प्रशंगवस : यस्तो छ, पौँदेलीहरुको न्वागी मेला(पर्व)को नालीबेली !

खारबजार (बागलुङ) २०७५ कात्तिक २५ । ग्वालिचौरको खारबजारमा पौँदेलीहरुको न्वागी मेला (पर्व) सुरु हुन अब केहि दिन मात्र बाँकी छ । न्वागी खाने उत्तम दिन मंसिर १ गते निश्चित गरिएपनि कुन समय र कुन दिशा तिर फर्केर न्वागी खाने भन्ने शुभ साईतकोे भने टुंगो लागि सकेको छैन । गत वर्ष २०७४ सालमा पनि न्वागी खाने दिन मंसिर १ गते नै निस्केको थियो । समान्यतया न्वागी खाने उत्तम दिन मंसिर महिनाको १ देखी ४ गते भित्र पर्दछ तर खाने शुभ समय र फर्कने दिशा भने फरक फरक हुने गरेको विगतले देखाएका छ ।

गत वर्षको न्वागी मेलामा लत्ता कपडा रेडिमड वस्त्रहरु विक्री गर्दै व्यापारीहरु ।

पौँदेलीहरुको न्वागी मेला (पर्व) यस क्षत्रमै चर्चित छ । यसको धार्मिक, साँस्कृतिक एवं आर्थिक महत्व छ । न्वागीलाई पौँदेलीहरुले पहिचानको रुपमा लिन्छन् । न्वागी पौँदीबासीको मुख्य अन्नबाली घरमा भित्र्याएको खुसीयालीमा मनाईने उत्सव पनि हो र यसलाई यस क्षेत्रको व्यापार मेला भनेपनि फरक खान्न । न्वागी खाने मेला (पर्व)ले प्रशिद्धी पाएको खारबजार पौँदेलीहरुको मात्र नभएर यस आसपासमा रहेका स्थानीबासीहरुको व्यापारिक केन्द्र पनि हो ।

बागलुङमा लाग्ने चैतदशैँ मेलामा तत्कालीन अवस्थामा भारतका सीमावर्ती क्षेत्रबाट समेत दर्जनौँ व्यापारीहरु आएर व्यापार व्यवसाय गरेझैँ खारबजारमा हुने न्वागी मेलामा पनि यसैगरी टाढाटाढा देखी व्यापारीहरु आउने र बन्द व्यपार गर्ने प्रचलन थियो । शनै:शनै: यो प्रचलन हराउदै गएको हो । स्थानीय र आसपासका व्यापारीहरुकै मेलामा बाहुल्यता रहदै आएको छ ।

गत वर्ष (२०७४) सालको न्वागी मेलमा उर्लिएको जनसागर ।

पौँदेलीहरुले मुख्य खाद्यान्न बाली धान भित्र्याई सकेपछि उत्तम साईतमा एकै दिन एकै समय निश्चित गरिएको दिशातिर फर्किएर नयाँ जडन धानको चामल दहीमा भिजाएर केरा, चीनी (मह) तिल, सिलाम आदिको मिश्रणबाट तयार गरिएको स्वादिष्ट न्वागी खाने परम्परा रहिआएको छ । न्वागी मेला (पर्व) लाई पौँदेलीहरु सानो दशैँ को रुपमा लिन्छन् । न्वागी खाएपछी मात्र नयाँ धान प्रयोग गर्ने, किनबेच गर्ने गरिन्छ । न्वागी नखाएसम्म नयाँ धानकोे चामल खाने, विक्री गर्ने कसैलाई ऐँचो पैँचो दिने लिने गरिन्न ।

न्वागी खाने दिन पौँदेलीहरुले आफ्ना नातागोता, इष्टमित्र, मान्यजन, धानखेत नहुनेहरुलाई पनि निम्ता गरेर न्वागी खाने खुवाउने प्रचलन रहेको छ । न्वागी मेलामा कृषकहरुले उत्पादन गरेका नगदे, हिउँदे, बाली, बेमौसमी तरकारी लगायतका उत्पादनहरुको प्रदर्शनी गर्ने गरिन्छ । भलिबल लगायत विभिन्न खेलकूद प्रतियोगिता, स्थानीय नौमती बाजा, सोरठी भैलो लगायत लोक कलाकारहरुको सांगीतिक प्रस्तुती हुने गर्दछ । सामन्यतया तीन चार दिनमै सम्पन्न हुने न्वागी मेला पछिल्लो समय खेलकूद प्रतियोगिता र बेजोड साँगीतिक प्रस्तुतिले गर्दा ६।७ दिन सम्म लम्बिने गरेको छ ।

गत वर्ष (२०७४) को न्वागी मेलामा कृषि प्रदर्शनीमा राखिएको तरकारी फलफुल ।

झण्डै ५ सय वर्ष देखी खारबजारमा पौँदेलीहरुको विशेष पर्व न्वागी मनाईदै आएको श्रुतिस्मृति रहेको छ । तत्कालीन अवस्थामा पौँदी भित्र गुल्मीको नेटा, अमराई, ग्वालिचौर अनि जलजला पर्दथे । पौँदीबाट केहि वर्ष पहिले जलजला अलग भएको हो । २०३२ सालमा नेपाल अधिराज्यको संविधान संशोधन पछी गुल्मी जिल्लाका तत्कालीन ग्वालिचौर, दगातुन्डाँडा, जलजला, पाण्डबखानी, रिघा गाउँपन्चायतहरु बागलुङ जिल्लामा गाभिएका हुनाले बागलुङमा लाग्ने पौँदेलीहरुको न्वागी पर्व भन्न थालिएको हो ।

बागलुङ जिल्लाको साबिक ग्वालिचौर र गुल्मी जिल्लाको साबिक नेटा, अमराईबासीहरु मात्रले न्वागीलाई विशेष पर्वको रुपमा मनाउदै आएका छन् । पौँदेलीहरुले बाहेक बागलुङ जिल्लाका अन्य भागहरुमा सामान्यरुपमा नयाँ चामलको न्वागी खाने गरिन्छ । जिल्लाको अधिकांश भागमा यस वर्षको न्वागी खाई सकिएको छ ।

पौँदी क्षेत्रका बयोबृद्ध समाजसेवी ग्वालिचौर निवासी ८५ वर्षिय थानेश्वर घिमिरेका अनुसार गुल्मी अमराई स्थित छत्रकोटको निर्णय अनुसार पौँदैलीहरुको न्वागी खाने शुभ दिन तय गरिन्छ । यस वर्षको न्वागी खाने शुभ दिन मंसिर १ गते निस्केको भएपनि न्वागी कुन समयमा कुन दिशा फर्केर खाने भन्ने समयसारिणी तय भैसकेको छैन । मुठ्ठी लिने (धानकाट्ने)दिन भने कात्तिक ९ गते निस्किएको थियो ।

बयोबुद्ध समाजसेवी ग्वालिचौर निवासी ८५ वर्षिय थानेश्वर घिमिरे

बयोबृद्ध समाजसेवी घिमिरेलाई हामीले सोधेका थियौ, ‘न्वागी खाने शुभ दिन र साईत कसरी निकालिन्छ ?’ उनको जवाफ थियो, ‘छत्रकोटमा पण्डित, पुरोहित पूर्व पुजारी, भद्रभलाद्मी भेला भएर गरेको निर्णयानुसार मुठ्ठी लिने (धान काट्ने) न्वागी खाने दिन एवं समय र कुन दिशा फर्किएर खाने भन्ने तय गरिन्छ । वडा दशैँको फुलपाती देखी पुजारीहरु (भट्टराई र गौतम ब्राह्मणहरु) दुर्गाको उपासनामा बस्छन् । नवमीको दिन दुर्गालाई बलि चढाईन्छ । यस पछी कोटबाट टीकाको साईतको पत्र सहित ग्वालिचौर स्थित थानापति मन्दिर र सिद्ध मन्दिरमा धजा प्रसाद पठाईन्छ र आलमलाई विधिवत पूजा गरिन्छ । कुन समयमा कुन दिशा फर्केर न्वागी ग्रहण गर्ने भन्ने साईतको पत्र (जानकारी) कोटबाट अन्तिम समयमा आउने प्रचलन रहेको छ ।’ उनले ३ सय वर्ष पहिले सम्म पौँदेलीहरु जम्मा ८० कुरिया रहेको श्रुतिस्मृति पनि सुनाएका थिए ।

थप जानकारी लिन हामीले समाजसेवी घिमिरेलाई प्रश्न गयौँ, ‘कोटको पूजा विधिबारे पनि बताई दिनु हुन्छ कि ?’ समाजसेवी घिमिरेका अनुसार ‘छत्रकोट भूमि (मन्दिर)मा घिमिरे, घर्ती, आचार्य र थापाहरुले पालैपालो पूजा गर्छन् । घिमिरे र घर्ती एक साल र आचार्य र थापाले अर्को साल गरी पालै पालो कोटमा पूजा गर्ने चलन रहेको छ । त्यस्मा पुलामी मगरले कोटको पूजा सामाग्रीको व्यवस्थापन गर्नु पर्छ । यसरी ५ जातहरुको समन्वयबाट कोटमा पूजा गरिन्छ ।’

ग्वालिचौरका अर्का समाजसेवी एवं छत्रभूमि संरक्षण विकास प्रतिष्ठानका सदस्य तथा पौँदी न्वागी मेला संरक्षण समितिका संंरक्षक कृष्ण बहादुर घिमिरेका अनुसार पौदीवासीहरुको धार्मिक तथा आस्थाको धरोहरको रुपमा रहेको यस छत्रभूमि मन्दिरलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रयास भएको छ ।

छत्रकोट (छत्रभूमि कोट) मन्दिर
घिमिरेका अनुसार मुसिकोट नगरपालिका – १ पौदीअमराई स्थित छत्रकोट (छत्रभूमि कोट) मा फुलपाति भित्राएपछी बसेको छत्रभूमि संरक्षण विकास प्रतिष्ठानको साधारण सभाले हरिबहादुर थापाको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको छ । स्मरणीय छ, थापा विगत २०४३ साल देखी अध्यक्ष पदमा आसीन छन् उनकै पालामा कोट मन्दिरको पुननिर्माण गरिएको हो । उनले भने, ‘न्वागी मेला यस क्षेत्रको धार्मिक साँस्कृतिक मात्र नभएर ठुलो व्यापारिक मेला पनि हो । मेलामा लाखौँको कारोबार हुने गरेको छ ।’

न्वागी मेला (पर्व) को संरक्षण एवं व्यवस्थापनका लागी न्वागी मेला संरक्षण समिति छ । तर, यसै संरक्षण समितिका अध्यक्षकै अध्यक्षतामा सोहि समितिका सचिव सहितका पदाधिकारी रहेको ‘बडीगाड संस्कृति प्रवर्धन केन्द्र, नामक संस्था दर्ता गरेर सोहि केन्द्र मार्फत बडीगाड महोत्सव एवं न्वागी मेला आयोजना हुन गैरहेको अवस्थामा सयौँ वर्षको ईतिहास एवं पौँदेलीहरुको पहिचान बनेको न्वागी मेलालाई केन्द्रको मातहतमा ल्याएर न्वागी मेला (पर्व)गौण बनाउने तारतम्य मिलाईएको आशंका अधिकाँश पौँदेलीहरुमा उब्जिएको छ । यसलाई लिएर पौदेलीहरु ‘ओल्लो घरका नरे पल्लो घर सरे’ भनेर व्यंग्य कस्ने गरेपनि महोत्सवको सफलता भने सुनिश्चित छ । किनकी, बडीगाडकै ईज्जत संग जोडिएको महोत्सव सफल पार्न सम्पूर्ण बडीगाडवासी डोलिएर होम्मिनु पर्ने हेक्का सबैमा छ । महोत्सव सफल पार्नु सबै बडीगाडबासी तथा आसपासका जनताको प्रमुख दायित्व हो भन्ने वास्तविकता सबेले बुझेका छन् ।

आशा गरौ, धेरै वर्ष देखी न्वागी मेलाको संरक्षण, सम्वर्धन तथा व्यवस्थापनको नेतृत्व गर्दै आएका पाका व्यक्तिहरुबाट न्वागी मेला (पर्व)को मान मर्दन हुनेछैन । अस्तु,

यी लिंक पनि पढौं

पौँदेलीहरुको न्वागी मेला खारबजारमा सम्पन्न

पौंदेलीहरुको यस वर्षको न्वागी खाने साईत मंसिर १ गते !

प्रशंगवस : प्रथम बडीगाड महोत्सव ‘बडीगाडमय’ बनोस् !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *