सकारात्मक कामको स्वागत र नकारात्मक गतिविधिको आलोचना गर्नु नै पत्रकारको मूल धर्म – आचार्य

किरण आचार्य, बागलुङ, २०७५ मंसिर ८ । नेपाल पत्रकार महासंघ बागलुङको एघारौँ साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभाको नेपाल पत्रकार महासंघ केन्दिय अध्यक्ष गोविन्द आचार्यले उद्घाटन गरेका थिए ।

उद्घाटन पछी बोल्दै अध्यक्ष आचार्यले पत्रकार सरकार स्थायी प्रतिपक्ष रहेको जिकिर गर्दै हामी संधै राज्यको प्रतिपक्ष र नागरिक अधिकारको पहरेदारको भूमिका निर्वाह गछौँ । सकारात्मक कामहरुको स्वागत गर्दै नकारात्मक गतिविधको आलोचना गर्नु नै हाम्रो मूल धर्म हो उनले भने । हामीले मुल धर्म निर्वाह गर्न सकेनौं भने न हामी पत्रकार रहन्छौं न हाम्रो पेशा पत्रकारिता नै रहन्छ उनको भनाई थियो ।

अध्यक्ष आचार्यले पछिल्लो समय सरकारले ल्याएको फौज्दारी कानुनमा पत्रकारलाई फसाउने प्रावधानको विरुद्धमा अहिले पनि पत्रकार महासंघ आन्दोलनमा रहेको बताए । सरकारले फौजदारी ऐनमा पत्रकारलाई अप्ठ्यारो पार्ने खालका प्रावधानहरु फिर्ता लिने प्रतिवद्धता गरे पनि अहिलेसम्म संशोधनका लागि नगएको उनले बताए । आचार्यले प्रेस पास वितरणका लागि स्वायत्त निकाय स्थापना गर्न समेत माग गरे । उनले पत्रकार महासंघको सदस्यता प्रदानका लागि पनि नागरिक सुनुवाई गरेर सदस्यता प्रदान गर्ने पद्धति बसाल्नुपर्ने बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद ईन्द्रलाल सापकोटा, प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हरिनारायण गौतम, पुण्य पौडेल, नेकपा जिल्ला संयन्त्र सदस्य ज्ञामनाथ गैरे, नागरिक समाजका संयोजक काजी गाउँले श्रेष्ठ, उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारी, पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढामगर, पत्रकार महासंघका पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, सल्लाहकार कोपिला कँडेल, सञ्चार उद्यमी प्रकाश पौडेल, पत्रकार ताराप्रसाद शर्माले मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभाले सचिव राम थापा अविरल र कोषाध्यक्ष विजय रानाको आर्थिक प्रतिवेदन पारित गरेको थियो । साधारण सभा पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीसका अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *