बडीगाड महोत्सव/पौँदी न्वागी मेलाको समापन आज, प्रमुख अतिथीमा गण्डकी प्रदेशका अर्थमन्त्री गुरुङ आउने !

दिनेश शर्मा, खारबजार (बडीगाड) २०७५ मंसिर ९ । मंसिर १ गते पौँदेलीहरुको प्रशिद्ध न्वागी खाने शुभ दिन देखी शुभारम्भ भएको प्रथम बडीगाड महोत्सव तथा पौँदी न्वागी मेला आज समापन हुँदैछ ।

महोत्सव समापनको प्रमुख अतिथीमा गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङ आउने कार्यक्रम रहेको आयोजक सदस्य टीका पाईजाले जानकारी दिए । महोत्सवको उद्घाटन भने संघीय मन्त्री रविन्द्र अधिकारीले मंसिर १ गते गरेका थिए ।

महोत्सवको आठौँ दिन शनिवार उर्लिएको मानव सागरले यस क्षेत्रमै नयाँ कीर्तिमान स्थापित गर्न सफल भयो । तीन चार हजारको यताउता दर्शकहरु आउने गरेको महोत्सवमा शनिवार यति बिघ्न दर्शकहरु मेलामा ओईरिन्छन भन्ने कल्पना नगरिएको अवस्थामा पन्ध्र हजारको हाराहारीमा दर्शकहरु आउनु आफैमा रिकर्ड थियो । शनिवार बिदाको दिन परेका कारणपनि दर्शकहरुको संख्या ह्वात्तै बढेको हुन सक्छ ।

पुरुष/महिला भलिबल प्रतियोगिता आजको आकर्षण रहेको छ । सांगीतिक प्रस्तुति त महोत्सवको मुख्य आकर्षण भै हाल्यो । गायक गायिकाहरुको बेजोड प्रस्तुति बिना त कहाँ कुन महोत्सवमा यसरी दर्शकहरु झुम्मिएका हुन्छन र ! महोत्सवको आकर्षण (अर्थ)भनेकै सांगीतिक प्रस्तुति भन्ने मान्यता स्थापित भैसकेको अवस्था छ ।

बागलुङको बुर्तिवाङ, गल्कोट क्षेत्र र सिँगो बडीगाड गाउपालिका, छिमेकी जिल्ला गुल्मी वामीटक्सार, भुवाचिदी, पौँदी अमराई लगायतका दर्शकहरु खारबजार झरेका थिए । महोत्सवस्थलमा पाईला टेक्ने ठाउँ थिएन । महोत्सव स्थलमा राखिएका स्टलहरुमा शनिवार अघिल्ला दिनहरुको तुलनमा मानिसहरु केहि बढी नै देखिन्थे । बन्दव्यापार पनि राम्रै भएको विश्वास गरिएको छ । जबकी आयोजकहरुले मेलामा रु ३ करोडको कारोबार हुने यस अघि नै विश्वास व्यक्त गरिसकेका छन् ।

महोत्सव स्थलमा राखिएका स्टलहरुमा कृषि उपज आकर्षणको केन्द्र बनेको देखियो । झण्डै एक हात लामो मकैको घोँगा र डेढमान्छे अग्लो कर्कलाको बोट, कोक्रोमा झुन्डाईएको भीरमौरीको मह प्रति दर्शकहरुका आँखा केन्द्रित भएको देखिन्थ्यो ।

बडीगाडको प्रशिद्ध थानापति मन्दिर दर्शन, चमेरे गुफाको अवलोकन, तुरतुरे तालमा नौका बिहार, कुमाल जातिको लोपोन्मुख भनिएको हाम्फै नाँच लगायत सती घाटू र सोरठी नाँचको संरक्षण, महोत्सवमा बडीगाड खोलाका असला माछाको परिकार, रणसिँहको भीर मौरीको महको स्वादलाई लिएर आयोजकहरुबाट समीक्षा हुने नै छ ।

तस्वीर – दीपक पराजुली, बुर्तिवाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *