सातौँ राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रमका साथ सम्पन्न : बढी आयकर तिर्ने चार संस्था सम्मानित !

रबिना बोहरा, बागलुङ, २०७५ मंसिर ७ । आन्तरिक राजश्व कार्यालय बागलुङले सातौँ राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गरी मनाएको छ । ‘कर समृद्ध नेपालः सुखी नेपालीको भर’ भन्ने नाराका साथ आयोजना गरिएको समापन कार्यक्रममा साबिकको धौलागिरि अञ्चलका ४ जिल्लाका करदातालाई सम्मान गरिएको छ ।

आर्थिक बर्ष २०७४/७५ मा बढी आयकर तिर्ने बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्था, मुस्ताङको निलगिरि डिस्ट्रीलरी उद्योग, म्याग्दीको कुमारी बहुउद्देश्यीय सहकारी संस्था र पर्वतको ब्रदर्श हार्डवयर एण्ड सप्लायर्सलाई सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै उच्च अदालत पोखरा बागलुङ इजलासका मुख्य न्यायाधीश शेषराज सिवाकोटीले करले नै देशलाई आर्थिक तथा भौतिक विकासमा अगाडी लैजाने भएकाले राज्यलाई कर तिर्न हिच्किचाउन नहुने बताए । कतिपय व्यापार व्यवसाय तथा संघ संगठनले भएको कारोबारलाई लुकाएर कर नतिर्ने भएपनि सम्मानित भएका संस्थाको सिको सबैले गर्नुपर्ने उनको भनाई थियो । मुख्य न्यायाधीश सिवाकोटीले प्रत्येक नागरिकले प्रदान गर्ने कर सही ठाउँमा सदुपयोग भए मात्रै नागरिक स्तरबाट स्वतस्फुर्त रुपमा कर तिर्ने वातावरण सिर्जना हुने बताए ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य निर्माणकुमार श्रेष्ठ, सिवाईसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा, मुस्ताङको निलगिरि डिस्ट्रीलरी उद्योगका बिष्णुराज हिराचन, म्याग्दीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष खुम्बबहादुर गर्बुजा र पर्वतको ब्रदर्श हाडवयर एण्ड सप्लायर्सका राजन जोशी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत हेमराज सुवेदीको अध्यक्षता र कर अधिकृत सुन्दर श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यालयले मंसिर १ देखि ७ गतेसम्म गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत प्रभातफेरी, करदाता शिक्षा, अन्तरक्र्रिया लगायतका कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *