शुभेक्षा एफएम प्रति जैमिनी नगरपालिका किन यति पूर्वाग्रही ?
नगरपालिकाका नकारात्मक कुराहरु प्रशारण नगर्नु मिलिमतो भएको वक्ताहरुको आरोप !

कुस्मीसेरा (बागलुङ) २०७५ कात्तिक २१ । बागलुङ जिल्लाको दक्षिण भेगको व्यापारिक केन्द्र मानिने कुस्मीसेरा स्थित शुभेक्षा एफएमले आफ्नो पहिलो वार्षिकोत्सव कात्तिक २० गते विशेष कार्यक्रमको आयोजना गरी मनायो । कार्यक्रमका प्रमुख अतिथी जैमिनी नगरपालिकाका नगरप्रमुख ईन्द्रराज पौडेलले वार्षिकोत्सव कार्यक्रमको उद्घाटन लगत्तै कार्यव्यस्तता देखाएर सुरुमै छोटो मन्तव्य राखेर कार्यक्रमबाट बाहिरिएका थिए । नगरप्रमुख पौडेलले मिडिया प्रति आफु सकारात्मक रहेको बताउदै सहयोगको आश्वासन दिएका थिए ।

नगरपालिकाका नगरप्रमुख पौडेल, उपप्रमुख लिला राना र नवागत प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्मालाई सम्मानित गर्ने कार्यक्रम रहेकोमा उपप्रमुख राना र प्रमुख प्रशासकीय अधिकृत शर्मा कार्यक्रममै अनुपस्थित रहेर एफएम प्रति उपेक्षा गरेको भन्दै आयोजकले दुख मनाउ गरेका थिए ।

वार्षिकोत्सव कार्यक्रमको अध्यक्षता गरिरहेकी शुभेक्षा मिडिया प्रालिकी अध्यक्ष एवं स्टेशन म्यानेजर सन्ध्या आचार्यले उहाँहरु संग दुई दिन पूर्व नै सहमति लिएर सम्मान गर्ने कार्यक्रम राखिएको बताउदै विहान सम्म कुस्मीसेरामै रहनु भएका उहाँहरु कार्यक्रममा अनुपस्थित रहँदा कार्यक्रम नै खल्लोे महसूस भएको ईबागलुङलाई बताईन् । आर्थिक हिसाबले कमजोर देखिदैमा मिडियालाई कमजोर सोचेर बेवास्ता गरिनु अत्यन्तै दुःखको कुरा भएको उनको धारणा थियो ।

एफएमका प्रवन्धक सुजन प्रेमीले जैमिनी नगरपालिकाका नवआगन्तुक प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्मालाई सम्मान तथा स्वागत गर्ने कार्यक्रम रहेको भएपनि उहाँ उपस्थित नभएपछि नगरपालिकाले आफुहरुलाई उपेक्षा गरेकाले आफुलाई दःख लागेको बताए ।

कार्यक्रमका सहभागीहरुले नगरपालिकाको सञ्चार माध्यमलाई हेर्ने दृष्टिकोण नै फरक पाइएको भन्दै सम्मान लिनसम्म आनाकानी गरिनु मिडिया प्रतिको उपेक्षा भएको बताएका थिए । उनिहरुले एफएमले नगरपालिकासंगको मिलिमतोमा नगरपालिकाका कतिपय नकारात्मक कुराहरु प्रशारण नगरेकोमा असन्तुष्टी समेत जनाएका थिए ।

आफ्नो मन्तव्यका क्रममा शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रुद्र प्रसाद शर्मा आचार्यले नगरपालिकाले गरेका कतिपय कार्यहरु जनताको चित्त बुझ्दो नभएकाले शुभेक्षा एफएमले यसको खोजतलास र प्रचार नगरेको भन्दै नगरपालिकासंग मिलिमतोमा नगरपालिकाका गल्ती ढाकछोप गर्न सहयोग गरेको आफुलाइ शंका लागेको आरोप लगाए । आफुले अरुहरुबाट पनि सो कुरा सुनेको भन्दै आचार्यले सार्वजनिक सुनुवाइ समेत नभएकोप्रति मिडिया नै दोषी हुनसक्ने धारणा ब्यक्त गरे ।

नेपाली काँग्रेस जैमिनी नगर संयोजक काशिराम आचार्यले मिडिया निश्पक्ष र निडर हुनुपर्ने भन्दै नगरपालिकाको आजको व्यवहार आफूलाई मन नपरेको बताए । शुभेक्षा एफएमले अब जनताको आवाज बोल्नुपर्ने उनको भनाई थियो।

राष्ट्रिय जनमोर्चाका नगरसमिती संयोजक डिल बहादुर श्रीसले नगरपालिकाले सम्मान समेत लिन नचाहनु दुःखदायी भएको बताएका थिए ।
जैमिनी नगरपालिका वडा नं २ का वडाध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले नगरपालिकाले यस्तो हर्कत देखाउनु गलत भएको भन्दै नगरपालिकाबाट आफुपनि पीडित भएको दुखेसो पोखेका थिए । उनले नगरपालिकाको आजको गतिविधीबाट नगरपालिकाको नराम्रो संदेश जाने बताए ।
जैमिनी नगरपालिकाका निमित्त प्रमुख (शिक्षा उपसचिव) खेम आचार्यले नगरपालिकाको तर्फबाट आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

शान्ति मा बि श्रोतकेन्द्रका श्रोतव्यक्ती विष्णु प्रसाद सापकोटाले शुभेक्षा एफ एमले शिक्षालाई पनि प्राथमिकता दिनुपर्ने भन्दै प्रत्यक विद्यालयसम्म पुग्नका लागि अनुरोध गरेका थिए ।

सो अवसरमा एफएमले नियमित श्रोताका रुपमा प्रवीण आचार्य, असल विज्ञापनदाताका रुपमा शिर्षक वेकरी उद्योगका शिव तथा सिर्जना भण्डारी, नियमित विज्ञापनदाताका रुपमा ट्वीन्स खाजा घरका भीम क्षेत्री तथा शकुन्तला क्षेत्रीलाई रेडियो दिएर सम्मान गरेको थियो ।

एकातिर जैमिनी नगरपालिकाका पदाधिकारीहरुबाट शुभेक्षा एफएम प्रति उपेक्षा भाव प्रदर्शन गर्नु अर्कोतिर बक्ताहरुले नगरपालिकासंगको मिलिमतोमा नगरपालिकामा भएका अवैध कृयाकलापको पर्दाफास नगरेको भनेर एफएमप्रति आरोप लगाउनुले शुभेक्षा एफएमले दोहोरो मार खेपीरहनु परेको श्रोताहरुले बताएका छन् ।

निर्वाचन सम्पन्न भएपछी नगरपालिकाले एक पटक पनि सार्वजनिक सुनुवाई कार्यक्रम नगर्नुले जैमिनी नगरपालिका कछुवा गतीमा दौडिरहेको नगरबासीले टिप्पणी गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *