ओली वचन : ‘जहाँ हे-यो त्यहिँ सरकार …!’, युवाहरुको आवाज : ‘सरकार भेटियो न्याय भेटिएन !’

बागलुङ २०७५ मंसिर १३ । केहि दिन पहिले सरकारले सार्वजानिक गरेको सामाजिक सुरक्षा कार्यक्रमले देशमा निकै चर्चा पाईरहेको छ । सामाजिक सुरक्षा कार्यक्रम राम्रो भएतापनी सरकारले त्यसको प्रचारमा अपनाएको शैलीलाई लिएर देशभर चर्को विरोध र टीका टिप्पणीहरु भैरहेका छन् ।

सामाजिक सुरक्षा योजना कार्यक्रमको शुभारम्भका क्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले “जहा हेयो त्यहीँ सरकार छ, अब कम पावर भएका चस्मा लगाउनेहरुले पनि सरकार देख्नेछन्” भनेपछी निर्मलाको निम्ती स्वतःस्फुर्त आवाज उठाईरहेका व्यक्तिहरुलाई त्यो पाच्चे भएको छैन । सामाजिक सुरक्षाको पोष्टर काठमाडौका चोकचोक र पोलपोलमा झुण्डाएर, भित्ताभित्तामा टाँसेर, केहि सन्चारमाध्यमहरुमा छपाएर सरकार भएको आभाष दिलाउने ओली नेतृत्वको दुईतिहाई बहुमतको सरकारको शैलीको त झनै चौतर्फी विरोध भईरहेको छ ।

सरकारको पछिल्लो प्रचार शैलीलाई देखेर बागलुङमा क्रियाशील युवाहरुको समुहले बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको तस्विर बागलुङ बजारका चोक चोकमा पोष्टरहरु टाँसी सरकारको पछिल्लो शैली प्रति व्यंग्य कस्दै खिल्ली उडाएका छन् । निर्मलालाई न्याय दिन माग गर्दै टाँसिएको पोस्टरमा सरकार भेटियो, न्याय भेटिएन, जस्टिस डिलेड ईज, जस्टिस डिनाईड अर्थात ढिलो न्याय दिनु न्याय नदिनु सरह हो र निर्मलाका निम्ति न्याय भनी लेखिएको छ ।

बागलुङ बजारभर टाँसिएका व्यङ्ग्यात्मक पोष्टरहरु कस्ले टाँस्यो भन्ने कतै उल्लेख छैन । निर्मलाको न्यायका निम्ति स्वतःस्फुर्त पोष्टर पम्पलेट मार्फत काठमाडौबाट सुरुवात भएको नागरिक अभियानलाई साथ दिनका लागि बागलुङमा क्रियाशिल युवाहरुले आफ्नै खर्चबाट यो अभियान सुरुवात गरेको अभियानमा संलग्न एक युवाले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *