बडीगाड महोत्सव भब्यरुपमा सम्पन्न :७० हजार बढी दर्शकव्दारा अवलोकन !
नेपाललाई अग्रणी, सम्पन्न र सम्बृद्ध देश बनाउने अभियान गण्डकी प्रदेशबाटै सुरु हुन्छ – प्रदेश मन्त्री गुरुङ

दिनेश शर्मा, खारबजार बडीगाड, २०७५ मंसिर ९ । प्रथम बडीगाड महोत्सव तथा पौँदी न्वागी मेला आज भव्य एवं सभ्य रुपमा समापन भएको छ । मंसिर १ गते संघीय मन्त्री रविन्द्र अधिकारीले उद्घाटन गरेको महोत्सव आज प्रदेश मन्त्री किशोर गुरुङले समापन गरेका हुन् ।

समापन कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी एवं प्रदेश मन्त्री गुरुङले महोत्सवको सफलताको लागि आयोजकलाई धन्यवाद दिँदै ढोरपाटनलाई विशेष जोड दिएर यस क्षेत्रलाई पर्यटकीय सम्भावनायुक्त बनाउन सके यसैबाट जिल्लाको सम्बृद्धि हुने बताए ।

मन्त्री गुरुङले गण्डकी प्रदेशको कुल २४ अर्बको बजेटमा ७५ प्रतिशत भौतिक निर्माणमा विनियोजन गरिएकोले गण्डकी प्रदेशको विकास र सम्बृद्धीका लागी उल्लेख्य काम हुने बताए ।

पन्चायती व्यवस्थाको बिरुद्ध संघर्ष गर्दा आफुले यसै क्षेत्रलाई आश्रय स्थल बनाएको स्मरण गर्दै यस क्षेत्रमा आफुलाई ल्याउने भीमलाल सुवेदीको निधनको खबरले निकै दुखी भएको बताए ।

प्रदेश मन्त्री गुरुङले नेपाललाई अग्रणी, सम्पन्न र सम्बृद्ध बनाउने अभियान गण्डकी प्रदेशबाटै सुरु गरिने बताए ।

उनले महोत्सव स्थलका विभिन्न स्टलहरुको अभिरुची पूर्वक अबलोकन गरेका थिए । केहि समय तुरतरेको ताल अवलोकन गर्न भ्याएका प्रदेश मन्त्री गुरुङ नौका विहार गर्न भने अन्कनाए ।

प्रदेश मन्त्री गुरुङ महोत्सव स्थलमा आईपुग्दा उनको भव्य स्वागत गरिएका थियो । समापन कार्यक्रममा प्रमुख अतिथी गुरुङले महोत्सवमा उल्लेखनीय सहयोग गर्नेहरु गाउपालिका अध्यक्ष मेहरसिँह पाईजा लगायत अन्यलाई सम्मानित गरेका थिए । आयोजकले प्रमुख अतिथी गुरुङलाई स्थानीय उत्पादन उपहार दिएका थिए । आयोजकले बडीगाड ३ सिसाखानीमा निर्मित मालिंगाको बुट्टे लौरो उपहार दिएका थिए । यसै उपहारलाई टेकेर स्टलहरु अवलोकन गरेका थिए ।

समापन कार्यक्रमको अध्यक्षता महोत्सव समितीका अध्यक्ष कलाधर घिमिरे, स्वागत मन्तव्य समितिका उपाध्यक्ष कृष्ण भट्टराई र कार्यक्रमको सन्चालन समितिका सचिव विष्णु आचार्यले गरेका थिए । प्रमुख अतिथी गुरुङ आजै पोखरा फर्किएका थिए ।

महोत्सव पूर्णरुपमा सफल भएको आयोजकहरुले ईबागलुङलाई बताए । मेलावधी भर महोत्सव अवलोकन गर्ने दर्शकहरुको संख्या ७० हजार माथी रहेको आयोजकको भनाई छ । प्रवेश शुल्क तिरेर महोत्सव हेर्न दर्शकहरुको संख्या ३५ हजारको हाराहारीमा भएको आयोजकले बताए । उद्घाटन र समापनका दिन प्रवेश निशुल्क गरिएको थियो । आयोजकको भनाईमा विश्वास गर्ने हो भने, प्रवेश शुल्कबाटबाट कम्तीमा ७ लाख रुपयाँ संकलन भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *