शान्ति मा वि खुंखानीलाई समाजसेवी हस्तिना छन्त्याालव्दारा नगद १ लाख भन्दा बढी आर्थिक सहयोग !

सुमन सुनार,बुर्तिबाङ२०७५ मंसिर १७ । तमानखोला गाउँपालिका–५ खुंखानी स्थित शान्ति माध्यमिक विद्यालयलाई एक महिला समाजसेवीले १ लाख भन्दा बढि आर्थिक सहयोग गरेकी छन् ।

तमानखोला गाउँपालिका–१ बोंगादोभान निवासी हस्तीमा छन्त्यालले आफ्ना स्वर्गिय श्रीमान भुपु प्रधानपन्च तथा ब्रिटिस आर्मी थमन बहादुर छन्त्यालको स्मृतिमा नगद रु १ लाख २५ हजार १ सय ६५ आर्थिक सहयोग प्रदान गरेको विद्यालयका शिक्षक भुमिराज सेन्चुरीले ईबागलुङलाई बताए ।

विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि भन्दै छन्त्यालले नगद सहित विद्यालयलाई एउटा टेवुल र दुई ओटा कुर्सी समेत सहयोग गरेको शिक्षक सेन्चुरीले जानकारी दिए । शिक्षक सेन्चुरीका अनुसार आईतबार विद्यालयद्धारा आयोजित चन्दादाता सम्मान तथा अभिनन्दन कार्यक्रमको अवसर पारेर छन्त्यालले सहयोग रकम विद्यालयलाई हस्तान्तरण गरेकी हुन् । यस अघि पनि आर्थिक, भौतिक तथा नैतिक रुपमा सहयोग गर्दै आएकी छन्त्यालले विद्यालयलाई थप सहयोग गरेको बताए ।

सो रकम विद्यालयलाई हस्तान्तरण गर्दै महिला समाजसेवी छन्त्यालले विद्यालयहरु आर्थिक रुपले आत्मनिर्भर भए मात्र गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने भन्दै विद्यालयको आर्थिक विकासमा आफुले पनि सहयोग गर्ने प्रयास गरेको उल्लेख गरिन् ।

उक्त सम्मान तथा अभिनन्दन कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी छन्त्यालले विद्यालयको शैक्षिक विकासमा जोड दिदै आफुले सहयोग गरेको रकम सहि ठाउँमा लगानी गर्न विद्यालयलाई आग्रह गरिन् ।

त्यसैगरी सोही अवसरमा बोल्दै विद्यालयका प्रधानध्यापक सत्यनारायण सिंहले महिला समाजसेवी छन्त्याल संगै उहाँका श्रीमान थमन बहादुर छन्त्यालले पनि विद्यालयको शैक्षिक विकासमा महत्वपुर्ण योगदान पु¥याएको बताए । स्वर्गिय छन्त्यालले व्रिटिस वेल फेअरसंग अपिल गरेर विद्यालयका लागि धेरै योजनाहरु उपलब्ध गराएको र आफुले व्यक्तिगत रुपमा पनि धेरै सहयोग गरेको स्मरण गर्दै छन्त्याल परिवारले गरेको सहयोगको विद्यालयले सधै उच्च कदर गर्ने बताए । कार्यक्रममा शिक्षक हिरा बहादुर छन्त्यालले पनि बोलेका थिए ।

कार्यक्रमकै अवसरमा विद्यालयले मायाँको चिनो प्रदान गर्दै फुल, माला र अविर लगाएर सम्मान समेत गरेको थियो ।

विद्यालय व्यवस्थपन समितिका अध्यक्ष हेमन्त परियारको अध्यक्षता रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका सदस्यहरु, स्थानिय समाजसेवी, बुद्धिजिवि, विद्यालयका शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो । शिक्षक खगेन्द्रमान पुनको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शिक्षक खुमलाल पुनले गरेका थिए ।

वि.स. २०२१ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल कक्षा १ देखि १० सम्मका करिव ३ सय विद्यार्थी अध्यायनरत रहेको विद्यालयले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *