बलेवा एकताको सहकारी शिक्षा तथा नेतृत्व विकास तालिम सम्पन्न !

सुमन जि.सी, बागलुङ, २०७३ फागुन २८ । बलेवा एकता बचत तथा ऋण सहकारी संस्था लि. नारायणस्थान–७ बागलुङको आयोजना र बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको प्राविधिक सहयोगमा १ दिने सहकारी शिक्षा तथा नेतृत्व विकास तालिम शनिवार सम्पन्न भएको छ ।

संस्थाले समिति, उपसमिति, कर्मचारी र शेयर सदस्यहरुलाई सहकारी सम्वन्धि ज्ञान, सिप, धारणा र आ–आफ्नो भूमिकाको वारेमा जानकारी दिने तथा संस्थाको संस्थागत र दिगो विकासका लागि सञ्चालक तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिमलाई सम्वोधन गर्दै प्रमुख अतिथी नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनका लेखा सुपरीवेक्षण समिति संयोजक दामोदर अधिकारीले सहकारी संस्थाका सञ्चालक समिति तथा उपसमितिलाई सहकारी सम्वन्धी आधारभुत ज्ञान, सीप र आफ्नो काम कर्तव्य अधिकारका बारेमा स्पष्ट जानकारी नहुँदा संस्थामा समस्या सिर्जना भईरहेको बताउदै संस्थाको दिगो विकास र प्रवद्र्धनका लागि शिक्षा तथा तालिमको निरन्तर आवश्यक रहने बताए ।

सोही क्रममा बोल्दै नेफ्स्कूनका सञ्चालक एवं जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जिल्लामा आफुले जे जान्यो त्यही नै सहकारी हो भन्ने प्रबृत्तिले सहकारी संस्थाहरु जोखीममा पर्दै गईरहेको बताउदै समय समयमा गरिने यस्ता तालिमले संस्थालाई जोखीमवाट मुक्त राख्ने धारणा व्यक्त गरे ।

संस्थाका अध्यक्ष दिपेन्द्र खड्काको अध्यक्षता उपाध्यक्ष भरत पौडेलको स्वागत र प्रवन्धक आशिस सुवेदीको सञ्चालनमा सम्पन्न तालिम कार्यक्रममा ४० जनाको उपस्थिती रहेको थियो । तालिम पश्चात उपस्थित सहभागिहरुले संस्थालाई बलेवा क्षेत्रको उत्कृष्ठ संस्था बनाई संस्थावाटै सम्पूर्ण वित्तीय तथा गैरवित्तीय सेवाहरु सञ्चालन गरी सदस्यहरुको आवश्यकता पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। तालिमको सहजिकरण नेफ्स्कुनका लेखा सुपरीवेक्षण समिति संयोजक अधिकारी र सञ्चालक पौडेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.