प्रवास मोना कतारको आठौ साधारण सभा सम्पन्न , अध्यक्षमा पौडेल सर्वसम्मत !

तेजेन्द्र गैरे, दोहा कतार २०७३ फागुन २८ । म्याग्दी प्रवासी संघ, राष्ट्रीय कार्यकारी समिति कतार (मोना कतार) को आठौ साधारण सभा सम्पन्न भएको छ । मोना कतारका अध्यक्ष किरण शाहीको अध्यक्षता तथा मोना प्रवासी म्याग्दी संघ अन्तर्राष्ट्रिय कार्यकारी समितिका क्षेत्रीय सचिव रेशम शाहीको प्रमुख आतिथ्यमा दोहाको भुईया रेस्टुराँ (नेपाली आगन) को सभा हलमा सम्पन्न भएको थियो ।

व्यानर अनावरण तथा दीप प्रज्वलन गरी सुरु भएको खुल्ला सत्रको कार्यक्रममा समाजका महासचिव तिलु शर्मा पौडेलको सञ्चालन तथा समाजका उपाध्यक्ष बालकृष्ण आचार्यको स्वागत मन्तव्य रहेको थियो ।

कतारमा म्याग्दीवासीहरुको पहलमा सन् २००३ मा “प्रवासी म्याग्देली दृष्टि, सम्वृद्ध म्याग्दीको सृष्टि” भन्ने मूल नाराका साथ स्थापित मोना कतारको सामाजिक संघ संस्थाहरुको सूचीमा छुट्टै पहिचान गराउन सफल संस्थाको रुपमा रहेको छ ।

केहि समय पहिले विश्व भर छरिएर रहेका म्याग्दीबासीहरुलाई एकताबद्ध गर्ने उद्देश्यका साथ प्रवासमा खोलिएका म्याग्दी सेवा समाजहरुको साझा संस्था रहने गरी म्याग्दी प्रवासी संघ अन्तर्राष्ट्रिय कार्यकारी समिति नामक संस्थाको स्थापना गरिएको हो । यसको मुख्य कार्यलय म्याग्दीको सदरमुकाम बेनी बजारमा रहेको छ ।

कार्यक्रमा गैर आवसिय नेपाली संघ राष्ट्रीय समन्वय समिती कतार, पर्वत युवा सेवा समाज , बागलुङ सेवा समाज, कास्की ,सुदुर पश्चिम , गुल्मी, पाल्पाली , अर्घाखाँची ,गोरखा ,तेह्रथुम , खोटाङ ,जलजला , दाङ देउखुरी , संखुवासभा सहित २५ भन्दा बढी सामाजिक जातिय ,साहित्यिक संघ संस्थाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थिति संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्दै म्याग्दी जिल्ला आफैमा प्राकृतिक सौन्दर्यताले भरिपुर्ण भएको र त्यसै माथी कला सांस्कृतिकको हिसावले पनी निकै धनी रहेको कुरा राख्दै समाजले कतारमा पनी कला सस्कृतिक , सामाजिक काम र खेलकुद क्षेत्रमा गरेको सहकार्य प्रशंसा योग्य रहेको बताए ।

कार्यक्रममा मोना कतारको १५(१७ कार्यकाल अवधीमा समाजका गतिविधिहरुमा सहयोग गर्ने समाजिक संघ सस्था, पत्रकार,खेलाडी ,कलकार र सहयोग दाताहरुलाई प्रमाण पत्र र खादाले सम्मान गरेको थियो । सम्मान हुनेमा पर्वत सेवा समाज , बागलुङ सेवा समाज , गुल्मी सेवा समाज ,कास्की आदर्श सेवा समाज रहेका छन ।

सो अवसरमा राजधानी साप्ताहिकका पत्रकार दिल कुमार श्रेष्ठ र कान्तिपुर साप्ताहिकका होम कार्कीलाई पनी सम्मान गरिएको थियो । साथै समाजले पूर्व अध्यक्षहरु प्रेम रसाइली , बिक्रम कार्की , नन्द प्रसाद गर्बुजा र रेशम शाहिलाई समाजको आजिवन सदस्यताको प्रमाण पत्र प्रदान गरेको थियो । समाजका महासचिव तिलु शर्माले प्रगति विवरण प्रस्तुत गर्दै समाजले कतारका विभिन्न सामाजिक संघ संस्थाहरु संग सहकार्य गरि कतार तथा नेपालमा भएका प्राकृतिक विपत्ति, शिक्षा ,स्वास्थ र यातायात जस्ता सामाजिक कामहरुमा सहयोग पुर्याउदै आएको प्रष्ट पारेकी थिईन । कार्यक्रममा मोना कतारको म्याग्दी दर्पण नामक पुस्तक र मोना कतारका केन्द्रिय सदस्य राजेन्द्र भण्डारीको म्याग्दी मोना शिरैमा नामक दोहोरो गीत विमोचन गरिएको थियो ।

पुस्तकमा कतारमा समाज स्थापना भएको मिती २००३ देखि २०१७ सम्मका सम्पूर्ण गतिविधि, जिल्लाका तस्वीरहरु लगायत विभिन्न जिल्लाका व्यक्तित्वहरुको लेख रचना समावेश गरिएको जानकारी दिदै यस पुस्तक प्रकाशनमा विज्ञापन, लेख आलेख सबै उपलब्ध गराउने तथा प्रत्यक्ष एवम अप्रत्यक्ष रुपमा सहयोग पुराउने सबैलाई म्याग्दी दर्पणका संयोजक बिक्रम कार्किले हार्दिक कृतज्ञता प्रकट गरेका थिए ।

साथै उक्त कार्यक्रमबाट कतार बसाईलाई बिटमार्दै स्वदेश फर्कन लाग्नु भएको उपाध्यक्ष बालकृष्ण आचार्यलाई बिदाइ तथा सम्मान गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि शाहीले संस्थालाइ अगाडि बढाउन विभिन्न राष्ट्रिय सांस्कृतिक कार्यक्रम, जनाचेतना मूलक क्रियाकलाप तथा कतार सरकारको अधिनमा रही विभिन्न सामाजिक गतिविधिहरू संचालन गरी मोना कतारलाई नमूना संस्थाको रुपमा चिनाउन विभिन्न कार्य सम्पादन गर्दै सस्थालाई अगाडी बढाउनु पर्ने कुरामा जोड दिदै अन्तर्राष्ट्रिय कार्यकारी समितिले थालेको ई लाइब्रेरी, मोना इन्भेस्टमेन्ट र म्याग्दी जिल्लामा फ्री वाईफाईको प्रोजेक्टलाई सघाउ पुर्याउने कुरामा मोना कतार तथा नव निर्वाचित कार्यसमिती अग्रसर बनोस भनि आग्रह तथा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको खुल्ला सत्रको समापन गर्दै कार्यक्रमका सभापति किरण शाहीले आफ्नो छोटो कार्यकाललाई सफल रुपमा अवतरण गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिदै नयाँ आउने कार्यसमितिलाई शुभकामना दिदै कार्यक्रम समापन गरेका थिए ।

आठौ साधरण सभाबाट रमेश पौडेलको अध्यक्षतामा १७ सदस्यीय कार्य समितिको निर्विरोध गठन भएको छ । वरिष्ठ उपाध्यक्ष तिलु शर्मा पौडेल, प्रथम उपाध्यक्ष चित्र बहादुर चोखाल, व्दितीय उपाध्यक्ष मिन बहादुर कार्की, महासचिव राजु पौडेल, सचिव तारा क्षेत्री, सचिव राजेन्द्र भण्डारी, कोषाध्यक्ष रमेश कुमार शर्मा, सह(कोषाध्यक्ष मिन बहादुर नेपाली र सदस्यहरुमा सपना पुन, देबिन्द्र गर्बुजा, बिनोद शेरपुर्जा, राम बहादुर घर्तिमगर, थम कुमार गिरि, रेशम परियार, भुमिश्वर सापकोटा रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.