ढोरपाटन नगरपालिका लगायत पश्चिम क्षेत्रको विकासका लागी नगरप्रमुख नेपालीको योगदानको चौतर्फी प्रशंसा !

जेष्ठ नागरिकका लागी बुर्तिवाङ देखी जिल्ला सदरमुकाम र प्रदेश राजधानी सम्म नि:शुल्क बस सेवा !

सुमन सुनार, बुर्तिबाङ २०७५ मंसीर १७ । “म जनप्रतिनिधी बनेकै जनताको सेवाको लागि हो, जनताले चुनेर पठाएपछि मैले राज्यबाट प्राप्त हुने सम्पुर्ण सेवासुविधा जनताकै हित र विकासका लागि खर्च गर्ने गरेको छु । जनता मेरो पहिलो प्राथमिकता हुन, मेरो कार्यकाल सबै जनताको भलाईमा नै बिताउनेछु, जनतालाई प्रत्यक्ष राहत हुने खालका काम गर्नेछु । यो भनाई ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीको हो ।

जनताको हित र नगरको विकासमा कटिवद्ध रहेर अगाडी बढिरहेका छन्, नगर प्रमुख नेपाली । नगर प्रमुख नेपालीले राज्यबाट प्राप्त हुने सेवा सुविधा आफुले नलिने मात्रै होईन, बागलुङ पश्चिमका स्थानिय तहहरुमा आफ्नै व्यक्तिगत लगानीमा विद्यालयहरुमा शिक्षकको व्यवस्था, अक्षय कोष स्थापना, बाढी, पहिरो, आग्नि पीडित, गरिव, दलित, विपन्न परिवार, विभिन्न कारण विपत्तीमा परेकाहरुलाई आर्थिक सहयोग, सामाजिक क्लव संघसंस्थाहरुको भवन निर्माण लगायतका सामाजिक कार्यमा महत्वपूर्ण योगदान पु¥याएर प्रशंसाको पात्र बनेका छन् ।

अस्ति १५ गते मात्रै बुर्तिवाङ स्थित निसीभुजी जनता क्याम्पसलाई स्मार्ट क्याम्पसको रुपमा विकास गर्न आयोजित शैक्षिक एवं धार्मिक महोत्सवमा आफ्नो र धर्मपत्नी छेला नेपालीको नाममा रु २१ लाख ५ हजारको अक्षय कोष स्थापना गर्ने घोषणा गरेर दानवीरको रुपमा उदाए ।

ग्रामिण क्षेत्रका जनताको पहुचसंग जोडिएको उक्त क्याम्पसलाई सुविधा सम्पन्न क्याम्पसको रुपमा सञ्चालन गर्न तथा बुर्तिबाङलाई शैक्षिक हवको रुपमा विकास गर्न र यस क्षेत्रका नागरिकलाई बुर्तिबाङमै गुणस्तारिय, उच्च शिक्षा प्रदान गर्नका लागि भन्दै यहि मंसिर १५ गते देखि सञ्चालन गरिएको ढोरपाटन शैक्षिक तथा धार्मिक महोत्सव २०७५ को उद्घाटन गर्दै उजले अक्षय कोष स्थापना गर्ने घोषणा गरेका हुन् ।

यस्तै गत भाद्र २९ गते शुक्रबार राति ढोरपाटन नगरपालिका र बडीगाड गाउँपालिकाको सिमानामा गएको तुरतुरे पहिरोका कारण आफ्नो घर डुवानमा परि घरवास विहिन बनेका कुमाल समुदायका दुई घरपरिवारलाई आफ्नै लगानीमा घर बनाईदिने र गोठ डुवानमा परेका परिवारलाई जस्ता पाता सहयोग गर्ने घोषणा गरेका नगर प्रमुख नेपालीले यहि मंसिर ९ गते, आईतबारका दिन विहानीपख ढोरपाटन नगरपालिका–९ ढोरपाटन नवी गाँउमा भीषण आगलागीबाट पीडित बनेका ४८ घर परिवारलाई घर निर्माणका लागि नगरपालिकाबाट प्रति परिवार १÷१ लाखका दरले ४८ लाख रुपैयाँ उपलब्ध गराउने र आफुले व्यक्तिगत रुपमा घर छाउनका लागि जस्तापाता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् भने गण्डकी प्रदेशका मन्त्री हिराबहादुर चुमानसंग नवीगाउँका पीडित परिवारको .व्यवस्थापन र नमुना बस्ती निर्माण बारे गम्भीर छलफल चलाएका पनि छन् ।

नगरप्रमुख नेपालीले नगरपालिका सहित बागलुङ पश्चिमका अरु स्थानिय तहको शिक्षा, स्वास्थ्य, खेलकुद तथा सामाजिक विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएका छन् । ढोरपाटन नगरपालिका सहित बडीगाड, निसीखोला र तमानखोला गाउँपालिकाका विद्यालयहरुमा व्यक्तिगत रुपमा आफुले तलव, भत्ता दिने गरी करिव ५० जना भन्दा बढी शिक्षकको व्यवस्था, अक्षय कोषको स्थापना, कम्प्युटर सहयोग, क्लव तथा आमा समुह लगायतका सामाजिक संघ संस्थाहरुको भवन निर्माणमा आर्थिक सहयोग गर्दै आएका छन् ।

अहिले सम्म नगर स्तरमा ४ सय ६० घरपरिवारलाई आफ्नै व्यक्तिगत लगानीमा घर छाउनका निम्ती जस्तापाता उपलब्ध गराएका छन् । खरको छानो भएका, बाढी तथा पहिरोका कारण घरवास गुमाएका गरिव, दलित तथा विपन्न परिवारलाई जस्तापाता उपलब्ध गराएको नगर प्रमुख नेपालीको भनाई छ ।

नगर प्रमुख नेपालीले हालै मात्र प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङलाई आफ्नै व्यक्तिगत लगानीमा एम्बुलेन्स खरिद गरिदिने घोषणा समेत गरेका छन् । केहि दिनमा नै एम्बुलेन्स स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङका सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं. १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारीले जानकारी दिए ।

त्यसैगरी नगर प्रमुख नेपालीले यहाँका बृद्ध, बृद्धाहरुले अव देखी ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ देखि जिल्ला सदरमुकाम बागलुङ र प्रदेश राजधानी पोखरा सम्म सवारी साधनमा निःशुल्क आवत जावत गर्ने व्यवस्था मिलाउने जानकारी दिए । बृद्ध, बृद्धाहरुको पहिचानका लागि सबै वडाहरुले उनिहरुलाई परिचय पत्रको व्यवस्था गरिदिने र उक्त परिचयपत्रको आधारमा उनिहरुले निःशुल्क आवतजावत गर्न सक्ने उनको भनाई छ । आवत जावत गरे वापतको सम्पुर्ण खर्च आफुले बहोर्ने बताउँदै नगरप्रमुख नेपालीले त्यसको व्यवस्था पनि छिटै हुने विश्वास दिलाए ।

चाहे गल्कोट मल्मको खेलकुद क्लब होस, चाहे ढोरपाटन ९ की एकल महिलाको चुहुने घरको छाना जस्तापाताले छाईदिने प्रशंग होस्, चाहे देवीस्थानमा लाग्ने होरेमेला होस, अथवा दर्लिङको गंगरे मेला किन नहोस, बडीगाडको मालारानीको विकासको लागि होस, चाहे विभिन्न ठाउँहरुमा आयोजना गरिने महोत्सवहरुलाई सहयोग होस जताततै नगरप्रमुख नेपालीका सहयोग पुगेको छ । यी त केहि उदाहरण मात्र हुन् ।

बागलुङ पश्चिमका आर्थिक रुपमा गरिव, विपन्न दलित परिवारका नागरिकहरुलाई आर्थिक सहयोग गर्दै आईरहेका नगर प्रमुख नेपालीको चारैतिर प्रशंसा भैरहेको छ । आफ्नो नगरलाई सडक सञ्जाल, शिक्षा, स्वास्थ्य र खानेपानीको पहुँच पु¥याई नमुना नगरपालिका बनाउने उद्देश्य रहेको उनले बताए । अघिल्लो आर्थिक वर्ष नियम कानूनका अभाव र नयाँ संरचना भएकाले अलमलमै बितेको र जनताले अपेक्षा गरे अनुसार काम हुन नसकेपनि अव भने जनताले महसूस गर्ने गरी विकास निर्माणका काम हुने नगर प्रमुख नेपालीले ईबागलुङलाई बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment

  1. krishna hari maharjan

    ढोर पाटन नगर प्रमुख को अनुसरण सबै नगर पालिका/गाउँ पालिका प्रमुखहरु ले गर्ने हो भने आम जनता ले सुख सुबिधा साथ जीवन यापन गर्न पाउन धेरै बर्ष कुर्नु पर्दैन थियो होला /

Leave a Reply

Your email address will not be published. Required fields are marked *