घुम्टे युवा परिवारद्वारा विभिन्न धार्मिक स्थलहरुमा सोलार सेट सहयोग !

गल्काेट २०७५ असाेज ३१ । गल्काेट नगरपालिका ७ मल्म घुम्टे युवा परिवारको आयोजनामा बडा दशैं, शुभ दीपावली र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम बुधवार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै गल्कोट नगरपालिका वडा नं ७ का अध्यक्ष तथा संस्थाका सल्लाहकार संयोजक सुवेदार टिका बहादुर थापाले समाज रुपान्तरणमा युवा जागरण महत्वपुर्ण हुने बताउदै अहिलेको कार्य समिति सामाजिक कृयाकलापमा सकृय भएकोमा खुशी व्यक्त गरे । उनले थप रचनात्मक कार्यहरु अगाडी बढाउन सुझाव समेत दिए ।

सो अवसरमा उपस्थित सम्पुर्णले एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले महान चाडहरुले सामाजिक एकता सदभाव र समृद्विको निमित्त सबै एकजुट हुनु पर्नेमा जोड दिए । साथै पछिल्लो समय संस्थाले गरेको प्रगतिको प्रशंसा समेत गरे ।

कार्यक्रममा संस्थाका कार्य समिति पदाधिकारी, सल्लाहकार, जनप्रतिनिधि, राजनैतिक दल, समाजसेवी, बुद्विजीवी, युवा, संस्थापक सदस्यहरु, आजीवन सदस्यहरु, साधारण सदस्यहरु, कलाकार, खेलाडी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अवसरमा घुम्टे युवा परिवार जापान शाखाको आर्थिक सहयोगमा गलकोट नगरपालिका ७ भित्रका ४ धार्मिक स्थलहरुमा जडान गरिएका सोलार सेटहरुको वडा अध्यक्ष थापाले उदघाटन गर्नुभएको छ । युवा पण्डित रामचन्द्र गौतमले स्वस्तिक वाचन गरि पूजा अर्चना गरि विधिवत रुपमा उदघाटन गरि सेवा सुचारु गरिएको छ ।

झण्डै १ लाखको लागतमा मल्मको बामिया स्थित युगेश्वर शिव शक्ति मन्दिर, सप्ताहघाटको कोट मन्दिर, नाच्नेडाॅडा गुफाको सिद्वेश्वर शिवालय मन्दिर र झिर्का नेटाको शिवालय मन्दिरमा ४० वाट क्षमताको सोलार सेट असोज २६ र २७ गते जडान गरिएको थियो । धार्मिक स्थलमा उज्यालो प्रदान गर्न र पुजा अर्चना गर्न थप सहजताको निम्ति सोलार सेट प्रदान गरिएको घुम्टे युवा परिवार जापान शाखाका अध्यक्ष दिल बहादुर थापा रामुले जानकारी दिए । विभिन्न सामाजिक कार्यहरुलाई अगाडी बढाउने क्रममा धार्मिक पर्यटनको विकास प्रवर्दन गर्नको निमित्त यसले महत्वपुर्ण योगदान गर्ने जापान शाखाका सचिव दिनेश थापाले बताए । शुभकामना आदान प्रदान कार्यक्रम सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षता र सचिव सावित्री थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *