बागलुङमा दशैँ र तिहारको मौकामा एक अर्ब रुपयाँको हाराहारीमा रेमिट्यान्स भित्रिने विश्वास !

बागलुङ २०७५ असोज २८ । दशैँ तिहार चाडपर्व नजिकिए सँगै मनिट्रान्सफर एवं अन्य बित्तिय संस्थाहरुमा मानिसहरुको चाप निकै बढेको छ । बैदेशिक रोजगारीमा गएका जिल्लावासीहरुले दशैँ तिहारमा घरखर्च चलाउनका लागि पठाउने रेमिट्यान्स (विप्रेषण) रकम लिन मनिट्रान्सफर र अन्य वित्तिय संस्थाहरुमा मानिसहरुको भीड देखिएको हो ।

गल्कोट हटिया बजार स्थित श्रेष्ठ मनिट्रान्सफर ।
अन्य समय भन्दा दशैँ तिहारको बेला रेमिट्यान्स रकम दोब्बरले बढ्ने मनिट्रान्सफर सन्चालकहरुले बताएका छन् । जिल्ला मनिट्रान्सफर संघका अध्यक्ष एवं बागलुङ मनिट्रान्सरका सन्चालक दुर्गा कुँवरले बागलुङ जिल्लामा अहिले दिनमा रु ६ करोड भन्दा बढी रेमिट्यान्स भित्रिने गरेको बताए ।

बागलुङ मनिट्रान्सरका सन्चालक दुर्गा कुँवर
तपाईँको आफ्नै बागलुङ ट्रान्सफरबाट कति कारोबार हुने गरेको छ त ? भन्ने प्रश्नमा अध्यक्ष कुवँरले अघिपछी भन्दा यस बेला दिन दिनमा ४० लाखको हाराहारीमा कारोबार भैरहेको जानकारी दिए । कुँवरका अनुसार बागलुङ सदरमुकाममा सयपत्री, कालिका, क्वीक, बागलुङ कालिका लगायत बैंकहरुबाट पनि रेमिट्यान्स कारोबार भैरहेकोले सदरमुकाममा दिनमा ३ करोड रेमिट्यान्स भित्रिरहेको छ भने जिल्लाको गल्कोट र बुर्तिवाङ बजारमा समेत राम्रै अंकमा रेमिट्यान्स भित्रिने भएकाले जिल्लामा दिनमा सरदर ६ करोड रेमिट्यान्स भित्रिने विश्वास गरिएको उनले बताए ।

कालिका मनिट्रान्सफरका संचालक अनुप रिजाल
कालिका मनिट्रान्सफरका संचालक अनुप रिजालले दशैँको मौकामा रेमिट्यान्स रकम बढेको छ तर गत वर्ष जस्तो रेमिट्यान्स यस वर्ष नभित्रिएको बताए ।

सयपत्री मनिट्रान्सफर
यस्तै सयपत्री मनिट्रान्सफरका स्टाफ देबु पोडेलका अनुसार दशैँको चहल पहल सुरु भएपछी सयपत्रीमा दिनहुँ रु २५ देखी ३० लाखको हाराहारीमा रेमिट्यान्स कारोबार हुने गरेको जानकारी दिए ।

उद्योग बाणिज्य संघ गल्कोटका अध्यक्ष वीरेन्द्र श्रेष्ठ
गल्कोट हटिया बजार स्थित मनिट्रान्सफरहरु एवं बैंकहरुमा आउने रेमिट्यान्स रकम दशैको समय निकै उच्च रहने उद्योग बाणिज्य संघ गल्कोटका अध्यक्ष एवं घुम्टे तथा श्रेष्ठ मनिट्रान्सफरका सन्चालक वीरेन्द्र श्रेष्ठले ईबागलुङलाई बताए । अध्यक्ष श्रेष्ठका अनुसार गत असोज २६ गतेमात्रै गल्कोटमा रु ८५ लाख २२ हजार ३ सय २१ रेमिट्यान्स भित्रिएको छ ।

उता बुर्तिवाङ बजारमा रहेका बैँकहरु र विश्वास, ढोरपाटन, विश्वकर्मा मनिट्रान्सफहरुमा पनि दशैँको पूर्व सन्ध्यामा रेमिट्यान्स रकम आउने क्रम ह्वात्तै बढेको उद्योग बाणिज्य संघ बुर्तिवाङ ईकाईका अध्यक्ष तथा विश्वास मनिट्रान्सफरका सन्चालक चिन्तामणी शर्माले ईबागलुङलाई जानकारी दिए ।

उद्योग बाणिज्य संघ बुर्तिवाङ ईकाईका अध्यक्ष चिन्तामणी शर्मा
अध्यक्ष शर्माका अनुसार दशैको समयमा यस क्षेत्रमा झण्डै रु २ करोडको हाराहारीमा रेमिट्यान्सको कारोबार हुने गरेको छ । उनले आफ्नै मनिट्रान्सफरमा अघिपछी भन्दा यस समयमा दिनको २०/२५ लाख रुपयाँ रेमिट्यान्सको कारोबार हुने बताए ।

जिल्लाका व्यापारिक केन्द्रहरुमा मात्र नभएर ग्रामिण ईलाकाहरुमा समेत मनिट्रान्सफर सन्चालनमा रहेका र केहि सहकारी संस्थाहरुले पनि रेमिट्यान्सको कारोबार गर्ने भएकोले जिल्लामा भित्रिने रकमको अंक अझै बढ्ने विश्वास गरिएको छ ।

स्मरणीय के छ भने, केहि मनिट्रान्सफर सन्चालकहरुले रकम भुक्तानी लिन आउने सेवाग्राहीहरुबाट हाकाहाकी केहि थप रकम कमिशन लिने गरेका समाचारहरु प्रकाशमा आईरहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *