न्यूमोर्डन एकेडेमी बुर्तिवाङमा साहित्यिक भेटघाट तथा सम्मान कार्यक्रम !
साहित्य भाषाको सौन्दर्य पक्ष भएकाले साहित्यबाट नै समृद्धिको सपना देख्नुपर्छ – डा. पराजुली

लोकेन्द्र निरासी, बुर्तिवाङ २०७५ मंसिर ८ । बुर्तिबाङ स्थित न्यूमोर्डन एकेडेमीमा शुक्रवार साहित्यिक भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । एकेडेमीमा क्रियाशील विद्यार्थीहरुको समूह ज्ञानकुञ्ज मन्चको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाली समकालीन साहित्य विधाका सर्जक एवं साहित्यकार डाक्टर मुरारी पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथि साहित्यकार रुद्र ज्ञवालीको समेत विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पराजुलीले, साहित्य भाषाको सौन्दर्य पक्ष भएकाले साहित्यबाट नै समृद्धिको सपना देख्नुपर्ने बताए । साहित्य जीवन र सिङ्गो समाज परिवर्तनको महत्वपूर्ण माध्यम भएकाले साहित्य साधनाबाट नै जीवन सुन्दर बन्न सक्ने उनको ठहर थियो ।

बडीगाड महोत्सवले आयोजना गरेको साहित्यिक कार्यक्रममा आउने सिलसिलामा आफू पहिलो पटक बुर्तिबाङ क्षेत्रमा आउँदा निकै खुसी भएको भन्दै पराजुलीले यस क्षेत्रका स्रष्टाहरुलाई धन्यवाद दिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिले साहित्यिको महत्वलाई उजागर गर्दै रचना वाचन गरेका थिए । त्यसैगरी कार्यक्रममा यस क्षेत्रका साहित्यानुरागीहरु सुरज दीपशीखा, लोकेन्द्र निरासी, पूर्णपति कँडेल, पुरण पाण्डे, नरिश्वर घिमिरे, योगिन्द्र पुन लगायतले आफ्नो साहित्यिक रचना वाचन गरेका थिए । कार्यक्रममा एकेडेमीका शिक्षक शिक्षिका तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बुर्तिबाङ क्षेत्रमा साहित्यमा कलम चलाउने स्रष्टाहरुको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा न्यू मोर्डन एकेडेमीको प्रिन्सिपल दिपक कुँवरले प्रमुख अतिथि तथा विशिष्ट अतिथिलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । प्रिन्सिपल कुँवरले यस खालका साहित्यिक कार्यक्रमहरुले यस क्षेत्रका स्रष्टा र शिक्षक विद्यार्थीहरुमा समेत साहित्यिक क्षेत्रमा कलम चलाउन थप उर्जा मिल्ने बताउँदै राष्ट्रिय स्रष्टाहरुलाई एकेडेमीले सम्मान गर्न पाएकोमा खुसी व्यक्त गरे ।

न्यूमोर्डन एकेडेमीका प्रिन्सिपल कुँवरको अध्यक्षता र भाइस प्रिन्सिपल मिन बहादुर महतको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको संचालन ज्ञानकुञ्ज मन्चका संरक्षक उत्तम बहादुर महतले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *