शहरी विकास तथा भवनको नयाँ कार्यालयको प्रजिअ खरेलद्वारा उदघाटन !

कोपिला कँडेल, बागलुङ २०७५ कात्तिक १८ । बागलुङ सदरमुकाम स्थित शहरी विकास तथा भवन निर्माण बिभाग डिभिजन कार्यालय बागलुङ संघीय संरचना अनुसार प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास तथा भवन कार्यालय गण्डकी प्रदेश बागलुङमा रुपान्तरित भएको छ ।

नयाँ कार्यालयको आज प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले कार्यालयको साईन बोर्ड तथा बृक्षारोपण गरी उद्घाटन गरेका छन् ।

उद्घाटन पछि बोल्दै प्रजिअ खरेलले संघिय संरचना अन्तर्गत नयां कार्यालय स्थापना संगै कार्यालयवाट प्रभावकारी सेवा प्रदान गर्न आग्रह गरे । नयां संरचना सहित कार्यालयबाट प्रवाह हुने सेवा पनि छिटो छरितो र उत्कृष्ट हुनुपर्नेमा उनको जोड थियो । नयां संरचना निर्माण संगै राष्ट्र सेवक कर्मचारीको सोच र चिन्तन पनि नयां हुनुपर्ने चर्चा गर्दै प्रमुख जिल्ला अधिकारी खरेलले कार्यालयबाट हुने जनता आवास लगयतका बिभिन्न कार्यक्रमका लागि आफ्नो तर्फबाट पनि अनुगमन अवलोकन लगायतका कार्यक्रममा सहयोग गर्ने बताए ।

कार्यक्रममा सहरी विकास तथा भवन कार्यालय बागलुङका प्रमुख सचिन्द्र कुमार देवले साविकको कर्यालयबाट भएका पुराना कार्यक्रम नटुङ्गिएसम्म केही अन्योलता सृजना भएपनि नयां कार्यालयबाट प्रवाह हुने गतिबिधिमा कुनै कमी आउन नदिने प्रतिवद्धता व्यक्त गरे ।

नयां संरचना निर्माण संगै अहिले जिल्लामा ११ करोड ३५ लाख बराबरको कार्यक्रम आएको भन्दै कार्यालयका प्रमुख देवले कार्यालयबाट प्रवाह हुने सह लगानीका कार्यक्रमलाई गाउ तथा नगरपालिका सम्म पुर्याउने जानकारी दिए। उनले नयां कार्यालय स्थापना भएपछि कर्मचारीहरुले पनि नयां तरिका र जोस जागरका साथ काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा जलश्रोत तथा सिचाई बिकास डिभिजन कार्यालयका प्रमुख खगेन्द्र भट्टचन र उपभोक्ता मञ्च बागलुङ्गका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम शहरी विकास तथा भवन कार्यालय बागलुङ्गका प्रमुख सचिन्द्र देबको अध्यक्षता, कार्यालयका ईञ्जीनियर तेजेन्द्र शर्मा पौडेलको स्वागत मन्तब्य र नायब सुब्बा बद्री गौतमको संचालनमा सम्पन्न भएको थियो ।

साविक शहरी विकास तथा भवन निर्माण बिभाग डिभिजन कार्यालयले हेर्दै आएको ठुला आयोजनाहरु अब संघीय आयोजना कार्यान्वयन ईकाईले गर्ने बुझिएको छ । नयाँ कार्यालयमा केन्द्रबाट सिधै कुनै बजेट नआउने र पोखरा स्थित प्रदेश सरकारबाट प्राप्त जिम्मेवारीमात्र कार्यान्वयन गर्नु पर्ने छ । हाल जिल्लामा सन्चालित करोडौका आयोजनाहरु प्रदेश सरकारको संघीय आयोजना कार्यान्वयन ईकाईले गर्ने बताईएको छ ।
तस्वीर- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *