १५ किलो सम्म फल्ने र विरुवा पनि सर्यौ उत्पादन गर्न सकिने भएपछि भुइस्याउ खेतीमा किसानको आकर्षण बढेको पाईएको छ ।
करीव १ हजार २ सय मिटर उचाइ भन्दा माथि भुइ स्याउ फस्टाउने भएपछि उक्त गाउका धेरैजसो कृषकहरुले खेति सुरु गरेका हुन । तल्लो भेगमा भने बोट मर्ने समस्या रहेको दुदिलाभाटी ४ का कृषक यम बहादुर भण्डारीले बताए । भुईस्याउ काँचै खान सकिने स्थानिय कृषकहरुको भनाई छ । गाउँघरमा पाईने पिँडालु जस्तो हुने भएकाले फलाउन सजिलो हुने भण्डारीको भनाई छ । भुइमुनी फल्ने यो फलबाट जुस, वाइन बनाउन सकिन्छ । यो फल खनिसकेर केहिदिन ओइलाउदा बैजनी रड.को हुने र त्यसपछि खाँदा स्वादिष्ट हुन्छ । यसलाई काँचै बोक्रा ताछेर खाने गरिन्छ ।

यो फलमा चीनिको मात्रा कम हुने भएकाले विशेषगरी मधुमेह रोगी र तौल कम गर्न चाहनेका लागि लाभदायक मानिएको छ । यसमा पाइने फुक्टोजले पाचन प्रकृया चुस्त बनाउन र रेशाले दिसामा कव्जियत हुन दिदैन । विशेषज्ञहरुका अनुसार यसले हाड तथा दाँत मजबुत बनाउँछ । भुइस्याउमा चिनी, प्रोटिन, पोटासियम, क्याल्सीयम जस्ता पदार्थको मिश्रण रहेको पाइन्छ । केहिवर्ष अगाडि देखि आएको भुइ स्याउ सूर्यमुखि प्रजातिको विरुवा हो । यसको फल एकै बोटमा धेरै लाग्ने र अदुवाको पाना जस्तो विरुवा धेरै उत्पादन हुने गदर्छ । यो वर्ष सिरबारेमा भुइ स्याउको विरुवा समेत धेरै लगाईएको छ ।
दुदिलाभाटीका कृषकहरुले किवी खेतीपनि गर्दै आएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.