Sorry, that menu does not exist.
 

शैक्षिक तथा धार्मिक महोत्सवको तयारी पुरा : मंसिर १५ गते नगर प्रमुख नेपालीद्वारा महोत्सवको उद्घाटन !

लोकेन्द्र निरासी, २०७५ मंसिर १४ । बागलुङ ढोरपाटन शैक्षिक तथा धार्मिक महोत्सव—२०७५ को अन्तिम तयारी पुरा भएको छ । महोत्सवको भोलि विधिवत् रुपमा ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालीबाट उद्घाटन गरिने कार्यक्रम रहेको छ ।

बागलुङ जिल्लाको पश्चिम क्षेत्रबाट उच्च शिक्षा प्रदान गर्दै आएको निसीभुजी जनता क्याम्पस बुर्तिबाङलाई सुविधा सम्पन्न स्मार्ट क्याम्पस संचालनार्थ आयोजित उक्त महोत्सव यही मंसिर १५ गतेदेखि २१ गतेसम्म सप्ताहव्यापी रुपमा संचालन हुने भएको छ ।

महोत्सवलाई व्यवस्थित गर्न विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ भने विभिन्न संघसंस्थाका प्रतिनिधि तथा विभिन्न विद्यालय एवं क्याम्पसका विद्यार्थीहरुलाई स्वयंसेवकको रुपमा परिचालन गरिने भएको छ । कार्यक्रमको आयोजना गर्ने स्थल उत्तरगंगा मा.वि.को प्राङ्गणमा महायज्ञका लागि यज्ञमण्डप, पूजापीठ, होमकुण्ड लगायत मञ्च समेत व्यवस्थित गर्ने कार्य पुरा भएको छ । महोत्सवको पूर्वसन्ध्यामा आज विहानै बुर्तिबाङ बजार सरसफाई गरिएको थियो । कार्यक्रम स्थल र बजार क्षेत्रमा समेत ध्वजा पतकाले सिगार्नुका साथै सबैले आआफ्नो घर वरपर सरसफाई गरेका छन् ।

महोत्सवको पहिलो दिन भोलि विहान १० बजे निसीभुजी जनता क्याम्पसबाट ११ सय कलश यात्रा निकाली बाजागाजा, झाँकी र भजन किर्तन सहित शोभायात्रा बुर्तिबाङ बजार परिक्रमा गरी मूल कार्यक्रम स्थल उत्तरगंगा मा.वि.को प्राङ्गणमा गएपछि पण्डितहरुबाट बैदिक विधि एवं स्वस्ती बाचन गरी कार्यक्रम प्रारम्भ गरिने छ । त्यसपछि प्रमुख अतिथि, विशिष्ट अतिथि र अन्य अतिथि गणहरुलाई कार्यक्रममा स्वागत गरिसकेपछि विधिवत रुपमा प्रमुख अतिथिा नगरप्रमुख देवकुमार नेपालीबाट कार्यक्रमको उद्घाटन गरिने छ ।

महोत्सवलाई सफल बनाउन व्यापक प्रचारप्रसार अभियानलाई महोत्सव अवधिभर निरन्तरता दिइएको छ । भोलिको उद्घाटन कार्यक्रमका लागि सम्पूर्ण संघसंस्था, जनप्रतिनिधि, राजनीतिक दल, चन्दादाता, जग्गादाता, शिक्षक, विद्यार्थी, बुद्धिजीवी, समाजसेवी लगायत सरोकारवाला सबैलाई आमन्त्रणा गरिसकिएको समितिले जनाएको छ ।

महोत्सवलाई सफल पार्न क्याम्पसका प्राध्यापक, विद्यार्थी, समाजसेवी, सामाजिक एवं शैक्षिक व्यक्तित्वहरुलाई समेत परिचालन गरी ४२ ओटा उपसमितिहरु गठन गरिएको छ । सूचनाको आदानप्रदान, प्रचारप्रसार लगायत महोत्सवको देशविदेशमा समेत व्यापक प्रचारप्रसार गर्न महोत्सव सचिवालयमा ४ जना महासचिव र २ जना कार्यालय सचिव सहितको टोली चौबिसै घण्टा आलोपालो गरि महोत्सव कार्यमा खटिरहेका छन् । त्यसैगरी आमा समूह, महिला समूह लगायतले दुना टपरी बनाउने, कलस रङ्गाउने, महायज्ञका लागि पुजा सामग्री जुटाउने लगायतका काममा भ्याइनभ्याइ जुटिरहेका छन् ।

महोत्सवमा प्रत्येक दिन विहान ७ बजेदेखि पूजा अर्चना, पाठ पारायण त्यसैगरी १० बजेदेखि ४ बजेसम्म कथा वाचन, प्रवचन र झाँकी प्रदर्शन, साँझ ७ बजेदेखि १० बजेसम्म भजन कीर्तन र कथा प्रवचनका साथै प्रत्यक दिन विहान ७ बजेदेखि बेलुका ८ बजेसम्म धार्मिक अनुष्ठान र विधिपूर्वक शान्ति कलश एवं भगवानको पूजा अर्चना गरिने महोत्सवका शैक्षिक अभियान्ता ब्रम्हाण ईश्वर शरण महाराजले बताए । उक्त महोत्सवमा विराट धनधान्य महापर्व, पितृमुक्तिको पूजा, श्रीमद् भागवत् कथा प्रवचन, गौदान, रुद्री पाठ, कलश यात्रा, तुलादान, चौरासी पूजा, ब्रतबन्ध, ग्रहशान्ति, लाखबत्ती प्रज्वलन, महालक्ष्मीको पूजा, विवाह लगायत धार्मिक पूजाआजा सहित राष्ट्रिय कलाकारहरुबाट संगीतमय भजन कीर्तन गरिने कार्यक्रमहरु रहेको आयोजकले जनाएकोे छ ।

यस खालको महोत्सव बुर्तिबाङ क्षेत्रमा पहिलो र नौलो भएकाले के कति आर्थिक संकलन हुने हो त्यो भने सहजै अनुमान गर्न सकिने अवस्था अझै देखिदैन । महायज्ञमा सबैभन्दा वढी रु. ५१ लाखभन्दा बढी दान गर्ने दातालाई सम्पूर्ण सम्मान सहित दान शिरोमणि पदले सम्मानित गरी निजले चाहेको नामबाट पुस्तकालय भवनको नामाकरण गर्ने गरी घरैबाट बाजागाजा सहित बजार परिक्रमा गराई व्यासपीठबाट सम्मान गरिने आयोजकले जनाएको छ । महोत्सवमा दातालाई दिइने सबैभन्दा उच्च तहको यो सम्मान कसले पाउने हो यो भने चर्चापरिचर्चाको विषय बनेको छ ।

महोत्सवबाट संकलित रकमले निसीभुजी जनता क्याम्पसको प्राज्ञिक तथा शैक्षिक व्यवस्थापन गरी क्षेत्रकै सुविधा सम्पन्न स्मार्ट क्याम्पसको रुपमा विकसित गरिने बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply