सुमन सुनार, बुर्तिबाङ २०७५ असोज २२ । ढोरपाटन नगरपालिकाले नगरभित्रको कवाडी समान संकलनका लागि रु. १ लाख ४० हजारमा ठेक्का सम्झौता गरेको छ । नगरपालिका भित्र संकलन हुने कवाडी सामानको कर संकलन सम्बन्धी आर्थिक वर्ष २०७५÷०७६ को ठेक्का सम्झौताका लागि नगरपालिकाले कवाडी कर ठेक्काको डाक बढीबढाउमा सम्झौता गरेको ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले ईबागल’ङलाई बताए ।
अधिकृत पोखरेलका अनुसार, कवाडी करको ठेक्का बन्दोवस्तका लागि गरिएको कर ठेक्काको डाक वढावढमा ढोरपाटन नगरपालिका–१ बुर्तिबाङका गुञ्ज बहादुर भण्डारी, काठेखोला गाउँपालिका–३ का खड्क बहादुर खत्री र भारतको विहारका सगजुल मियाँ बिच प्रत्यक्ष बोल कबोल भएको थियो । न्युनतम अंक ५५ हजार रुपैयाँबाट भएको कर बढाबढको बोल कबोलमा ढोरपाटन नगरपालिका–१ बुर्तिबाङका गुञ्ज बहादुर भण्डारीले सबैभन्दा बढि रु. १ लाख ४० हजारमा बोल कबोल गरेको प्रमुख प्रशासकिय अधिकृत पोखरेलले बताए । उक्त अंकमा ठेक्का लिन प्रतिस्पर्धीहरु काठेखोला गाँउपालिका–३ का खत्री र भारतको विहारका मियाँ मंजुर नभएपछि कवाडी करको ठेक्का स्वीकृती गरी भण्डारीलाई दिइएको पोखरेलको भनाई छ ।
कवाडी कर ठेक्का बन्दोवस्तका लागि नगरपालिकाले गत असोज ७ गते सूचना प्रकाशन गरेको थियो । सूचना प्रकाशनको आज १५ दिन पछि कर ठेक्काको डाक बढाबढ गरिएको थियो । नगरपालिको कार्यालयमा भएको उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरिक्षक ओम प्रकास यादव, एकिकृत सेवा केन्द्र बुर्तिबाङका नायव सुब्बा नन्दराम भुषाल, नगरपालिकाका इन्जीनियर नारायण पौडेल, पत्रकार सुमन सुनार लगायतको उपस्थिति रहेको थियो । सोही अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत पोखरेलले आर्थिक वर्ष २०७५÷०७६ का लागि गरिएको सम्झौता असार मसान्त सम्म मात्र रहने र नगरपालिका भन्दा बाहिर गई कवाडी मालसामान संकलन गर्न नपाइने स्पष्ट पारे । यदि त्यसो गरेका पाइएमा प्रचलित कानुन अनुसार कार्वाही गरिने उनले बताए ।
यस्तै नगर क्षेत्र भित्र फालिएका प्लाष्टिक, सिसा, फलामका टुक्रा आदि जस्ता कवाडी सामानको संकलन तथा विक्रिबाट यसको ब्यवसायीले मनग्य आम्दानी गर्ने मात्रै नभएर देशको अर्थतन्त्रलाई नै महत्वपूर्ण योगदान पुग्ने प्रमुख प्रशासकीय अधिकृत पोखरेलले बताए । त्यसैगरी वातावरणलाई धेरै हदसम्म प्रदुषण कम गर्न मद्दत समेत मद्दत पुग्ने उनको भनाई छ ।