बानपाको पहिलो सार्वजनिक सुनुवाई वडा नं ५ मा : कर्मचारीको कमी कमजोरीले जनताले दु:ख पाए – पौडेल

बागलुङ २०७५ मंसिर १९ । बागलुङ नगरपालिकाको पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम वडा नं ५ मालिकाबाट सुरु गरिएको छ । वडाले गरेका काममा बारेमा जवाफदेहिता र पारदर्शिता कायम गर्ने भन्दै बागलुङ नगरपालिका ५ मालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।

मंगलवार वडा कार्यालयमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले सडक निर्माण र स्तरउन्नतीमा भएका कामको बिषयमा चासो राखेका थिए । सर्वसाधारणले सडक बनाउँदा मापदण्ड नअपनाईएको, सडकका कारण पुराना गोरेटा बाटाहरु मासिएको र आवात जावतमा समस्या भएको लगायतका समस्या उठाए । वडा कार्यालयबाट प्रदान हुने सेवा सुबिधा भन्दा बिकास निर्माणका काममा भएका ढिलाई नगरपालिकाले बनाएका कानुन, नगरपालिकाबाट प्राप्त हुने शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रका सुबिधाको बिषयमा समेत वडावासी सर्वसाधारणको जिज्ञासा थियो ।

सार्वजनिक सुनुवाईमा मालिकामा निर्माण भैरहेका सडकहरुको मापदण्ड तोकेर आवश्यक सबै जमिन ट्रयाक खोल्ने समयमानै कटान गर्नुपर्ने सर्वसाधारणको माग थियो । स्थास्थ्य चौकी भवन निर्माणमा भैरहेको ढिलाई, मालिका माध्यमिक विद्यालयको भवन निर्माणमा भैरहेको ढिलाई, चुनावका बेला प्रतिबद्धता अनुसार नगरबसको सञ्चालन नभएको पनि उनिहरुको गुनासो थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका जिज्ञासा एवं प्रश्नहरुको जवाफमा नगरप्रमुख जनकराज पौडेलले नगरपालिका तथा वडा कार्यालयबाट सम्पादन भैरहेका कामलाई पारदर्शी, व्यवस्थित र जनोपयोगी बनाईने बताए । केन्द्र सरकार, प्रदेश सरकार र स्थानिय सरकारको बिचमा समन्वय हुन नसक्दा कर्मचारी परिचालनमा समस्या भएको भन्दै पौडेलले कर्मचारीका केही कमी कमजोरीका कारण सर्वसाधारणले दुख भोग्नु परेको बताए ।

मालिकाको बिकासका लागि सबै क्षेत्र र वर्गसँग मिलेर कामहरु अघि बढाईएको भन्दै वडा अध्यक्ष शिवप्रसाद सापकोटाले आगामी दिनमा समेत सार्वजनिक सुनुवाईमा उठेका सवालहरुमा जिम्मेबार भएर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्दै निरन्तर खबरदारी र सल्लाह सुझावको लागि आग्रह गरेका थिए ।

कार्यक्रममा उठेका सवालहरुको मालिका स्वास्थ्य चौकीका प्रमुख महेन्द्रप्रसाद शर्मा, बागलुङ नगरपालिकाका इन्जिनियर मनोज शर्मा, प्रबिधिक टेकबहादुर रोका र वडा सचिव शिव थापाले जवाफ दिएका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस मालिकाका सभापति फुलप्रसाद सापकोटा, गैह्रसरकारी संस्था महासंघ जिल्ला शाखा बागलुङका अध्यक्ष मुक्तिराम सापकोटा, स्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी घनश्याम सापकोटा, समाजसेवी कृष्णराज शर्मा, हरीप्रसाद शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा उठेका प्रश्न र जवाफको संक्षेपिकरण नगर कार्यपालिका सदस्य कालिका सापकोटा, स्वागत वडा सचिव शिव थापा र सञ्चालन तारानाथ आचार्यले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *