बरखी फाल्ने र पुत्र बढाई एकै दिन गर्ने, अर्गल (ताराखोला)को भुस पोल्ने पर्व !

बालकृष्ण सुबेदी, गल्कोट अर्गल २०७५ कात्तिक २६ । बागलुङ मौलिक संस्कृतिले भरिपूर्ण जिल्ला हो । जिल्लामा बसोवास गर्ने जातजातिका आआफ्नै संस्कृति रहेका छन् । कतिपय जाजतातिका परम्परागत महत्वका पर्व तथा संस्कृति अझै पनि जीउँको तिउँ देख्न सकिन्छ ।

ताराखोला गाउपालिकाको साबिक अर्गल गाउँ विकास समितिमा वसोवास गर्ने मगर समुदायको भुस पोल्ने पर्व पनि हाल सम्म जिवितै रहेको छ । करिब ९० प्रतिशत मगर समुदाय बसोबास गर्ने अर्गल गाउँको भुस पोल्ने पर्वले आफ्नै बिषेशता बोकेको छ ।

अर्गल गाउँमा बसोवास गर्ने पुलिसा, ओसासा र नाओसा थरका घर्ति मगरको पहिचान र सभ्यताको रुपमा उनिहरुले भुस पोल्ने पर्व मनाउदै आएका छन् । प्रत्येक पर्व कात्तिक २४ गते देखि २६ गते सम्म यो पर्व मनाउने परम्परा रहेको छ ।

पाल्पाको अर्गली भन्ने ठाउँबाट बसाई सरी आएका घर्ती मगरहरुको भुस पोल्ने पर्व महत्वपूर्ण मानिन्छ । यस अवसरमा अर्गली मगर समुदायमा बर्षभरी मृत्य भएका सदस्यका परिवारमा २६ गतेनै बरखी फाल्ने कार्यक्रम हुनेगर्छ र पुत्र बढाई कार्यक्रम सुरु गरिन्छ । यस अवसरमा मानिसको मृत्यु र जन्म संस्कार, मौलिक संस्कृती गोपिचन गित सहित एकै पटक गर्ने गरिन्छ

भुस पोल्ने पर्व अन्तरगत ऐतिहांसिक शंखुबारीमा विधिवत भुस पोल्ने गरिन्छ । १६ औ शताब्दीमा पाल्पाको अर्गलीबाट अर्गलमा वसाई सरी आएका आफ्ना पुर्खाले सोही दिनमा खोरीया फांडेको सम्झनामा ऐतिहांसिक कालदेखिनै यो पर्व मनाउन थालिएको स्थानीय सूर्य घर्तीले बताए ।

२४ गते अर्गली मगर समुदायले शखुबारीमा घामको झुल्को संगै बिहान ९ बजे विधिवत पुजाआजा गरी भुस पोलेका थिए । कहिले देखि भुस पोल्न थालिएको हो भन्ने बारेमा एकिन जानकारी नभएपनि पुर्खाको प्रचलन अनुसार आफुहरुले पनि निरन्तरता दिएको पत्रकार संगम घर्तीको भनाई छ ।

यसैगरी २४ गते बेलुका वर्षभरी दिंबगत भएका अर्गली मगरको घरबाट होलादास चलाउने प्रचलन रहेको स्थानियले जानकारी दिएका छन् । मृतकको मावल र माईती अथवा ससुरालीमा होलादास पुर्याउने प्रचलन रहेको छ ।

होलादासमा चामल, मासु जस्ता खाद्य परिकार समावेश गरिन्छ । उक्त होलादाश बेलुका यतिकै राख्ने र भोलिपल्ट सबै दाजुभाई जम्मा भएर बांडेर खाने गरिन्छ ।

२६ गते अर्गली मगर समुदायमा मृत्यु भएकाहरुको बर्खी फाल्ने र पृति कार्य गर्ने गरिन्छ । त्यो दिन मृतकको घरमा रातभर जाग्राम बस्ने गरिन्छ । उनिहरुको चलन अनुसार ३ दिन अघि सम्म निधन भएको भएपनि २६ गते बरखी फालेपछि मरेपछि गरिने सबै संस्कार सकिने गर्दछ । तर २६ गते भन्दा पछि निधन भएमा एक वर्ष भरी बरखी बार्नु पर्ने हुन्छ ।

बरखी फाल्ने र पुत्र बढाई संग सम्वन्धित गोपीचन नांच पनि उनिहरुले मृतकको घरमा र छोरो जन्मेको घरमा नाच्ने गर्दछन ।

पौराणिक कालमा मणिचन भन्ने राजाको छोरा गोपिचन जन्मेको दिन मणिचन राजा मरेपछि जन्म र मरणको संस्कार एकै पटक मनाउनको लागी यो नाँच नाँच्ने उनिहरु बताउछन । बर्षभरी जन्मेका जेठा छोराको मात्र पुत्र बढाई गर्ने गरिन्छ ।

२६ गते पुर्खाहरुले खेति गरेको सम्झनामा शखुबारीमा छापे खन्ने र पुजाआजा गरी हिउँदे अन्नवालीको खेति सुरु गरिन्छ । दिउसो ४ बजेको समयमा शंखुघरमा पूजा आजा गरि शंखुबारीमा छापे खन्ने गहुँ,जौ छर्ने गरिन्छ । अबिबाहित युवा युवतीले बारी नसकुन्जेल सम्म नरोकी खन्ने गर्दछन भने बिबहितहरुले बिऊ छर्ने गर्दछन । अन्तिममा युवा र युवती बिच कोदालो तानातान गर्ने र जसले आफुतिर तान्छ उसैको जीत हुने गर्दछ ।

पन्ध्रौँ शताब्दीदेखि सुरु भएको मानिने यस पर्वलाई अर्गलमा उत्सवकै रुपमा लिने गरिएको छ । पर्वको प्रवद्र्धनका लागि एक दशकदेखि स्थानीय अर्गल खेलकुद विकास मञ्चले पहल लिएको छ। मञ्चकै आयोजनामा बर्से्िन कात्तिक महिनामा ‘भुस पोल्ने पर्व’ लाई फेरिँदो रुपमा मनाउन सुरु गरिएको हो । मगर बाहुल्य रहेको अर्गलका अन्य समुदायको समेत सक्रियतामा भुस पोल्ने पर्वको उत्थानमा टेवा पुगेको मञ्चले जनाएको छ।

युवा पुस्ताको पलायनले गर्दा हाम्रा कतिपय मौलिक सस्कृति र परम्परा लोप हुन लागेको अबस्थामा अर्गलमा भने युवा युवतीहरु यस पर्वको संरक्षणमा लागी परेको महसूस गर्न सकिन्छ । मारुनी नाँच्ने ,नौमती बाजा बजाउने देखि छापे खन्ने लगाएतका कार्यहरुमा युवा युवती उत्साहका साथ संग्लग्न हुने गरेका छन । जसको कारण यो पर्व परम्पराले निरन्तरता पाएको विश्वास गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *