काठेखोला गाउँपालिकाको केन्द्र सुल्डाडा–अक्षेते कायम नभए आन्दोलनमा उत्रने चेतावनी !

सर्वदलीय सहमतीमा सिफारिस गरिएका केन्द्र परिवर्तन गरिएकोमा बिरोध !

बागलुङ, २०७३ फागुन ३० । सरकारले राजपत्रमा प्रकाशित गरेको स्थानीय तह पुनर्ससंरचना सम्वन्धी सूचनामा जिल्लामा सर्वदलीय सहमति अनुसार आयोगमा सिफारिस गरि पठाएको नगर र गाउँपालिकाका केन्द्रहरु अदलबदल गरिएको पाईएपछी विभिन्न राजनीतिक दल, स्थानीयवासी बिरोधमा उत्रिएका छन् । बागलुङ जिल्लाका केहि नगरपालिका र गाउँपालिकाका केन्द्रहरु फेरिएपछी बिरोध भएको हो ।

बागलुङ जिल्लाबाट सर्वदलीय सहमति अनुसार पठाईएका विभिन्न गाउँपालिका र नगरपालिकाको केन्द्र फरक परेको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापाले बताएका छन् । निसीखोला गाउँपालिकाको झिवाखोला हुनु पर्नेमा देविस्थान, बरेङ गाउँपालिकाको बरेङ बजारमा हुनु पर्नेमा हुग्दिशिर गाविसको कार्यालय, गलकोट नगरपालिकाको मझुवाफाँट हुनु पर्नेमा हरिचौर बजार भएर आएको थापाले बताए ।

जिल्लामा भएको सर्वदलीय वैठकले सदरमुकामसंग जोडिएको काठेखोला गाउँपालिकाको केन्द्र सुल्डाडा–अक्षेते राख्ने सर्वसम्मत सहमति गरेर पठाएको थियो । तर सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार गाउँपालिकाको केन्द्र साविक विहुकोट गाविसको हटिया उल्लेख भएको भन्दै सच्याउन राजनीतिक दलका प्रतिनिधिहरुले माग गरेका हुन । सर्वदलीय सहमति अनुसार पुनर्संरचना काठेखोला गाउँपालिका बागलुङको केन्द्र सुल्डाडा–अक्षेते कायम गर्न स्थानीयले माग गरेका हुन् ।

सिगाना गाविसको वडा नं ६, पाला गाविसको वडा नंं. १ देखि ५ सम्म, भीमापोखरा, धम्जा, तंग्राम, बिहु, रेश र लेखानी गाविस समावेश गरी ८ वटा वडा रहेको काठेखोला गाउँपालिकाको केन्द्र सुल्डाडा–अक्षेते पायक पर्ने र सर्वदलीय सहमति पनि भैसकेकोले सोही स्थानलाई कार्यान्वयन गर्न माग गर्दै आज जिल्ला समन्वय समितिमा ज्ञापनपत्र बुझाएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा लगायतका राजनीतिक दलहरुले भौगोलिक अवस्था, जनताको सुविधा लगायत राज्यका कार्यालय र संभावनाका हिसावले सुल्डाडा–अक्षेतेमै केन्द्र राख्नु पर्नेमा जोड दिएका छन् ।

सोमबार बिहान बागलुङ बजारमा बसेको काठेखोला गाउँपालिका अन्तरगतका पार्टीका प्रतिनिधि र सरोकारवालाहरुको वैठकले कुनै पनि हालतमा सुल्डाडा–अक्षेते मै केन्द्र तोक्न दवाव दिने र वेवास्ता भएमा आन्दोलन समेत गर्ने निर्णय गरेको नेकपा एमाले केन्द्रीय सहकारी विभागका सदस्य रामबहादुर जिसीले जानकारी दिए ।

सबै पार्टीका प्रतिनिधिहरुको सहभागितामा जिल्ला समन्वय समितिमा गएको टोलीका तर्फबाट एमाले जिल्ला सचिवालय सदस्य डिल्लीराज गौतमले स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्र बुझ्दै स्थानीय विकास अधिकारी आचार्यले दलहरुको सहमतिमै केन्द्र तोक्ने विषयमा आफु सकारात्मक रहेको र केन्द्रमा छलफल गरेर टुंगो लगाउने बताए ।
नेपाली काग्रेस महाधिवेशन प्रतिनिधि होमबहादुर हमाल, नेकपा एमाले जिल्ला सचिवालय सदस्य डिल्लीराज गौतम, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसी, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य लक्ष्मण पुन, एमाले जिल्ला सचिवालय सदस्य अञ्जु जिसी (हुमा), जिल्ला सदस्यहरु दिपक गौतम र प्रेम लामिछाने, नेपाली काग्रेस भीमापोखरामा खिमानन्द कँडेल, एमाले भीमापोखराका अध्यक्ष रामप्रसाद शर्मा, नेपाली कांग्रेसका हरिबहादुर भण्डारी, नेवि संघका अध्यक्ष खड्क थापा लगायतको उपस्थितिमा सम्पन्न बैठक पछि टोलीले जिल्ला समन्वय समितिमा ज्ञापनपत्र बुझाएको हो ।

स्थानीय तह पुनसंरचना अन्तरगत बागलुङ जिल्लामा ४ नगरपालिकासहित १० वटा तहको व्यवस्था गरिएको छ । बागलुङ नगरपालिका, गलकोट नगरपालिका, ढोरपाटन नगरपािलका र जैमुनी नगरपालिका तथा गाउँपालिकाहरुमा काठेखोला सहित ताराखोला, बरेङ, बडिगाड, निसीखोला, तमानखोला गाउँपालिका कायम भएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *