फलेवास आसपासका गृहिणीहरुलाई कम्प्यूटर सिक्न हतार !

माधव पराजुली, पर्वत २०७३ पुस २१ । पर्वत खानीगाउँकी प्रमिला परियारलाई हिजोआज छोराछोरी स्कुल पठाएपछि झन् हतार हुन्छ, कारण हो आफू कम्प्युटर सिक्न जानका लागि । ३५ वर्षिया परियारलाई विदेशमा रहेका श्रीमानसँग कुराकानी गर्न कम्प्युटरबाट मिल्छ भन्ने थाहा पाएकाले पनि कम्प्युटर सिक्न झन् रहर लागेको हो ।

ढिलै भए पनि सिक्नु पाएकोमा उनी खुशी छिन । विद्यालय जाने छोराछोरीलाई अब आफै सिकाउने उनको योजना छ । अर्की कम्प्युटर सिकारु माया लामिछाने भन्छिन, ‘चौबिसै घण्टाको घरधन्दा र चुलोचौको कामभन्दा धेरै फरक अनुभव भएको छ ।’

उनीहरु जस्तै फलेबास क्षेत्रका अरु गृहिणी महिलाहरु हिजोआज कम्प्युटर सिक्न खानीगाउँमा रहेको मोति सामुदायिक पुस्तकालयमा पुग्ने गरेका छन् । पुस्तकालयले विवाहित गृहिणी महिलालाई नि:शुल्क कम्प्यूटर सिकाउन थालेपछि घर धन्दा सकेर महिलाहरु पुग्ने गरेका हुन् ।

पुस्तकालयले ग्रामीण क्षेत्रका महिलाहरुलाई प्रविधिसँंग परिचित गराई सीप र प्रविधियुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यले पुस्तकालयमै गृहिणी महिलालाई निशुल्क कम्प्यूटर शिक्षा दिन थालेको हो ।

पुस्तकालयका संरक्षक भोलानाथ शर्मा आजको जमानामा जो सुकैको जीवन सफल बनाउन पनि कम्प्युटर सहयोगी हुने भएकाले यसबारे आधारभूत ज्ञान दिन यस्तो अवधारणा अघि सारिएको बताउछन । आधुनिक प्रवृधिमा गृहिणीहरुको खासै पहुँच नपुगेकाले यो सिकाइले उनीहरुको बाहिरको कुरामा जानकारी राख्ने र पुस्तकालयमा पुगेर अध्ययन गर्ने बानी बस्ने अपेक्षा शर्माको छ ।

गृहणी महिलाहरु आधुनिक प्रविधिवाट निकै पछाडी परेको बेला राज्यको विभिन्न निकायमा महिला सहभागिता बढाउन महिलाको क्षमता बृद्धि गर्न पुस्तकालयले चालेको नयाँ कदमलाई धेरैले सकारात्मक भनेका छन् । कम्प्युटर सिक्नका लागि फलेवास आसपासका एकसय जनाभन्दा बढी महिलाहरु सहभागी हुने गरेका छन् । बिहानको घरधन्दाको काम सकिएपछि बिहान ११ बजेदेखि ३ बजेसम्म कम्प्युटर कक्षा दिने गरिएको छ । यो कक्षा लिन आएका महिलाहरुको लगाव र जाँगर रहर लाग्दो रहेको त्यहाँ पुग्नेहरुको भनाइ छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.