सरुवा भएको कार्यालयमा हाजिर हुन नजानु पछी अधिकारीको के छ रहस्य ?
बसपार्क ठेक्का प्रकरणमा आर्थिक चलखेल: बोलपत्र मुल्यांकन तथा सिफारिस समिति नै दोषी !

बागलुङ २०७५ असोज २३ । बागलुङ नगरपालिका वडा नं ४ मा निर्माणाधीन बसपार्कको निर्माण कार्यमा भएको ढिला सुस्तीलाई लिएर नगरबासीले गम्भीर चिन्ता व्यक्त गरेका छन् । नगरविकास कोषको ऋण सहयोगमा बसपार्क निर्माण गरिने समाचारले खुशी बनेका नगरबासीहरु एक्कासी बसपार्क निर्माण प्रक्रिया आर्थिक चलखेलबाट प्रभावित बनेको रहस्य सार्वजनिक भएपछी उनिहरु आक्रोशित बनेका हुन् । बसपार्क निर्माण प्रक्रिया सुरु गरिएको १३ वर्ष पछी अब त बन्छ बसपार्क भन्ने विश्वास गरिएको अवस्थामा बोलपत्र मुल्यांकन एवं सिफारिस समितिकै गद्दारीका कारण बोलपत्र प्रक्रियानै बिबादमा परेपछी जनप्रतिनिधी, समाजेसेवी, बुद्धिजीवी, आम नगरवासीले व्यापक असन्तुष्टी जनाएका छन् ।

बागलुङ नगरपालिका कार्यालय र नगर विकास कोष (रु ९ करोड ४ लाख ऋण सहयोग) को संयुक्त लगानीमा निर्माण हुन लागेको सो आधुनिक एवं व्यवस्थित बसपार्क निर्माण गर्न बागलुङ नगरपालिकाले मिति २०७५ साल बैशाख २६ गते प्रकाशित गरेको सूचना अनुसार म्याद भित्र पर्न आएका सुनकोशी वल्र्डवाईड जुम्ली जेभी, गजुरमुखी श्रृंखला आचार्य जेभी, देव एण्ड सागर बंगलामुखी बीएन जेभी र आशिष फेवा जेभीले पेस गरेका चार बोलपत्रहरु मध्य दुई बोलपत्रहरुलाई सिस्टममा नपरेको भनी पक्रियामै समावेश नगरी देव एण्ड सागर बंगलामुखी बीएन जेभी र आशिष फेवा जेभीले पेस गरेका बोलपत्रहरु प्राविधिक मुल्यांकनमा सफल भएको भनी २०७५ साल साउन ६ गते बागलुङ नगरपालिकाको कार्यालय रातामाटामा बोलपत्र खोलिने व्यहोराको सरोकारवालाहरुको नाममा मिति २०७५ साल असार २९ गते पत्राचार ग-यो ।

बोलपत्र आव्हानको सूचनामा बैँक भौचर वा नगद बुझाएको रसिद पेश गर्नु पर्ने प्रावधान रहँदा रहँदै बागलुङ नगरपालिकाको बोलपत्र मुल्यांकन तथा सिफारिस समितिले नगरपालिका कार्यालयमा नगद रु १०,००० । बुझाएको रसिदलाई नियतवस मान्यता नदिई गजुरमुखी श्रृंखला आचार्य जेभीको बोलपत्रलाई सिस्टममा नपरेको भनी बोलपत्र मुल्यांकन प्रक्रियामै समावेश गरेन भने अर्को सुनकोशी वल्र्डवाईड जुम्ली जेभीलाई प्राविधिक मुल्यांकनमा सफल नभएको भनी पक्रियामा समावेश गरेन ।

पहिले नै आशिष फेवा जेभी फर्मसंग अति सन्निकटता बनाएका नगरप्रमुख एवं बोलपत्र मुल्यांकन तथा सिफारिस समितिका सदस्यहरुले, पेश भएका चार बोलपत्रहरु मध्य सबै भन्दा कम अंक गजुरमुखी श्रृंखला आचार्य जेभीको भएको र देव एण्ड सागर बंगलामुखी बीएन जेभीको आशिष फेवा जेभी भन्दा बढी अंक भएको चर्चाका आधारमा गजुरमुखी श्रृंखला आचार्य जेभीको फर्मले पेश गरेको बोलपत्रलाई कसरी प्रतिष्पर्धाबाट हटाउने भन्ने षडयन्त्रको तानाबाना बुनेर नगरपालिका कार्यालयमा नियमानुसार राजश्व रकम बुझाएको नगदी रसिदलाई मान्यता नदिएर दिनमै रात पार्ने घटना सार्वजनिक भएसंगै लाखौँ रकमको चलखेल भएको व्यापक चर्चा बाहिर आएको हो ।

बागलुङ नगरपालिका कार्यालयको माथी उल्लेखित व्यहोराको बोधार्थ प्राप्त गर्दा साथ मिति २०७५ साल असार ३१ गते नै गजुरमुखी श्रृंखला आचार्य जेभीका तर्फबाट प्रकाश आचार्यले बोलपत्र फाराम दस्तुर रु १०,००० । कार्यालयमा नगदै बुझाई फारम खरीद गरी बोलपत्र पेस गरेकोमा उक्त रकम राजश्व खातामा जम्मा नगरिएको भनी बोलपत्र मुल्यांकनमा समावेश नगरिएको भन्ने व्यहोराको उजुरी प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालयमा दिए ।

सार्वजनिक खरिद अनुगमन कार्यालयबाट, यसमा के भएको हो तीन दिन भित्रमा यथार्थ जानकारी गराउनु हुन र तहाँ सो फर्मले नियमानुसार रु १०,०००। नगदै दाखिला गरेको भए उक्त रकम सम्वन्धित राजश्व खातामा जम्मा गर्ने दायित्व तहाँ कार्यालयको हुने हुँदा सो दाखिलाको प्रकृया पुरागरी बोलपत्रमा समावेश गर्न सकिने व्यहोरा समेत यस कार्यालयको मिति २०७५।०५।०७ को निर्णयानुसार ध्यानाकर्षण गराईएको छ भन्ने व्यहोराको बागलुङ नगरपालिका कार्यालयको नाममा चनं १६० को पत्र पठाएपछी मुल्यांकन तथा सिफारिस समितिको कन्चटमा चीटचीट पसिना आएको छ भने बागलुङ नगरपालिकाका उपप्रमुख र अधिकांश वडाध्यक्षहरु सहित नगरकार्यपालिका सदस्यहरुले यस गलत कार्यको खुलेर बिरोध जनाई रहेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालयको निर्देशनात्म आदेशको बर्खिलाप जाने हिम्मत बोलपत्र मुल्यांकन तथा सिफारिस समितिलाई कहाँबाट आयो ? सार्वजनिक खरिद अनुगमन कार्यालयको आदेश अनुसार गजुरमुखी श्रृंखला आचार्य जेभीलाई किन बोलपत्रमा समावेश गराईएन ? नगर प्रमुख एवं प्रमुख कार्यकारी अधिकृतले यसबारे अबिलम्ब सार्वजनिकरुपमा मुख खोल्नुपर्ने अवस्था सिर्जना भएको छ ।


नगरपालिकाको बोलपत्र मुल्यांकन तथा सिफारिस समितिका एक जना सदस्य बागलुङ नगरपालिकाका बरिष्ठ योजना तथा प्रशासकीय अधिकृत युक्त प्रसाद सुवेदीले मिति २०७५ साल असोज १५ गते सुनकोशी वल्र्डवाईज जुम्ली जेभीको नाममा च नं ४८६ को पत्र प्रेषित गरी … बागलुङ बसपार्क निर्माण कार्यको लागि राखिएको बिड बण्ड एमाउन्ट ….को म्याद २०७५।०६।२० सम्म रहेकोमा सो कार्यको लागी ९० दिन बिड वण्ड पिरियड थप गरी यस कार्यालयमा पेश गर्नुहुन जानकारी गराईन्छ भन्ने व्यहोराको पत्र पठाएपछी अर्को षडयन्त्रको सूत्रपात हुन थालेको अनुमान गरिएको छ । बोलपत्र मुल्यांकन प्रक्रियाबाटै बाहिरिएको फर्मका नाममा यस व्यहोराको पत्राचारको तुक के हो ? भन्ने प्रश्न अहिले सर्वत्र चर्चामा रहेको छ ।

को को छन बोलपत्र मुल्यांकन एवं सिफारिस समितिमा ?

संयोजक प्रमुख कार्यकारी अधिकृत भीमबहादुर कुँवर, सदस्यहरुमा डिभिजन ईन्जिनियर दयाराम अधिकारी, बरिष्ठ योजना तथा प्रशासकीय अधिकृत युक्त प्रसाद सुवेदी, लेखापाल विष्णुनाथ शर्मा र आमन्त्रित सदस्यमा ई त्रिलोचन गिरी रहेका छन् ।

यस्तो छ, बसपार्क भित्रको बास्तविकता

* बागलुङ नगरपालिकाका तत्कालीन नगरप्रमुख बिदुर खडकाको कार्यकालमा २०६२ सालमा हालको बसपार्क निर्माण गर्ने निर्णय भएको थियो भने बसपार्कको शिलान्यास तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रेमनारायण शर्माले गरेका थिए ।

* पछिल्लो समय बागलुङ नगरपालिकाले नगर विकास कोषबाट ९ करोड रुपयाँ ऋण लिएर सो बसपार्क निर्माण कार्य अघि सारिएको हो ।

* बसपार्क निर्माण कार्य ठेक्कामा दिने प्रकृया सुरु हुनु केहि दिन अगडी त्यस्का साइट इन्चार्ज ई त्रिलोचन गिरीलाई हटाई डिई दयाराम अधिकारीलाई बासपार्कको साईट ईन्चार्जको जिम्मेवारी सुम्पिएको हो ।

को हुन डिई दयाराम अधिकारी ?

* डिई अधिकारी जिल्ला प्राविधिक कार्यालय, बागलुङ र राष्ट्रिय पुननिर्माण कार्यालय बागलुङका प्रमुख पनि हुन । यस बाहेक डिई अधिकारीले नगरपालिका कार्यालयको काम हेर्ने गर्छन् । स्थानीय तहको नयाँ संरचना अनुसार अधिकारीले नगरपालिकामा डिईको जिम्मा पाएका हुन् ।

* एक महिना अघी यिनको बाँके जिल्लामा सरुवा भएको छ । तर उनी सरुवा भएको बाँके जिल्लामा नगएर बसपार्कको ठेक्का पट्टाकै लागि बागलुङ बसी रहेको नगरपालिका बृत्तमा चर्चा व्याप्त छ । डिई अधिकारी कै कारण नगरपालिका भित्र व्यापक आर्थिक चलखेल हुने गरेको र यिनकै कारण बसपार्क निर्माणमा अनावश्यक ढिलाई भएको जनप्रतिनिधी (वडाध्यक्ष)हरुको बुझाई रहेको छ ।

* समितिका अर्का सदस्य लेखापाल विष्णुनाथ शर्माको धौलागिरी अन्चल अस्पतालमा सरुवा भएको छ, उनि पनि सरुवा भएको कार्यालयमा गएका छैनन् ।

* अर्का सदस्य नगरपालिकाका बरिष्ठ योजना तथा प्रशासकीय अधिकृत युक्त प्रसाद सुवेदीले ठेक्का प्रकृया नै बिबादमा परेको अवस्थामा ठेक्का प्रक्रियाको प्राविधिक मुल्यांकनमै नपरेको फर्मलाई के आधारले कस्को आदेशमा बिड वण्डको म्याद बढाउन पत्राचार गरे ? सुवेदीको भूमिकालाई शंकास्पद मानिएको छ ।

* अर्कोतिर स्वयं नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कुँवर नगरपालिकाले बुझेको रकमको रसिदलाई नै मान्यता नदिने मनस्थितिमा पुग्नु पछीको प्रलोभन पनि छानविनको दायरामा ल्याउनु पर्ने माग उठिरहेको छ । यस विषयमा जानकारी लिन कुँवरलाई फोन गर्दा फोन उठेन ।

कसरी तानिए बसपार्क ठेक्का प्रकरणमा नगरप्रमुख ?

बसपार्क ठेक्का प्रकरण छताछुल्ल बनेपछी बोलपत्र मुल्यांकन एवं सिफारिस समितिको बचाउमा नगर प्रमुख खुलेरै लागेपछी उनी बिबादमा मुछिएका हुन् । बसपार्कको जिम्मेवारी दिईएका ई त्रिलोचन गिरीलाई हटाएर डिई अधिकारीलाई यसको जिम्मा दिईएपछी नै नगरप्रमुख र अधिकारीबीचको एकात्मकता चर्चाको शिखरमा पुगेको हो । अर्कोतिर नगरप्रमुखको आड नपाएसम्म बोलपत्र मुल्यांकन तथा सिफारिस समिति यति बिघ्न नाङ्गै कानून विपरीत गएर आफ्नै कार्यालयले बुझेको रकम थाहा नभएको भन्न सक्ने ह्याउ हुने थिएन भन्ने आम चर्चा विद्यमान छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *