बुर्तिवाङ राईजिङ युवा क्लबको सोह्रौँ वार्षिकोत्सव : सप्ताहव्यापी कोजाग्रत दशैँ पूर्णिमा मेला आरम्भ !

झरना कँडेल, बुर्तिवाङ २०७५ कात्तिक ७ । बागलुङ जिल्लाको निसीभूजी क्षेत्रमै चर्चित एवं बेसब्रीका साथ प्रतिक्षा गरिने कोजाग्रत पूर्णिमा मेला आज देखी बुर्तिवाङ बजारमा सुरु हुँदैछ । बुर्तिवाङ राईजिङ युवा क्लबको वार्षिकोत्सवका अवसरमा बिगत १६ वर्ष देखी सन्चालन हुँदै आएको कोजाग्रत दशैँ पूर्णिमा मेलाको रौनकताले बुर्तिवाङ बजारमा उष्णता उत्पन्न भएकोे छ । चहलपहल बढेको छ । खेलाडीहरुको जमघटले जोश जाँगर ल्याएको छ । एक शव्दमा भन्ने हो भने बुर्तिवाङमा यस बखत उमंग छाएको छ ।

बिगत वर्षहरुमा क्लबले कोजाग्रत पूर्णिमा मेलालाई फोकस गर्दै आएकोमा पछिल्लो समय क्लबले जनचेतजामुलक, रचनात्मक सामाजिक कार्यहरुप्रति ध्यानाकृष्ट गर्न सुरु गरेकोमा यसलाई सरोकारवालाहरुले सकारात्मक रुपमा लिएको पाईएको छ ।

बुर्तिवाङ राईजिङ युवा क्लबले आफ्नो बार्षिकोत्सवका अवसरमा सन्चालन गर्दै आएको कोजाग्रत दशैँ पूर्णिमा मेला महोत्सवकै रुपमा सम्पन्न हुँदै आएको छ । क्लबले मेलामा विशेषगरी खेलकूद एवं स्थानीय कला संस्कृतीको प्रवर्धनमा चासो राख्दै आएको छ ।

क्लबले १६ औँ बार्षिकोत्सव एवं कोजाग्रत पूर्णिमा मेला २०७५ को एक महिना अगावै देखी तयारी सुरु गरेको छ । गत असोज १० गते पत्रकार सम्मेलन गरी मेलाको तयारी बारे जानकारी गराएको थियो ।

क्लबका अध्यक्ष सोमबहादुर पौवीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एक हप्ते कार्यक्रम संचालन गर्ने गरी विभिन्न १६ वटा कार्यक्रम खेलाउने र ३० लाख ५१ ह्जार ६ सय ६६ रुपैया बराबरको आम्दानी र खर्च अनुपातमा रहनेगरी कार्यक्रमलाई सम्पन्न गर्ने तयारी रहेको जानकारी दिईएको थियो ।

पत्रकार सम्मेलनमा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत रु ८८ हजार ८ सय ८८ राशीको प्रथम, रु ५५ हजार ५ सय ५५, राशीको दोश्रो र रु ३३ हजार ३ सय ३३ राशीका तृतिय पुरस्कार राखिएको जानकारी दिईएको थियो ।

यसैगरी महिला भलिबल प्रतियोगिता तर्फ रु ४० हजार, २५ हजार र १५ हजार पुरस्कार राशि राखिएको छ भने, ३५ हजार, २० हजार र १० हजार राशिको सेभेन ए साईड खुल्ला फुटवल प्रतियोगिता, १५ हजार, ९ हजार र ६ हजार पुरस्कार राशिको लोकदोहरी गीत, प्रथम १० हजार व्दितिय ५ हजार र शान्त्वना १५/१५ सय पुरस्कार राशिको साविकको पश्चिमाञ्चल स्तरीय मेन्स सिंगल, २५ हजार, १५ हजार र सान्त्वना पुरस्कार ३/३ हजार राशिको मेन्स डवल र क्रमश खसी, भाले र पोंथी पुरस्कार राशिको वि–डवल ग्रुप लोकल व्याडमिन्टन प्रतियोगिता हुने भएको आयोजकले जनाएको छ ।

त्यस्तै क्लबले दिएको जानकारी अनुसार २० हजार, १० हजार र ५ हजार प्रथम व्दितीय र तृतीय पुरस्कार राशिको खुल्ला ग्रुप डान्स, १५ हजार, ५ सय ५५, १० हजार ५ सय ५५ रुपैया प्रथम र व्दितीय पुरस्कार राशिको पञ्चेवाजा प्रतियोगिता, सहित खुल्ला सिंगल डान्स, रस्सा कस्सा, स्लो वाईक रेश, पुरुष महिला छेलो, कृषि प्रर्दशनी, ५० बर्ष माथिका नागरिकका लागि म्युजिकल चियर प्रतियोगिता, सरांय नाच, झांकि प्रदर्शनी, हाजिर जवाफ प्रतियोगिताको आयोजना गरिएको छ ।

गत वर्षको पुरुष एवं महिला भलिबल प्रतियोगिता क्रमश मणि मुकुन्द टीम बुटवल तथा पाण्डवखानी महिला टीमले प्रथम स्थान प्राप्त गरेका थिए । अन्य कार्यक्रमहरु पनि शान्तिपूर्वक सम्पन्न भएका थिए । दिनभरी विभिन्न खेलकुद प्रतियोगिता सन्चालन गरिएको थियो भने सन्ध्या एवं रात्रिकालीन समयमा सांगीतिक प्रस्तुतिले बुर्तिवाङ बजार तातेको थियो ।

यसवर्ष क्लबले सार्वजनिक गरेको पर्चामा राखिएका कलाकारहरुका तस्वीरहरुले बेजोड सांगीतिक प्रस्तुतीले बुर्तिवाङ बजार तात्ने निश्चित प्राय: छ । स्थानीयबासीहरु भने मनोरन्जनका नाममा सांगीतिक प्रस्तुती अश्लील नबनोस भनेर आवाज उठाई रहेका छन् । अश्लीलता प्रदर्शन बर्जित गरिनु पर्ने स्थानीयको माग रहेको छ ।

बार्षिकोत्सव तथा कोजाग्रत पूर्णिमा मेलाको पछिल्लो अपडेटका बारेमा ईबागलुङ सहकर्मी टीकाराम भट्टराईले बुर्तिवाङ राईजिङ युवा क्लबका अध्यक्ष पौवीसंग गरेको कुराकानीमा उनले यस पालीको मेलामा सरायँ नाच आदि केहि नयाँ किसिमका कार्यक्रमहरु समावेश गरिएको जानकारी दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *