पाण्डवखानीको पर्यटकीय महत्वको सिद्धनाथमा बनभोज स्थल निर्माण !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ मंसिर १० । पर्यटनको माध्यमबाट वडालाई आर्थिक टेवा दिने उद्देश्यले गल्कोट पाण्डवखानीको सिद्धथान डाडाँमा १० लाखको लागतमा रमणीय वनभोज स्थल निर्माण गरिएको छ ।

नगरपालिकाबाट गत बर्ष बिनियोजित १० लाखको बजेटबाट ५ रोपनी जग्गामा तारबार गर्नुका साथै ३ ओटा टहरा सेड समेत निर्माण गरिएको छ । गल्कोटको पर्यटकीय महत्वको रुपमा रहेको घुम्टे जाने बाटोको आडैमा भएर पनि प्रचुर सम्भावना रहँदा रहदै पनि पर्यटकीय क्षेत्र सिद्धथान ओझेलमा परेको छ ।

पाण्डवखानीका बिभिन्न क्षेत्रहरु सँगै रिघा, गुल्मीका बिभिन्न भागको दृश्य देख्न सकिने सिद्धथान महत्वपूर्ण पर्यटकीय क्षेत्र हो । व्यवस्थापन र प्रचार प्रसारको अभावमा आन्तरिक पर्यटक समेत निकै न्युन आउने गरेका छन् । भौतिक पूर्वाधारको विकास नुहुँदा पर्यटकलाई त्यहाँ पुग्न समस्या हुने गरेको छ । उचाईमा रहेकोे सिद्धथानबाट मनोरम हिम श्रृंखला अवलोकन गर्न सकिन्छ । प्रत्येक बर्ष बैशाख पुर्णिमाका दिन उक्त स्थानमा मेला लाग्ने गरेको छ । मेला लाग्ने ठाउ सँगै जोडिएको उक्त स्थानलाई बिकास गर्नका लागी वडा कार्यालयले बिशेष योजना बनाएको वडा अध्यक्ष तिलक घर्तीले बताए । घर्र्तीका अनुसार उक्त स्थानमा पहिलो चरणमा प्रवेशव्दार, बगैचा, खानेपानीको ब्यवस्था गरिने छ । वडालाई समृद्ध गराउनका लागी सिद्धथानलाई बनभोज स्थलको रुपमा बिकास गनुपर्ने आवश्यकता देखिएको घर्तीको भनाई छ ।

नजिकै करिब १ लाख ५० हजारको लागतमा महिला र पुरुषका लागी शौचालय समेत निर्माण गरेको उनले बताए । समथर भुभाग भएका कारण पनि सिद्धथान बनभोज स्थलका लागी उपयुक्त गन्तब्य मानिएको समाजसेवी मानसिङ छन्त्यालको भनाई छ । समुद्री सतहदेखि करिब १९ सय मिटर उचाईमा रहेको सिद्धथान डाडाँमा प्रत्येक बर्ष बिद्यालय, बिभिन्न संघ, सस्था, आमा समुह, क्लबहरु बनभोजका लागी जाने गरेका छन । उक्त क्षेत्रमा भ्यू टावर, बनभोज स्थलको निर्माण सर्न सके पर्यटक भित्र्याउन सकिने वडा अध्यक्ष घर्तीको भनाई छ ।

स्थानीय तहको आर्थिक स्रोतलाई वृद्धि गर्न यस्तो प्राकृतिक स्थलको विकासमा ध्यान दिनुपर्ने आवश्यकता रहेको स्थानियको भनाई छ । सिद्धथानमा सुन्दर पोखरी समेत रहेको छ । उक्त स्थानमा अहिलेसम्म दर्जनौ गीतहरुको छायाङ्कन समेत गरिएको छ । पोखरी र मन्दिरले धार्मिक पर्यटकहरुलाई आकर्षित गर्नका लागि समेत यसले मद्दत गर्नसक्छ । मन्दिर र पोखरीको समेत संरक्षण गर्न सके आन्तरिक र बाह्य पर्यटन प्रबद्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । गल्कोटको महत्वपूर्ण धार्मिक एवं पर्यटकीय स्थल घुम्टे, निलुवा लगायतका ठाउमा घुम्न आउने पर्यटकहरुलाई सिद्धथान घुमाउनसके गल्कोट नगरपालिकाको आर्थिक गतिविधिमा वृद्धि हुन सक्ने स्थानीयको भनाई छ ।

सिद्धथान सहित समग्र गल्कोटको पर्यटकीय क्षेत्रको विकास लागि गुरुयोजना बनाएर अघि बढ्ने सोँच रहेको नगरपालिकाकी नगरउपप्रमुख रेनुका काउचा मगरले बताईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *