शिक्षाको गुणस्तर बृद्धिका लागि प्रधानाध्यापकहरुको सक्रियता आवश्यक-नगरप्रमुख पौडेल

बागलुङ २०७५ मंसिर १९ । बागलुङ नगरपालिकाले नगरपालिकाले शिक्षाको गुणस्तर बृद्धिका लागि प्रधानाध्यापकहरुसँग अन्र्तक्रिया गरेको छ । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बृद्धि गर्नका लागि प्रधानाध्यापकहरुको भूमिका महत्वपूर्ण हुने भएकाले विद्यालयका प्रधानाध्यापकहरुका बीचमा अन्तरक्रिया गरिएको नगर शिक्षा समितिले जनाएको छ ।

बागलुङ नगरपालिका अन्र्तगतको नगर शिक्षा समितिको आयोजनामा सम्पन्न कार्यक्रममा नगरका ८७ सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।

सोही अवसरमा नगर शिक्षा समितिका नगर शिक्षा अधिकारी ठाकुर वि तिवारीले संघीयतामा शिक्षाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै अधिकारी तिवारीले संघीयताको कार्यान्वयनसँगै शिक्षा क्षेत्रमा केही अन्यौलता सिर्जना भएपनि अहिले त्यो अन्यौलताको अन्त्य भएको बताए ।

अन्र्तक्रिया कार्यक्रममा नगर शिक्षा कार्यालयका स्रोत व्यक्ति ढकबहादुर पुनले न्यूनतम विद्यालय सुरक्षा तथा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मीले विद्यालय र प्रहरीबीचको सम्बन्धका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कदै गइरहेको जनगुनासोहरु बढ्न थालेको भन्दै शिक्षाको गुणस्तर बृद्धिका लागि प्रधानाध्यापकहरुको सक्रियता आवश्यक रहेको बताए । राज्यले शिक्षा क्षेत्रमा ठूलो लगानी गरेपनि शैक्षिक गुणस्तरमा बृद्धि हुन नसकेको भन्दै नगरप्रमुख पौडेलले शिक्षा क्षेत्रको गुणस्तर बृद्धिका लागि देखिनेगरी नगरपालिकाले लगानी गर्ने बताए ।

बागलुङ नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख गणेश थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामुदायिक विद्यालयमा घट्दो विद्यार्थी संख्यालाई मध्यनजर गर्दै विद्यालय टिकाउँने अभियान सञ्चालन गर्न आवश्यक रहेको प्रअहरुले धारणा राखेका थिए । प्रधानाध्यापकहरुबीचको अन्तरक्रिया कार्यक्रममा विद्यार्थी संख्या न्यून रहेका विद्यालय गाभ्ने विषयमा अध्ययन गरिरहेकाले कि विद्यार्थी संख्या बढाउँने नभए एक आपसमा गाभिनुपर्ने विषयमा समेत छलफल भएको स्रोतव्यक्ति ढकबहादुर पुनले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *