नेपालको समृद्धिका लागि सहकारी जबरजस्त माध्यम : पूर्व अमेरिकी राजदूत डेलिसी

भर्जिनिया (अमेरिका) २०७५ मंसिर २१ । नेपालका लागि अमेरिकी पूर्व राजदूत स्कट डेलिसीले नेपालको दीगो विकासका लागि स्थानीय स्रोतहरुको अधिकतम उपयोगमा जोड दिएका छन् ।

इन्टरनेशनल डेभलपमेण्ट इन्स्टिच्यूट (आइडिआई) अमेरिकाको आयोजना तथा राष्ट्रिय सहकारी बैंक लिमिटेड नेपालको समन्वयमा अमेरिकाको भर्जिनियामा सञ्चालित सहकारी व्यवस्थापन नेतृत्व विकास तथा अध्ययन अवलोकन कार्यक्रमका अवसरमा सहजीकरण गर्दै उनले यस्तो बताएका हुन् ।

नेपाल स्रोतले भरिपूर्ण मुलुक हो, त्यहाँको स्रोत परिचालनका लागि सहकारी क्षेत्रलाई जवरजस्त रुपमा परिचालन गर्नु पर्नेमा जोड दिदै डेलिसीले स्रोतको पहिचान गरी त्यसको सदुपयोग गर्न सके नेपाल छिटै समृद्ध बन्ने धारणा व्यक्त गरे ।

आफु नेपालको राजदूत भएर बस्दा नेपालको बारेमा धेरै जानकारी पाएको स्मरण गर्दै उनले विगतमा राजनीतिक अस्थिरताका कारण पनि विकासमा अवरोध भएको बताए । आफ्नो कार्यकालमा ४ जना प्रधानमन्त्री फेरिएको चर्चा गर्दै उनले राजनीतिक अस्थिरताको अन्त्य भएसंगै विकासले गति लिनु पर्नेमा उनको जोड थियो ।

नेपालको समृद्धिका लागि महिला र युवाहरुलाई अगाडि सार्न आवश्यक रहेको बताउदै जबसम्म युवा जनशक्तिलाई देश निर्माणको अभियानमा लगाइदैन तवसम्म विकासले गति लिन नसक्ने उनले बताए ।

कार्यक्रममा सहकारी अभियान र सुशासन, विकासोन्मुख देशमा सहकारीको भूमिका, कृषक देखि कृषक कार्यक्रम, अमेरिकाको सहकारी अभियान, विद्युत सहकारीमार्फत देश विकासमा पुगेको योगदान लगायतका विषयमा जानकारी गराइएको थियो ।

आइडीआइको संयोजनमा नेपालबाट गएको टोलीले विश्व बैंक, विश्व ऋण परिषद, अमेरिकाको राष्ट्रिय सहकारी बैंक, सहकारीमार्फत सञ्चालित कमन कोप बजार लगायतको अनुगमन गरेको छ ।

आइडिआई अमेरिका र राष्ट्रिय सहकारी बैंक बीच सहकारी व्यवसायलाई प्रभावकारी बनाउनका लागि अनुभव आदान प्रदान, सहकारी बैकिङ प्रणालीमा सुधार, एक अर्काे देशमा भएका सहकारीका असल अभ्यासहरु र प्रविधिहरुको अनुशरण लगायतका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ ।

सहकारी क्षेत्रमा क्रियाशील अगुवाहरुलाई अमेरिकाको सहकारी अभियानले गरेका असल अभ्यास र प्रविधिहरुका बारेमा जानकारी लिई नेपाल फर्केर त्यसको विस्तार गर्ने उदेश्यले बैंंकसंग सहकार्य गरिएको आइडिआई अमेरिकाका कार्यकारी प्रमुख सुमन तिमिल्सिनाले बताए ।

बैंकका सञ्चालक रामबहादुर जिसीको नेतृत्वमा देशभरका विभिन्न सहकारी संघ संस्थाका १६ जना सहकारीकर्मीहरु उक्त कार्यक्रममा सहभागी भएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *