साताको तस्वीर : सौन्दर्यको स्वर्णिम भूमि ढोरपाटन !

बागलुङ २०७५ मंसिर १७ । जति पियपनि प्यास नबुझ्ने, जति खायपनि नअघाईने, जति हेरेपनि आँखा नपाट्टिने, जति घुमेपनि धित नमर्ने, कुनै ठाउँ छ भने त्यो हो ढोरपाटन । यस्मा शंका गरिरहनु पर्दैन । किनकि, यो प्राकृतिक सौन्दर्यको स्वर्णिम भूमि हो । यति मिठो, यति रसिलो, यति गुलियो, यति तिख्खर यति स्वादिलो यति मनमोहक, यति चित्ताकर्षक, यति प्राकृतिक विविधताले भरिपूर्ण ढोरपाटन (भुजेल ढोर) कहाँ पाउनु ? जहाँका डाँडा काँडा कन्दारहरुमा कस्तुरी मृग नाउर, झारल, घोरल, बँदेल राते (मृग), चितुवा, चरीबाघ आदि बन्यजन्तुहरु बुर्कुसी मार्छन, जहाँका बुकीहरुमा स्थानीयका बस्तुभाउ (गाईभैँसी भेँडा बाख्राहरु) चर्छन्, जहाँ बिभिन्न प्रजातिका बनस्पतिको सुगन्धले ढोर उपत्यका मगमगाई रहेको हुन्छ, जहाँ डाँफे, मुनाल, कालिज, तीत्रा, ढुकुर आदि थरीथरीका चराचुरुंगीहरु गाईरहेका हुन्छन्, नाँची रहेका हुन्छन्, रमाई रहेका हुन्छन्, जहाँ गन्हाउने ताल र जाल्पा तालको सौन्दर्यले सबैलाई लोभ्याई रहेको हुन्छ, यति पवित्र सुन्दर भूमिले निश्चयपनि स्वर्गको अनभूति दिन्छ ।

२०७५ साल जेठ ८ गते ढोरपाटन पुगेका गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले ढोरपाटनको मनोहरतालाई निहारेपछी भनेका थिए, ढोरपाटन नआई मरेको भए मेरो सास अधुरै रहने रहेछ …। मुख्यमन्त्री मात्र होईन प्रधानमन्त्रीले पनि ढोरपाटनलाई प्रत्यक्ष देखेपछी यसको सौन्दर्यको बखान नगरी सुखै छैन । ढोरपाटनको सौन्दर्यलाई कसैले लिपपोत गर्नु पर्ने खाँचो छैन । जो आउँछ ढोरपाटन, उसको मनले भन्छ क्या भूस्वर्ग आईयो … । यो सत्य हो, यो यथार्थ हो, त्यसैले त ढोरपाटनको बखान जति गरेपनि मन थाक्दैन । घरीघरी गैरहुँ, हेरिरहुँ, घुमिरहुँ भैरहन्छ ।

देउराली (ढोरको प्रवेशव्दार)बाट देखिने (ठुलो तस्बीर)ढोर उपत्यकाको सौन्दर्यले त हामी यति लोभिएका छौँ, यति मन्त्र मुग्ध छौँ, यति बिघ्न बखान गरिहेका हुन्छौ, ढोर उपत्यकाबाट केहि माथी उक्लिएर त्यहाँको दृश्यावलोन गर्ने हो भने हामी कति अल्लाहदित हौँला ? सहकर्मी पत्रकार राम सुवेदीले २०७५ साउन महिनामा ढोरपाटन माथीको ढोर घुमेर त्यहाँको दृश्यलाई क्यामेरामा कैद गरेका छन् ।

हेरौँ, ढोरपाटन माथीको ढोर ।

त्यस्तै गत वर्ष २०७४ असार महिनामा धौलागिरी बहुमुखी क्याम्पसका शिक्षक विद्यार्थीहरुको टोली ढोरपाटनको जैविक विविधताको अध्ययनका लागी त्यहाँ पुगेको थियो । टोलीको शैक्षिक भ्रमणको अनुभूति कस्तो रह्यो त ?

हेरौँ, गन्तव्य ढोरपाटन ।

सहकर्मी पत्रकार सुवेदीको ‘ढोरपाटन माथीको ढोर’ र शैक्षिक भ्रमणमा आएको धौलागिरी क्याम्पस टोलीको ‘गन्तव्य ढोर’ को यहा चर्चा गर्न खोजिएको कारण ढोरपाटन माथीको ढोरलाई पर्यटकीय गन्तव्य बनाउन सरोकारवालाहरुको ध्यानाकर्षण गराउनु हो । ढोरपाटनको फाँटले मात्र ढोरपाटनको प्रतिनिधित्व हुन सक्तैन भन्नु हो । उपल्लो ढोरमा ढोरपाटनबासीको जनजीवन कसरी चलेको छ भनेर देखाउन खोज्नु हो । ढोरपाटन शिकार आरक्ष केवल विदेशी शिकारीहरुका लागी मात्र मनोरन्जनको स्थल नभएर हामी नेपालीहरुले पनि जान घुम्न सकौँ, बन्यजन्तुको शिकार नगरेपनि कुनै स्पटमा पुगेर बन्यजन्तुहरुलाई नजिकबाट हेर्ने वातावरण बनोस भन्नु हो । उपल्लो ढोरमा सडक यातायातको विकास गरी पर्यटक लैजान सके, घुमाउन सके पर्यटन विकासमा नयाँ फड्को मार्न सकिन्छ कि भन्ने हो ।

ढोरपाटनको अर्को आकर्षााण भनेको तिव्वती शरणार्थी हुन् । २०२१ सालको सुरुसुरुमा ढोरपाटनमा ३ सय भन्दा बढीको संख्यामा तिव्वती शरणार्थीहरु बसोबास गर्थे । स्वीस रेडक्रसले उनिहरुको रेखदेख र सहयोग गथ्र्यो । स्वीस स्वयंसेवीहरुको सहयोगमा ढोरपाटन ह्याण्डीक्राफ्ट सेन्टर सन्चालनमा ल्याएर गुुणस्तरीय गलैँचाहरु बुनिन्थ्यो, जस्को देश विदेशमा निकै माग थियो ।
तिव्वती शरणार्थीहरुको उपस्थितिले ढोरपाटन उपत्यका रमाईलो बनेको थियो । उनिहरु नेपाली जस्तै भएर ढोरपाटनमा बस्थे । तिव्वतीहरुले निर्माण गरेका गुम्वाहरु, प्राकृतिक चिकित्सा औषधालय अहिले बन्द अवस्थामा रहेका छन् । तत्कालीन अवस्थामा निर्माण गरिएका प्राय: सबै भौतिक संरचनाहरु या त ध्वस्त भए या भग्नावशेषको रुपमा रहेका छन् ।

२०३२ सालको जेठ महिनामा भारतको धर्मशालाबाट आएका ढोरपाटनमा बसोबास गर्ने तिव्वती शरणार्थी क्याम्पका प्रशासक संग बागलुङ बजारमा चिनजान भयो । उनले जसरी पनि ढोरपाटन आउन निम्ता दिएकाले २०३२ सालको जनैपूर्णिमामा भिङखाल दाजु बजिर प्रताप सिँह (स्व), उत्तरगंगा मावि बुर्तिवाङका तत्कालीन शिक्षक भाई कृष्णदत्त पन्त तीन जना भएर पहिलो पटक ढोरपाटन गएका थियौँ । अहिले तिव्वती शरणार्थीहरुको संख्या पातलिएको छ । केहि सीमित संख्यामा रहेका शरणार्थीहरु पनि क्रमश: घट्दै छन् ।

२०३२ सालमा बागलुङ जिल्लाका तत्कालीन तकबाछी, हुकाम, मैकोट र रन्मा गाउँपन्चायतहरुलाई रुकुम जिल्लामा समावेश गर्नाले यस खण्डको संरचनानै खल्बलिन पुग्यो । भौतिक संरचना निर्माणमा तानातानी हुन गयो । उत्तरगंगा जलाशय युक्त विद्युत आयोजना निर्माणमा तदारुककता देखिएन । प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल समेतबाट उत्तरगंगा जलाशय युक्त विद्युत आयोजना ढोरपाटनमा निर्माण हुन्छ भनेपनि अहिले सम्म मुलतवी रहनुले आशंका उव्जाएको छ । बिमानस्थल बन्यो तारबार भयो तर वर्षौँ बित्दापनि विमानले उडान भरेको छैन ।

खुशीको कुरा के छ भने, ढोरपाटनले चिनेको र ढोरपाटनलाई बुझेका देवकुमार नेपाली अहिले ढोरपाटन नगसपालिकाको नगरप्रमखमा पदासीन छन् । उनको कार्यकालमा ढोरपाटनले काँचुली फेर्छ भन्ने कुरामा शंका गर्न हुन्न । तर घच्घचाई रहनु पर्ने अवस्था भने विद्यमान छ ।

ढोरपाटनलाई अझ आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न विज्ञहरुको कमिटी बनाएर गुरु योजना तयार पार्न नगरप्रमुख नेपालीको पहल अति जरुरी छ । ढोरपाटन उपत्यकादेखी ढोरको उपल्लो भाग बुकी सम्म पर्यटकलाई पु-याउन सके सुनमा सुगन्ध हुन्थ्यो कि ? ढोरपाटनलाई नबी, स्यालपाखे, पाखाथर र छेन्तुङमा मात्र सीमित नगरौँ कि ? जसो नगरप्रमुख नेपालीको ईच्छा !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *