प्रशंगवस : बडीगाड महोत्सव तथा पौँदी न्वागी मेला, बडीगाडले के पायो ?

बडीगाड २०७५ मंसिर २० । हालै सम्पन्न प्रथम बडीगाड महोत्सव तथा पौँदी न्वागी मेला २०७५ लाई लिएर आयोजकहरु सन्तुष्ट छन् । सवालाख भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेको र ३ करोड भन्दा बढीको आर्थिक कारोबार भएकोमा आयोजक मख्ख छन् ।

महोत्सवमा आयोजना गरिएको पुरुष/महिला भलिबल, कराँते, दोहोगीत, एकल नृत्य आदि प्रतियोगिताहरुमा पुरुष महिला भलिबल, कराँते, दोहोरी गीत लगायत प्रतियोगिताहरुमा सर्वाधिक पुरस्कार राशी राखिएका प्रतियोगिता भने बडीगाड (बागलुङ जिल्ला) बाहिरकै प्रतियोगीहरुले हात पारे । नौमती बाजा लगायत केहि थोरै प्रतियोगितामा भने स्थानीयको बर्चस्व रह्यो । एक गाउँपालिकालाई लक्षित गरी आयोजित महोत्सवमा राष्ट्रियस्तरका प्रतियोगित एवं अन्य कार्यक्रमहरुको आयोजना गरिनु महोत्सवको सकारात्मक पाटो मान्नु पर्छ ।

महोत्सवको अधिकांश समय चर्चित लोक गायक गायिकाहरुको सांगीतिक प्रस्तुतीमा खर्चिएकोले महोत्सव स्वाभाविकरुपमा संगीतमय बन्यो । दर्शकहरुको उपस्थिति र आकर्षण पनि सांगितिक प्रस्तुति तिरै बढी थियो भन्न हिच्किचाई रहनु पर्दैन ।

महोत्सवको उद्घाटनका अवसरमा बडीगाड गाउपालिकाका कुमाल समुदायमा नाँचिने लोपोन्मुख हेम्फै नाँच पदर्शन गरियो । समाजमा बिरलै नाँचिने कुमाल जातिको लोपोन्मुख हेम्फै नाँचलाई संरक्षण (जगेर्ना) एवं सम्वद्र्धन गर्नका लागि महोत्सवमा यस नृत्यलाई प्रदर्शन गरिएको हो । महोत्सव उद्घाटनका अवसरमा यस नाँच देखाईएको थियो । साथै बडीगाड भित्रका विभिन्न वडाहरुबाट महोत्सवमा सोरठी, घाटु, लाखे आदि नृत्यहरु पनि समावेश गरिएका थिए ।

बागलुङ सदरमुकाम लगायत जिल्लाका विभिन्न भागहरुमा आयोजना गरिएका मेला महोत्सवहरुमा सोरठी, घाटु लगायत अन्य साँस्कृतिक कलाहरु प्रदर्शन गरिदै आएको भएपनि कुमाल जातिको पौराणिक हेम्फै नाँच भने महोत्सवहरुमा यस अघी प्रदर्शन गरिएको देखिएको थिएन ।

यस्ता लोपोन्मुख साँस्कृतिक सम्पदाहरुलाई सामान्यतया उदघाटन समारोहमा झाँकीको रुपमा प्रदर्शन गरेको पाईन्छ । दर्शकहरुलाई नृत्यको मर्म र अर्थ बुझ्ने अवसर मिल्दैन न आयोजकहरुले नै त्यसको यथेष्ट जानकारी दर्शकहरुलाई दिन सम्भव हुन्छ ।

विभिन्न जातजातिका लोपोन्मुख साँस्कृतिक सम्पदालाई केवल झाँकीको रुपमा घुमाउने मात्र नगरी कुमाल जातिको साँस्कृतिक धरोहरमा रहेको हेम्फै जस्ता लोपोन्मुख नाँचहरुलाई आयोजकहरुले स्टेज दिएको भने देखिन्न । स्टेज त पेड कलाकारहरुका लागी मात्रै हो भन्ने मानसिकता महोत्सवका आयोजकहरुको भैदिनाले यस्ता ऐतिहासिक, पौराणिक संस्कृति झल्किने लोपोन्मुख नाँचहरुले ईज्जत र सम्मान पाउन (दिन) सकेको अवस्था छैन । दिनमा २०/२५ मिनेट स्टेजमा उक्लिएर घाटु, सोरठी हेम्फै जस्ता हाम्रा साँस्कृतिक धरोहरका रुपमा रहेका नाँच प्रदर्शन गर्ने अवसर (समय) दिएको भए राम्रै त हुँदो हो । हाम्रा गाउँघरे कलाकारले पनि तालीको गड्गडाहट् पाउँदा हुन् । भन्न त लोपोन्मुख, ऐतिहासिक, धार्मिक, साँस्कृतिक नजाने के के संज्ञा दिन्छौँ तर बास्तवमा मुखले भट्टाए जस्तो गाउँघरका लोपोन्मुख साँस्कृतिक धरोहरका रुपमा रहेका हाम्रा रैथाने संस्कृतिहरुलाई यथेष्ट ईज्जत दिदैँनौ (दिन चाहन्नौँ) यो हाम्रो (आयोजकको) मानसिकता बनेको छ ।

महोत्सव उद्घाटनका लागि पाल्नु भएका प्रमुख अतिथी संघीय मन्त्रीज्यूबाट हेम्फै नाँच दृष्टिगोचर भयो ? हेम्फै नाँच सम्वन्धमा मन्त्रीज्यूलाई जानकारी दिने काम को कसबाट भयो ? कुमाल जातिको अतिलोपोन्मुख र संरक्षणको आवश्यकता रहेको भनी प्रचार गरिएको हेम्फै नाँच बारेमा पर्यटन मन्त्रीलाई ब्रिफिङ भयो कि नाईँ ? या मह चखाएरै न्वागी खुवाएरै गुलियोमा भुलाईयो ?

या समापन कार्यक्रमका प्रमुख अतिथी प्रदेश मन्त्रीलाई हाम्रा गाउँ घरका साँस्कृतिक धरोहर के कति नजर गराउन सक्यौँ ? हाम्रा यी लोपोन्मुख धरोहरहरुको संरक्षणका लागि प्रदेश मन्त्रीज्यूले केहि आश्वासन दिनु भएको छ कि ? आयोजकले भनिदिए हाम्रा कानपनि पवित्र हुँदाहुन ? कि किवी चखाएरे, काम्लाको कोट पहिराई दिएर बिदाई ग-यौँ ।

महोत्सवका प्रमुख अतिथीज्यूहरुबाट चमेरे गुफा अवलोकन भयो ? प्रशिद्ध थानापति मन्दिरमा पूजार्चना भयो कि यसको प्रमुख अतिथी व्दयलाई जानकारी नै दिईएन ? तुरतुरे तालको प्रदेश मन्त्रीले अवलोकन गरेको दृश्य त समाचार माध्यममा आयो । प्रमुख अतिथीहरुकै स्वागत सत्कारमै आयोजकहरु बढी झुम्मिएको देखियो भन्ने आम दर्शकहरुको भनाईलाई नाजायज भन्न मिल्ला ?

महोत्सव अवलोकन गर्न मानव सागर ओर्लियो, हामी भन्छौँ, लेख्छौँ प्रचार प्रसार गर्छौ तर के यो मानव सागर घाटु, सोरठी वा हेम्फै नाँच हेर्न ओर्लिएको हो ? साँच्ची भन्ने हो भनेत दर्शकहरुले यी हाम्रा साँस्कृतिक धरोहरको बारेमा जान्ने हेर्ने सुन्ने अवसर नै पाउँदैनन् किन कि यो मौका हामीले नै दिदैनौँ । चिटिक्क परेकाहरुले चमाक चुमुक गरेर मन्चमा उफ्रिएको नाँच गान बजानलाई नै हामीले दर्शक माझ पस्किएका हुन्छौँ, लाखौ लाख खर्चिन्छौँ (दक्षिणा दिन्छौँ), बिचरा हाम्रै गाउँघरका लोपोन्मुख भनाउँदा यी साँस्कृतिक धरोहरको संरक्षण र सम्वर्धनमा कति खर्च ग-यौँ ? भीड जम्मा गर्नु मात्र महोत्सव ठान्ने हाम्रो मानसिकता सही मान्ने हो भने मदारी ल्याएर बाँदर नचाए भै हाल्यो नि ? किन हेम्फै, घाटु र सोरठी नाँचको दुहाई दिन प-यो ?

बडीगाडको प्रशिद्ध धार्मिक स्थल थानापति मन्दिरमा कति श्रद्धालुहरु दर्शन गर्न पुगे, चर्चित पर्यकटीय स्थल भनिएको चमेर गुफा अवलेकन गर्न कति आन्तरिक पर्यटक पुगे वा घुमाईयो ? त्यस्को आँकडा आयोजक संग होला नि ? गायक गायिका, नर्तक नर्तकीहरु खरीद गरेर भीड जम्मा गर्दैमा महोत्सव सफल भयो भनेर चित्त बुझाउन हुन्छ र ?

बडीगाड खोलाको आडैमा आयोजित महोत्सवमा बडीगाड खोलाका असला माछाको ब्यन्जनले महोत्सव अवलोकन गर्न पुगेका हजारौँ दर्शकहरुले पेट त भरेकै होलान, एक दुई रिकापीको कुरा के भयो र, बरु, महोत्सवमा सरीक हुने सौभाग्य नभएकाहरुले बडीगाडको असला माछाको परिबार स्मरण गर्दै रणसिंँहको भीरमौरीको मह संझेर रसाएको जिब्रो चुसेर चित्त बुझाएका होलान् भन्नु प-यो ।

महोत्सव के का लागी र कस्का लागी भन्ने महत्वपूर्ण पाटो हो । महोत्सवको सफलता त्यस्को उपलव्धीले बताउँछ । बढी भीड जम्मा गर्नु मात्र महोत्सवको सफलता मान्न सकिदैन । महोत्सव कुन उद्देश्यले आयोजना गरिएको हो ? बडीगाडले के लिन सक्यो र के दिन सक्यो भन्ने महत्वपूर्ण विषय हो । कलाकारहरुको सांगीतिक प्रस्तुति हेर्न आएका दर्शकहरुको संख्यालाई बढाई चढाई पचार गरेर महोत्सवको सफलता आँक्नु हुँदैन भन्ने आयोजकहरुलाई सज्ञान छैन भन्नु गलत हुनेछ ।

महोत्सवमा एक करोडको खर्चमा तीन करोडको कारोबार भयो भनेर उपलव्धी गिनाउनु हास्यास्पद हुन्छ । चर्चित कलाकारहरुको सांगीतिक प्रस्तुति नै महोत्वसको उपलव्धी ( जस्तो बडीगाड महोत्सवमा देखियो) मान्ने हो भने सांगीतिक महोत्सव नामाकरण गरे भैहाल्यो नि, बडीगाड महोत्सव तथा पौँदेलीको न्वागी मेला भनिरहनु किन पर्छ र ? भन्ने धेरेको टिप्पणी बाहिर आएको छ । कहाँ के कति आर्थिक कारोबार भयो भन्ने कापी कलम समातेर लेखाजोखा त कसैले राखेकै छैन । हँचुवाकै भरमा डाले हान्ने त नेपालीको बानी नै छ ।

महोत्सव अवधिमा चर्चित कलाकारहरु प्रति आयोजकले दिएको प्राथमिकता (महत्व)लाई नियालेका स्थानीयले कलाकारहरु को, कस्लाई के कति दक्षिणा दिईएको हो त्यस्को बास्तबिक हरहिसाव बारे जिज्ञासा व्यक्तगरिहेका छन् । तर बडीगाड महोत्सव तथा पौँदी न्वागी मेला आयोजक समितिले हरहिसाव सार्वजनिक गर्ने कुरामा शंका गर्नुृ हतार हुने छ । आयोजक समितिले एक एक पाईको आय व्यय सार्वजनिक गर्छ भन्ने कुरामा हामी सबै ढुक्क हुनु जरुरी छ । अस्तु,

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *