साताको तस्वीर : पुन हिलबाट सूर्योदय नियाल्दा (यात्रा स्मरण) !

शव्द/चित्र : सुमन जिसी,

बागलुङ २०७५ मंसिर १३ । नेपालीहरु अर्थात हिन्दुहरुको महान चाडहरु दशैं र तिहार नजिकिएसंगै युवा पुस्ताहरु माझ नयाँ नयाँ ठाउँहरु घुम्न जाने प्रशंग चल्नु स्वाभाविकै हो । लामो बिदा, चाडपर्वको रमझम, टाढा टाढा भएका साथी तथा आफान्तहरुसंगको भेटघाट र हातमा अली वढी पैसा हुनुले पनि दशै र तिहारलाई नेपालीहरुले विशेष रुपमा लिने गर्दछन् । यहि अवसर पारेर यसपाली मलाई पनी कुनै नयाँ ठाउँ घुम्ने रहर विगत देखिनै जागिरहेको थियो । साथीहरुसंग पनि निकै पहिल्यैदेखि दशै र तिहारको विचमा घुम्न जाने सल्लाहा भईरहेको थियो । घुम्न जाने रहर त सबैमा हुन्छ तर त्यसका लागि आवश्यक व्यवस्थापन गर्न नसक्दा धैरै योजनाहरु योजनामा मात्रै सीमित रहेका हुन्छन् । मेरो कहानी पनि यसैमा पर्दछ । काम जीवनमा त सधै जसो म घुमिरेहेकै हुन्छु तर यसबाट बाहिर स्वतन्त्र रुपमा घुम्नका लागि भने खासै समय मिलाउन नसकेको अनुभव छ । घुम्नका लागि समय प्राथामिकतामा परेपनि यसमा धैरै विषयहरु जोडिएका हुन्छन् जस्तैः साथीहरु, पैसा, घुम्ने मौषम, आदी आदी कुराहरु यी सबै कुराहरुलाई व्यवस्थापन गर्न सकेमा मात्र यात्रा फलदायी हुन सक्छ ।

घुम्न जाने चर्चाहरु चलिरह्यो साथीहरु भेटघाट हुँदा कहाँ घुम्न जाने भन्ने प्रसंग आईरहन्थ्यो यस्तै यस्तै कुराहरु भईराख्द पछिल्लो केही समय यता युवा पुस्ताहरु माझ घुम्नका लागि निकै सुनीने नाम माद्री हिमाल ट्रेक जाने साथीहरुबाट कुरा आयो तर जाने जाने भन्दा भन्दै दशै पनि सकियो म पुन काम जीवनमा नै फर्किए र यो विषयले पनी प्रथामिकता पाउन सकेन । दशैको रमझम सकिए पश्चात दशै मनाउन गएका सबैजना साथिहरु सदरमुकाम फर्किए लगत्तै पुन घुम्न जाने विषयले चर्चा पाउन थाल्यो र यही प्रसंग जोडेर साथीहरु सबैजना भेट्ने निधो गरियो र बागलुङ बजारमा रहेको फेमीली गार्डेन रेष्टुरेण्टमा भेटी घुम्नका लागि समय र ठाउँको निधो गर्ने निर्णय गरियो । सबैजनाको भेटघाट पश्चात यस पूर्व हाम्रा माझ चर्चामा आएको माद्री ट्रेकलाई यो समयका लागि स्थगीत गरी नेपालको उत्कृष्ट १० पर्यटकीय स्थल भित्र सुचीकृत भएको म्याग्दीको घोरेपानीमा रहेको पुनहिल जाने सल्लाहा गरियो । अन्तत सबैजनाको सहमती पश्चता हामीहरु कार्तिक १२ गते देखि १५ गते सम्मको समय छुट्टयाई पुन हिल जाने निश्चत ग-यौं ।

कात्तिक १५ गते बागलुङ बजारबाट हामी ८ जनाको टोली (जेनीश हमाल ठकुरी, राजकुमार के.सी., सुदिप सागर कँडेल, मुस्कान आचार्य, सुमन रिजाल, सुवास शर्मा आचार्य र सरोज आचार्य) विहान ६ बजे गन्तव्य तर्फ लाग्यौँ । पुनहिल पुग्ने तिब्र ईच्छा र चाहाना बोकेर आएका हामीहरु सबैको मन फुरुङ्गै थियो । सबैजनाको ट्रेकीङ जाने ड्रेसअप, हातमा ट्रेकिङ स्टिक, काधमा ट्रेकिङ व्याग हेर्दा सबैजना टुरिस्ट जस्तो देखिन्थे । पछिल्लो समय विदेशीहरु जस्तै पैदल यात्राबाट डाँडापाखा छिचोल्ने ट्रेण्ड अहिले नयाँ पुस्ताले अनुशरण गरिसकेको छन् ।

करिब डेढ घण्टाको यात्रा पछि हामी सुन्दर नगरी बागलुङलाई छोडी कास्कीको नयाँपुलसम्म पुग्यौं । गन्तव्यमा पुगेर फर्कने समेतको दाहोरो भाडा प्रति व्यक्ति रु ३ हजार ५ सयमा तय भएपछि गाडी चढी हामीहरु उल्लेरी तर्फ लाग्यौँ । विहानको नास्ता गरी बाटोमा चाहिने आवश्यक ड्राई फुड पानी लगाएतका सामाग्रीहरु लिनका लागी हामी एक होटेलमा पस्यौँ नास्तापानी पछी पुन यात्रामा अघी बढ्यौँ । धेरैजसो विदेशी पर्यटकहरु नयाँपुल देखिनै पैदल मार्फत जाने गरेको बाटोमा गाडीबाट स्पष्टै देख्न सकिन्थ्यो । पुन हिल जानका लागि केही पर्यटकहरु घान्द्रुक हुदै जाने र केही पर्यटकहरु उल्लेरी हुदै जाने सवारीचालक दाजुले हामीलाई सुनाउनु भयो । उल्लेरी हुदै जादा पुनहील पुग्नका लागि बाटो छोटो हुने र घान्द्रुक हुदै जादा बाटो लामो पर्ने उहाँको भनाई थियो ।

पश्चिम नेपालको गण्डकी तथा धैलागिरी अञ्चलको उत्तरी क्षेत्रमा पर्ने नेपालको सबैभन्दा ठुलो संरक्षण क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र पनी नयाँपुल काटे लगत्तै सुरुवात भएको त्याहाँ टाँगिएको वोर्ड देखर हामीले थाहा पायौं । ७ हजार ६ सय २९ वर्ग कि.मी. मा फैलिएको यो क्षेत्र कास्की, लमजुङ, म्याग्दी, मुस्ताङ र मनाङ जिल्लामा फैलिएको थाहा भयो । माछापुच्छ्र्रे, अन्नपूर्ण र धौलागिरी हिमाल, मनाङ र मुस्ताङका उपत्यकाहरु गुरुङ र थकाली संस्कृतीहरु, विश्वमै रमणीय प्राकृतिक दृश्यको आधारमा उत्कृष्ट मानिएको अन्नपूर्ण पदमार्ग आदी यस क्षेत्रका विशेषताहरुमा पर्दोरहेछन् । नेपालको प्रमुख पदमार्गको रुपमा यस क्षेत्रको विकासले स्थानीय स्तरमा रोजगारी सृजना भई बैदेशिक मुद्रा आर्जनबाट देशको अर्थतन्त्रमा ठुलो टेवा पुगेको पनी जानकारी भयो ।

अन्नपूर्ण संरक्षण क्षेत्र सुरुवात भएसंगै गाडी भित्रबाट वारी पारीका दृश्य र बेला बेलामा देखिने सेता हिमश्रृङखलाले हामीहरुको मन लोभ्यायो । करिब २ घण्टाको गाडीको रमाईलो यात्रा पश्चात हामीहरु बिहानको ११ बजे उल्लेरीको गाडी स्टेशनमा पुग्यौं ।

सबैजनाले आफ्नो व्यागहरु बोकी त्यहाँबाट घोरेपानीका लागि पैदल यात्रा गर्न सुरु ग¥यौं । उल्लेरीबाट घोरेपानी जम्मा ६ कि.मि. रहेतापनी करिब ४ घण्टा जती लगातार हिड्नुपर्ने त्यहाँका स्थानीयहरुले बताएका थिए । हाम्रो हिडाई सुरुवात भएसंगै क्यामेरा तथा मोवाईलमा तस्विर लिने क्रम पनि सुरु भयोे । नहोस पनि कसरी यात्राको प्रमुख उद्देश्यनै ठाउँ हेर्ने र तस्विरहरु लिने थियो । साथीहरु केही समय हिड्थे र पुन तस्विर लिन तछाड मछाड गरिहाल्थे । मलाई वारी पारी देखिने हिमश्रङ्खलाहरुले तस्विर लिनका लागि लोभाईरहे जस्तो लाग्थ्यो । फोटो खिच्ने मेरो रुचीको विषय भएकाले पनि मलाई ती दृश्यहरु क्यामेरामा कैद गर्ने ईच्छा भईरहन्थ्यो । मेरो जीवनकालमा नै त्यती नजिकबाट हिमालहरु देख्न अवसर मिलेको थिएन केवल देखिन्थ्यो त सफा मौषम हुदा बागलुङ बजारका छतबाट धौलागिरी हिमाल । हामी जती माथि चढ्थ्यौ हिमश्रृङखलाहरु देखिने क्रमहरु बढ्दै गईरहेका थिए । नजिकै देखिने हिमालहरुले यात्रालाई फरक अनुभुती दिलाउने काम मात्र नगरी शरीरमा ताजगी र स्फुर्ति पनि थपिरहेका थिए । बाटो भरी ढकमक्क फुलेका फुलहरुले हाम्रो यात्रालाई अझ सुन्दरता थपिरहेको आभाष हुन्थ्यो । उकालो उक्लिरहँदा बाटोको विचविचमा गज्जबका झरनाहरु पनि देख्न पाईयने । बाटोभर गुगल म्याप्समा अब आउनका लागि कति समय लाग्छ भनेर साथीहरुले पटक पटक हेरीरहेका थिए करिब दिनको ३ बज्न लागिसकेको थियो, हामीहरुले विहानको नास्ता र बाटोको विचमा खाएको ड्राई फुडले यतिका समयसम्मका लागि हामीलाई धानीरहेको थियो ।

४ घण्टा जतीको हिडाई पश्चात हामीहरु नागेठाँटी भन्ने ठाउँमा आईपुग्यौ र त्यहाँ रहेको हङ्ग्री आई रेष्टुरेण्टमा खाना खानाका लागि रोकियौं । रेष्टुरेण्टको साहुजीलाई ८ जनालाई खाना छ भनी सोध्दा नभएको र बनाउनका लागि ४० मिनेट जती लाग्छ भन्ने जवाफ आएपछि हामीहरुले खाना बनाउन भनी एकछिन विश्राम गर्ने निधो ग-यौं । खाना खाएर ४ः३० बजे हामीहरु नागेठाँटीबाट घोरेपानीको यात्रा प्रारम्भ ग-यौ । २८०० मिटरमा रहेको घोरपानी पुग्न नागेठाँटीबाट साढे १ घण्टा जती लाग्ने रहेछ । १५ मिनेट जती उकालो चढेपछि सबैजनालाई थकानको महसूस भईसकेको थियो । केही तेस्रो बाटो देखेपछि सबैजनालाई आनान्दको महसूस हुन्थ्यो । जंगलै जंगल उकालो र तेस्र्रो बाटो, खोलाको कलकल पानी बगेको आवाज, चराचुरुंगीको चिरबीर आवाज, बाटोमा भेटिने झरनाहरु, तल माथि गरिरहेको असंख्य पर्यटकहरु र सामान ओसार्नका लागि त्यस क्षेत्रमा प्रयोग हुने खच्चडसंगको जम्काभेट लगाएतका धैरै कुराहरुले हाम्रो यात्रालाई रमाईलो गराईरहेको थियो । उकालो सिद्धाएर केही तेर्सो बाटो हिड्दै थियौ टाढैबाट देखिने निलो टिनका छानाहरु भएका घरहरु देखिएपछि लाग्यो हामीहरु गन्तव्यमा आईपुग्यौँ ।

हामीहरुले वेलकम टु घोरेपानी पुनहिल लेखिएको त्यो गेट देख्दा वित्तीकै मनमा छुट्टैप्रकारको आनन्दानुभूति भयो । गेटमा पुग्ने समयसम्म झिसमीसे रात पर्न सुरु भईसकेको थियो । हामीले होटलका लागि पहिल्यैनै फोन मार्फत कोठाहरुको चाजोपाँजो मिलाई सकेका थियौं त्याहाँ पुगेपछि होटलको दिदीलाई सम्पर्क गर्दा हामीहरु तल्लो घोरेपानीमा रहेको र होटल उपल्लो घोरेपानीमा रहेकाले उतै आउनुपर्ने उनको आग्रहलाई स्वीकार गरी हामी पुन करिब १० मिनेटको उकालो चढी उपल्लो घोरेपानी पुग्यौं । रातपरीसकेको भएतापनी त्यँहाबाट चारैतर्फ देखिने मोती जस्तै टल्कने हिमश्रङ्खलाहरु देखेपछि सबैजना दंग परियो र आजको बसाईका लागि होटल तर्फ लागियो । होटलमा पुगिसकेपछि त्यहाँको दिदीले हामीलाई कोठाहरु देखाईदिनु भयो हामी फ्रेस हुनका लागि तर्फ लाग्यौ पानी छुदा नै करेन्ट लाग्ने जस्तो चिसो थियो जसोतसो हल्का हातमुख धोएर हामीहरु बेलुकाको खाना खानाका लागि होटलको माथिल्लो तलामा रहेको किचन तर्फ लाग्यौ ।

त्यहाँ केही नेपाली र विदेशी पर्यटकहरु सुधारिएको चुलोको नजिकै बसी आगो ताप्दै पेय पदार्थको मज्जा लिईरहेका थिए र खानाको लागि केही समय लाग्ने भएकाले हामीहरु आगो ताप्नका लागि नजिकै पुग्यौ र होटलको दिदी र त्यहाँ रहेका पर्यटकहरुसंग कुराकानी गर्न थाल्यौ । कुरा गर्दै जाँदा होटलको दिदीको श्रीमान बिट्रीश लाहुरे भएको थाहा भयो र केही समय अगाडि सबैजना परिवार नै विदेशमा बस्ने गरेतापनी नेपालमै केही गर्नुपर्छ भनी होटल व्यवसाय सञ्चालन गरेको उहाँले हामीलाई सुनाउनु भयो । चिसो बढ्न सुरुवात गरेकाले पर्यटकहरु आउने क्रम कम भएको उहाँको भनाई थियो । त्यहाँको मौषमको विषयमा कुरा गर्दै जाँदा हिउँ पर्ने मौषम सुरुवात हुने समयमा निकैनै चिसो हुने र हिउँ परिसकेपछी चिसो अलीक कम हुने कुरा दिदीले हामीलाई जानकारी दिनु भयो ।

यात्राको दोश्रो दिन हामीहरु विहानै ४ः४५ बजे हामी होटलबार्ट पुन हिलको यात्राका लागि निस्कियौं । बिहानै झिसमिसे अँध्यारोमा मोबाईलको टर्च बाल्दै हामीहरु अध्यारोमै पुन हिल तर्फ लाग्यौं । घोरेपानीबाट पुन हिलसम्मका लागि ४५ मिनेट हिड्नुपर्ने रहेछ । बाटोभर असंख्य पर्यटकहरुको लाईन देख्दा नेपालको आर्थिक विकासको महत्वपूर्ण पक्ष पर्यटन हुन सक्ने बिचार मनमा उठ्यो । ट्रेकीङका लागि बनाईएको उकालो बाटो हामीहरु स्यांस्यां गर्दै माथि चढ्दै थियौं । केही समय हिडेपछि पुनहिल प्रवेशका लागि एउटा गेट आउदो रहेछ र त्यहाँबाट प्रवेश गर्नका लागि टिकटको व्यवस्था रहेछ । नेपालीहरुका लागि रु. ५० र विदेशीहरुका लागि रु. १०० टिकटको पैसा तिर्नुपर्ने रहेछ । त्यहाँ ८ जनाको लागि टिकट लिई पुन हामी उकालो चढ्न थाल्यौं । स्यांस्यां फ्यांफ्यां गर्दै हामीहरु करिब ६ बजेतिर गन्तव्यमा पुगेछौं । हामीहरु त्यहाँ पुगिसक्दा अध्यारै भएतापनी पर्यटकहरुको भीड लागीसकेको थियो कोही भ्यूटावरमा चढीसकेका थिए भने कोही तलैबाट सूर्योदय हेर्ने व्यग्र प्रतिक्षामा बसिरहेका थिए । त्यही भीडमा हामीहरु पनी सरिक भयौँ र सूर्योदय र विशाल हिमश्रङ्खलाहरु हेर्ने प्रतिक्षामा बसिरह¥यौं ।

त्यती सबेरै पनि त्यो डाँडामा तातो पानी, चिया र कफिको व्यवस्था गरिएको रहेछ । हामीहरु सबैजनाले तातोपानी खाने सल्लाहा अनुसार रु. १ सयमा आउने एक ग्लास तातोपानी मगायौं । त्यो पानीले हामीहरुलाई पिउनकोसंगसंगै चिसोले ठिह्राएका हात तताउन गज्जबले काम ग¥यो र शरीरमा शक्ति समेत ल्याउने काम गयो । सूर्योदयलाई टाईम ल्याप्स भिडियोमा उतार्नका लागि म त्यसतर्फ लागे उपयूक्त साधानहरुको अभाव र त्यहाँको भिडले गर्दा सोचेजस्तो भिडियो उतार्न नसकिएतापनि सुर्योदय हेर्ने अनुभव भने गज्जब रहयो । हामीले हेर्दा हेर्दै क्षितीजमा सुन्तला रङ्ग भरिन थाल्यो । अध्यारो र उज्यालोको संगमको रुपमा उभिएको निलो रङ्ग, माथी अस्ताउदो अन्धकार र तल उदाउँदो सूर्यले छरेको सुन्तला रङ्गको प्रकाश, आहा त्यो दृश्यको संयोजन साँच्चै नै अविष्मरणीय र यादगार रहयो । सूर्यको किरण अन्नपूर्ण हिमश्रृङखलाको पुर्वी पाखामा ठोक्किदा “नमरी स्वर्ग देखिदैन” भन्ने बाक्य मिथ्या रहेछ जस्तो मलाई लाग्यो । सूर्यको किरण परेर टल्किन थालेका अन्नपूर्ण र धवलागिरी लगाएतका हिमश्रृङखलाहरुले पृथ्वीमा रहेको सम्पूर्ण सुन्दरतालाई त्यही ठाउँमा ल्याईदिए जस्तो आभाष भईरहेको थियो । निलो आकाश, पुर्वीतर्फबाट हिमालमा ठोक्किएका सूर्यका किरणहरु र नजीकैबाट देखिने मनोमहक हिमश्रृङखलाहरु आहा त्यो क्षण शब्दमा वर्णन गरेरै सकिदैन । त्यही क्षणलाई हेर्नका लागि विश्वका विभिन्न देशबाट आएका पर्यटकहरु र आन्तरीक पर्यटकहरुले तछाड मछाड गरी क्यामेरा र फोनहरु तस्विर कैद गर्नका लागि तेर्साईरहेको दृश्य पनि हेर्न लायक थियो ।

पुर्णरुपमा सुर्योदय भएपश्चात हामीहरु सबैजना व्यक्तिगत तस्विर कैद गर्नमा व्यस्त भयौंं । विभिन्न पोजमा हिमालको काखमा तस्विरहरु लिन थाल्यौ करिब ३ घण्टा जती त्यो अभूतपूर्व ठाउँमा समय विताई हामीहरु फर्कर्ने तरखर गर्न लाग्यौ । हामीहरुको आजको गन्तव्य अर्को सुन्दर ठाउँ घान्द्रकु भएकाले बाध्यताबस बिहानको ९ बजे पुन हिललाई बाई बाई गरी घोरेपानी तर्फ लाग्यौं ।

घोरेपानीबाट हिँडेसंगै हिमालका तरेलीहरु हेर्दै बाटोमा केही तस्विरहरु लिदै हामीहरु निरन्तर अघि बढ्यौँँ । देउराली डाँडामा पुग्दा त्यहाँबाट देखिने दृश्य पनी स्वर्गकै अनुभुती दिने प्रकारका थिए । मनोरम दृश्यहरु अवलोकन गर्दै हामीहरु गन्तव्यका लागि निरन्तर हिडिरहयौं । घोरेपानी देखि घान्द्रुक १४ कि.मी. मा रहेको र त्यहाँ पुग्नका लागि ७ घण्टा लाग्ने त्यहाँ राखिएका जानकारी दिने वोर्डहरुबाट थाहा पाउन सकिन्थ्यो । बाटोमा घोरेपानी जाने र फर्कर्ने पैदलयात्रीहरुको घुईचो नै थियो । केहीबेर उकालो र तेश्रो हिडेपछि हामीहरु ओरालो लाग्यौं । टाँडापानी भन्ने ठाउँसम्म पुग्ने समयमा यस्ता उकालो र ओरालोहरु निकै धैरै आउँदा रहेछन् । यी उकाला र ओरालाहरुले हामीलाई हिड्न नीकै कठिन भईरहेकोे थियो । यात्राको क्रममा हामीसंगै भएको एकजना भाईले निकै थकित हुँदै “टुरीष्ट हुन त त्यती सजिलो रहेनछ” भनेर भनेको शब्दले त्यो समयमा मेरो मन नै छोयो । करिब ३ बजेतीर हामीहरु टाडाँपानी भन्ने ठाउँमा पुग्यौ । टाँडापानीमा खाजा खाई हामीहरु पुन आजको गन्तव्य घान्द्रुकका लागि आफ्ना पाईलाहरु अगाडि बढायौैं । टाँडापानीबाट घान्द्रुकसम्मको बाटो तेस्रो र सजिलो भएका कारणले गर्दा हामीहरुलाई केही सजिलो अनुभव भईरहेको थियो । जंगलको बाटो करिब १ः३० घण्टा हिडेपछी हामी घान्द्रुकको नजीक नजीक पुगिसकेका थियौ ।

हामीहरु केही साथीहरु यो भन्दा पहिले पनी घान्द्रुक पुगीसकेकाले घान्द्रुकको बारेमा थौरै धैरै हामीहरुलाई जानकारी थियो र यही विषयमा “आवर ट्रेक टु ब्युटीफुल घान्द्रुक” भन्ने शिर्षकमा मैले यात्रा संस्मरण पनी लेखेको थिए । त्यो समयमा हामीले मौषमका कारणले गर्दा राम्रोसंग देख्न नसकिएको घान्द्रुकको सुन्दरता अहिले हेर्ने ईच्छा बोकेर करिब बेलुकाको ६ बजेतीर हामीहरु घान्द्रुक पुग्यौं । हामी सबैको सल्लाहा अनुसार घान्द्रकुमा होमस्टेमा बस्ने तय भएको थियो सोही अनुसार हामी घान्द्रकुमा रहेको तमु होमस्टेमा पुग्यौ र त्यहाँ सबै जनाको खान र बस्नको लागि प्रवन्ध मिल्यो । एकछिनको विश्राम पश्चात चिसो मौषम भएकाले हामीहरुले त्यही क्याम्प फायर गर्ने निधो ग¥यौं । खसी, कुखुरा, हाँस, भेडालगायतका मासुजन्य बस्तुहरु जंगलमै लगेर काट्ने र आगोको धुनीमा विशेष तरिकाले सेकाएर खाने एवं नाँचगानसहित सास्कृतिक कार्यक्रममा रमाउने र केहि दिन तथा रात जंगलमै बस्ने संस्कारलाई क्याम्प फायर भनिने भएतापनी त्यही संस्कारका केहि विशेषताहरुलाई लिएर हामी त्यही होमस्टेको आगनमै क्याम्प फायर गर्ने व्यवस्था मिलायौं । निकैबेर रमाईलो गरेपछि हाम्रो खाना तयारी भएको जानकारी आएपछि आगनमै आगो ताप्दै खाना खायौं र बिहानै उठी घान्द्रुकको सुन्दरता अवलोकन गर्ने सपना सजाई हामीहरु सुत्न तर्फ लाग्यौं ।

यात्राको तेश्रो दिन हामीहरुको आजको गन्तव्य प्रकृतिको सुन्दर उपहार पोखरा थियो । बिहानीको समयमा घान्द्रकु घुम्ने र बेलुका बस्नका लागि पोखरा जाने हाम्रो योजना थियो । घान्द्रुकदेखि पोखरा पुग्नका लागि त्यति धैरै समय पनि नलाग्ने र यातायातका साधनहरु पनि प्रशस्तै पाईने भएकाले बिहान उठ्नका लागि हामीहरु त्यती हतारिएका पनि थिएनौं । हामीहरु बसेको होमस्टेबाट देखिने हिमश्रृङखलाहरु स्पष्ट देखिने भएकाले हामीहरुलाई कतै डाँडामा जानुपर्ने बाध्यता पनि थिएन । पुन हिलमा पर्यटकहरुको भीडले गर्दा सुर्योदयको टाईमल्याप्स भिडियो खिच्ने मेरो रहर राम्रोसंग पुरा हुन सकेको थिएन र त्यो रहर घान्द्रकुमा पुरा गर्ने मेरो योजना रहेकाले म सुर्योदय हुनु भन्दा केही समय अगाडि उठी भिडियो खिच्ने प्रवन्ध मिलाउन तर्फ लागे । घान्द्रकुमा भने मेरो यो योजना सफल भयो । सबैजना उठिसकेपछि हामीहरु चिया पिउन तर्फ लाग्यौं चियाको कपसंगै हिमाललाई पृष्ठभुमीमा राखेर होमस्टेको आगनमै धैरै तस्विीरहरु खिचियो । केही समयपछि हाम्रो विहानको नास्ता पनी तयार भयो नास्ता खाई हामीहरु होमस्टेबाट १० मिनेट जती लाग्ने घान्द्रकुमा रहेको डाँडागाउँ हेर्न तर्फ लाग्यौं ।

डाँडागाउँ जहाँ अधिकाशं गुरुङ सुमदायको बसोवास रहेको छ , यो सुन्दर गाउँ समुन्द्र सतहबाट २०१२ मिटरको उचाईमा अवस्थित छ । यो गाउँलाई प्रकृतिको सुन्दर उपहारका रुपमा लिने गरिन्छ । डाँडाँगाउँको सुन्दरतामा करिब १ घण्टा जती रमेपछि हामीहरु आजको गन्तव्य पोखरा फर्कनका लागि पुन होमस्टेमा आईपुग्यौं । मेरो जीवनकालमा होमस्टेको बसाई पनी यो पहिलो थियो । न्यानोे आतिथ्यताका माध्यमवाट गाउँघरका परम्परागत संस्कृति रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले हामीहरुलाई त्यो ठाउँ छोड्न पटक्कै मन लागेको थिएन तर पनि सबैका आ–आफ्ना बाध्यता थिए । हामीहरु होमस्टेको परिवारसंग एउटा सामुहिक तस्विर लिई त्यहाँबाट विदाई भई पोखरा तर्फ लाग्यौं ।

करिब आधा घण्टा हिडिसकेपछि पोखराको लागि सवारी साधन पाईने स्टेशनमा पुग्यौ र त्यहाँ पोखराको लागि नभई नयाँपुलसम्मको लागि मात्र गाडि उपलब्ध भएकाले हामी त्यही गाडिमा चढी नयाँपुल तर्फ लाग्यौं । दुई घण्टाको लगातार यात्रा पश्चात हामी नयाँपुल आईपुग्यौ र त्यहाँबाट पुन अर्को गाडी लिई सिधै पोखराको लेकसाईडमा रहेको हाफ मुन होटल एण्ड रेष्टुरेन्टमा पुग्यौ । आजको हाम्रो बसाई यही होटलमा थियो । होटलमा पुगीसबैजना फ्रेस भई लेकसाईड घुम्नका लागि निस्कीयो ।

नेपालकै सर्वाधिक लोकप्रीय गन्तव्यको रुपमा रहेको पोखरा त्यसमा पनि फेवातालको किनारमा रहेको लेकसाईड बजार आफैमा आकर्षक छ । पश्चिमी गन्तव्यको आभाष गराउने लेकसाईड रातको समयमा चारैतर्फ झिलीमिली र सबैको आकर्षणको केन्द्र विन्दु नै हुँदो रहेछ । हामीहरु पनि करिब २ घण्टा जती फेवाताल र लेकसाईको सुन्दरतामा झुमेपछी आजको हाम्रो वास्ताविक योजना भनेको रातको समया पव (एग्द्य) जाने थियो । हामीहरु सबैजना लेकसाईडमा रहेको त्रिसरा (त्चष्कजबचब) नाम गरेको पवमा गई रातको ११ बजेसम्म त्यहाँ हुने सांगीतिक रमझम लगाएतका रमाईलाहरुमा समाहित भई आजको रात बिताउनका लागि होटल तर्फ लाग्यौं ।

यात्राको चौथो दिन बिहानै उठि होटलमै बागलुङका लागि गाडि मगाईयो र बागलुङ तर्फ लागियो । बिहानको १० बजे हामीहरु बागलुङ आइपुगेका थियौ । धैरै रमाईला याद र पलहरु संगाली बागलुङबाट सुरुवात भएको हाम्रो यात्रालाई बागलुङमै आएर टुङ्गाएका थियौं ।

यात्रामा हामीहरुले जीन्दगीमा अनुभव नगरेका धैरै विषयहरुको अनुभव गर्ने अवसर मिल्यो । हामीहरु सबैका लागि यो यात्रा सदैब अविष्मरणीय क्षण बनिरहनेछ । हामीहरु मात्र नभई देश विदेशका हरेक मानिसहरु यी आनन्ददायक मनोरम, प्राकृतिक सुन्दरतामा रम्न पाउने बातबरणको सिर्जना हुन सकेमा नेपाल सरकारले घोषण गरेको नेपाल भ्रमण वर्ष २०२० सफल हुनेमा दुईमत छैन ।
/

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *