२६ बुँदे शैक्षिक तथा पेशागत मागहरु समावेश गरिएको ज्ञापन पत्र प्रस्तुत !
नेपाल शिक्षक महासंघव्दारा बागलुङका सबै दश पालिकाहरुमा धर्ना, २ घण्टा कामकाज ठप्प !

लोकेन्द्र निरासी, बुर्तिवाङ २०७५ कात्तिक १६ । नेपाल शिक्षक महासंघले आज बागलुङ जिल्लाका सबै दश स्थानीय पालिकाहरुमा २ घण्टे धर्ना कार्यक्रम सहित २६ बुदे माग पत्र बुझाएको छ । नेपाल शिक्षक महासंघ केन्द्रिय समितिको चरणबद्ध आन्दोलनका कार्यक्रम अन्तरगत आज देश व्यापी रुपमा स्थानीय पालिकामा धर्ना सहित ज्ञापन पत्र बुझाइएको हो ।

देशव्यापी रुपमा स्थानीय पालिकामा बुझाउन महासंघले तयार पारेको उक्त २६ बुँदे माग पत्रमा विगतमा सरकार र शिक्षक एवं महासंघबीच भएका सम्झौताहरु कार्यान्वयन गरिनु पर्ने, स्थायी, अस्थायी, राहत लगायत सबै खालका शिक्षकका समस्याहरु समाधान गरिनु पर्ने, शिक्षक सेवा आयोगलाई संबैधानिक बनाइनु पर्ने, निजामती कर्मचारी सरह सेवा सुविधा बृद्धि गरिनु पर्ने, शिक्षकका सेवा सुविधा, तलबभत्ता, निवृत्तिभरण लगायतका विषयमा केन्द्र सरकारको दायित्व लिनुपर्ने, संघ र प्रदेशको शिक्षा नियमावली बनी नसकेको अवस्थामा स्थानीय पालिकाहरुले आफूखुसी नियमावली बनाएर शिक्षक नियुक्ति, सरुवा लगायत ठाडो शैक्षिक हस्तक्षेपलाई बन्द गरिनुपर्ने, शिक्षकका सेवा सुविधामा वृद्धि गरि राष्ट्रिय मर्यादाक्रममा शिक्षकलाई राखिनु पर्ने लगायतका शैक्षिक तथा पेशागत मागहरु समावेश गरिएका छन् ।

नेपाल शिक्षक महासंघले ३ महिने चरणवद्ध संघर्ष र आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

ढोरपाटन नगरपालिकाको कार्यालयमा महासंघका जिल्ला सदस्य दुर्गा बहादुर भण्डारी सहितको शिक्षक प्रतिनिधिहरुले धर्ना सहित नगरपालिकाका उपप्रमुख करमती पुन तथा प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेललाई उक्त ज्ञापन पत्र बुझाएको छ । महासंघका सदस्य भण्डारीले ज्ञापन पत्र पढेर सुनाएका थिए ।

नगर प्रमुख देव कुमार नेपाली कार्यालयको कामले बाहिर गएकाले उपप्रमुख करमती पुन र प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेललाई ज्ञापन पत्र बुझाएपछि शिक्षक प्रतिनिधिहरुले दिउँसो १ बजेदेखि ३ बजेसम्म नगरपालिका सम्पूर्ण प्रशासनिक कामहरु ठप्प पार्दै धर्ना दिएका थिए । उक्त कार्यक्रममा नगरपालिका विभिन्न विद्यालयका शिक्षक तथा क्रियाशील शिक्षक संघ संगठनका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

यस्तै निसीखोला गाउँपालिकामा पनि गाउँपालिकाको कार्यालयमा ज्ञापन पत्र बुझाइएको छ । महासंघले देशव्यापी रुपमा स्थानीय पालिकामा बुझाउने गरि तयार पारेको राष्ट्रिय मागपत्र सहित स्थानीय तहमा देखिएका ६ बुदा थप मागहरु सहितको ज्ञापनपत्र पत्र निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यलाई बुझाइएको छ ।

धर्ना कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनबाट प्रेमराज पौडेल, एकीकृत अखिल नेपाल शिक्षक संगठनका हुतराज भुषाल, नेपाल शिक्षक संघका मान बहादुर के.सी अखिल नेपाल शिक्षक संघका नबराज आचार्य लगायतका शिक्षकहरु उपस्थिति रहेको बताइएको छ ।

यस्तै, बडीगाड गाउँपालिकाको कार्यालयमा पनि त्यहाँ स्थित स्थानीय शिक्षकहरुले गाउँपालिकाको कार्यालयमा माग पत्र बुझाउँदै दुई घण्टा धर्ना दिएका थिए । शिक्षक महासंघले तयार पारेको माग पत्र बडीगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप चन्द्र सुवेदीलाई बुझाइएको छ ।

+++

यसैवीच गल्कोटबाट सहकमकर्मी चन्द्रमणि न्योपानेले दिएको जानकारी अनुसार नेपाल शिक्षक महासंघद्वारा आयोजित देशब्यापी धर्ना तथा बिरोध कार्यक्रम अन्तर्गत गल्कोट नगरपालिका सिक्षकहरुले गल्कोट नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन ।

गल्कोट नगरपालिकाका सहायक प्रसासकिय अधिकृत अर्जुन शर्मालाइ आफ्नो मागपत्र बुझाउदै नेपाल शिक्षक महासघ केन्द्रिय सद्स्य पुष्कर शर्माले शिक्षक सबै राष्ट्रका सेबक भएकाले राज्यले कुनै प्रकारको विभेद नगरिदिन आग्रह गरे ।

नेपाल शिक्षक संघ जिल्ला कार्य समिति बागलुङका सचिब हेमराज गैरले सबैकाले सामुदायिक बिद्यालयका शिक्षकहरुलाइ राज्यले समान व्यवहार गर्नुपर्ने बताए। गैरेले शिक्षक आफै एकजुट भयर पेसागत सुरक्षाको लागि लाग्नुपर्ने भनाइ राखे । नेपाल राष्ट्रिय शिक्षक संगठन गल्कोट नगरपालिका अध्यक्ष राम बहादुर खत्रीले शिक्षकको सेबासुबिधाको लागि राज्य जिम्मेवार हुनुपर्ने, शिक्षक राजनितिमा नलागेर आफ्नो क्षमता बढाएर एक भयर अघि बध्नुपर्ने, सिक्षक सेवा आयोगलाइ संबैधानिक बनाउनुपर्ने भनाइ राखेका थिए । भने नेपाल शिक्षक महासंघ मागप्रति यज्ञबधता जनाउदै हातेमालो गरेर आगाडी बढ्ने एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन गल्कोट नगरपालिका अध्यक्ष चुडामणि सुवेदीको भनाइ थियो । त्यस्तै अखिल नेपाल शिक्षक संघ गल्कोट नगरपालिकाकी सचिब सुनमया ढकालले अन्तरास्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने खाल्को सिक्षा नीति निर्माण हुनुपर्ने बताइन। धर्ना तथा बिरोध कार्यक्रममा गल्कोट नगरपालिका विभिन्न संघ तथा संगठनमा आवद्ध ६० जना सिक्षक सहभागी थिए ।

कार्यक्रम एकीकृत अखिल नेपाल शिक्षक सगठन जिल्ला समन्वय समिती बाग्लुङका सचिब वीर बहादुर चोखालको संचालनमा सम्पन्न भयको थियो । महासंघले बिगतमा भएका महासघ र सरकारबिछ भएका सम्झैता कार्यनयन गर्नुपर्ने, निवृत्त शिक्षक र सबै स्थायी शिक्षकको निवृत्तिभरण, उपदान र औषधोपचार खर्च संघीय सरकारले गर्नुपर्ने, विद्यालय कर्मचारीको तहगत दरबन्दी सिर्जना गरी सोहीअनुसार पारिश्रमिक निर्धारण गर्नुपर्ने, राहत शिक्षकलाई स्थायी दरबन्दीमा रुपान्तर गर्नुपर्नेलगायत माग राखेर आन्दोलन गरिरहेको छ ।

+++
उता बडीगाड गाउपालिकाबाट सहकर्मी कमल पौडेलले जनाए अनुसार सरकारले आफ्ना माग पुरा नगरेको भन्दै बडीगाड गाउँकार्यपालिकाको कार्यलयमा शिक्षकहरुले धर्ना दिएका छन्। नेपाल शिक्षक महासंघ बडिगाड को आयोजनामा अधिकार र कर्तव्यको लागि सम्पूर्ण शिक्षक एवं विद्यालय कर्मचारी एक हौं भन्ने नारासहित विरोध तथा धर्ना दिएका हुन्।

सो कार्यक्रममा बोल्दै नेपाल शिक्षक महासंघ तदर्थ समिति बागलुङका सहसचिव जित वहादुर थापाले शिक्षकहरुलाई तह लगाएर गुणस्तर वढाउने सपना नदेख्न सरकारलाई चेतावनी दिनुभएको छ। थापाले स्थानिय तहले जारी गरेको शिक्षा नियमावलीले संविधानलाई नै अवमुल्यन गरेको आरोप लगाउनु भएको छ। केन्द्र तथा प्रदेशमा शिक्षा ऐन नवन्दै स्थानिय पालिकाले वनाएको भन्दै असन्तुष्टि पोख्नुभएको हो।

नेपाल शिक्षक महासंघले आज देशैभर स्थानिय तह कार्यालयमा धर्नाको लागि शिक्षकहरुलाई आह्वान गरेको थियो। महासंघले असोज १६ गते देखि प्रचार प्रसार गरेको र कार्तिक १६ गते देखि १ महिना विभिन्न चरणमा आन्दोलनको घोषणा गरेको छ। सरकारले समय समयमा गरेका सम्झौता समेत कार्यान्वयन नगरेको भन्दै २६ वुँदे माग सहित आन्दोलनमा गएको हो। नेपालमा ५७ हजार भन्दा वढि अस्थायी, ३८ हजार भन्दा वढि राहत, ३६ हजार भन्दा वढि वालविकास केन्द्रका सहजकर्ता र ६४ हजार भन्दा वढि स्थानिय श्रोतमा तलवभत्ता खाने शिक्षकहरु कार्यरत छन्। अस्थायी शिक्षकहरुको लागि स्थायी प्रक्रिया चलिरहेको भए पनि अन्यको लागि सरकारले कुनै व्यावस्था गर्न सकेको छ्रैन। शिक्षकहरु लामो समयदेखि आन्दोलन गर्दै आएका छन्।

यसै विच नेपाल शिक्षक महासंघ मुसिकोट नगरपालिकाको आयोजनामा विरोध तथा धर्ना कार्यक्रम नगरकार्यपालिकाको कार्यालय वामी टक्सारमा गुल्मीमा सम्पन्न भएको छ। सो कार्यक्रममा नेपाल शिक्षक महासंघका जिल्ला सहसचिव रामकृष्ण कंडेलले निजामति कर्मचारीलाई तह लगाउन नसक्ने अनि आफैलाई शिक्षा दिएका गुरुहरुलाई अपमानित गर्दै जथाभावि नवोल्न राज्य संचालकहरुलाई चेतावनी दिनुभएको छ। राज्यले माग पुरा नगरे सम्म आन्दोलन नरोकिने भन्दै सवै शिक्षक जाग्ने वेलाआएको वताउनु भएको छ।

कार्यक्रममा नेपाल शिक्षक महासंघका जिल्ला सदस्य रामचन्द्र सापकोटा, नेपाल राष्ट्रिय शिक्षक संगठन गुल्मीका अध्यक्ष ज्ञानहरी सापकोटा, नेपाल शिक्षक संघ गुल्मीका उपाध्यक्ष मृगेन्द्र रिजाल, लगाएतले वोल्नु भएको थियो। शिक्षकहरुको टोलीले मुसिकोट नगरपालिकाका निमित्त नगरप्रमुख प्रकाश काफ्ले र शिक्षा विभाग प्रमुख अमर थापा लाई केन्द्रले जारी गरेको २६ वुँदे मागपत्र समेत वुझाएको थियो। कार्यक्रम नेपाल शिक्षक महासंघ मुसिकोट नगरपालिकाका अध्यक्ष राम वहादुर थापाको अध्यक्षता तथा नेपाल शिक्षक महासंघ मुसिकोट सचिव सरोज वौद्धचार्यको संचालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *