Sorry, that menu does not exist.
 

२३ गते देखी सुरु हुने २२ औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ असोज २१ । नेपाल भलिबल सङ्घको आयोजना, गल्कोट नगरपालिकाको सहयोग र जिल्ला भलिबल सङ्घको व्यवस्थापनमा पर्सि असोज २३ गते देखी गल्कोटमा सुरु हुने २२ औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी एवं भलिबल खेलका लागी प्रायोजक खोज्ने कार्य अन्तिम चरणमा पुगेको जिल्ला भलिबल संघ बागलुङका अध्यक्ष यम श्रीसले ईबागलुङलाई बताए ।

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टिमको सहभागिता रहने जिल्ला भलिबल सङ्घ बागलुङका अध्यक्ष श्रीसले जानकारी दिए । प्रतियोगिता सञ्चालन गर्न रु २० लाख खर्च हुने अनुमान छ । भलिबल सङ्घले खेल सामग्री र नगद रु १ लाख जिल्ला सङ्घलाई प्रदान गरेको छ । राष्ट्रिय महिला भलिबल प्रतियोगिताका लागी गल्कोट नगरपालिकाबाट ८ लाख गल्कोट समाज जापानबाट २ लाख ५० हजार, कोरियाबाट ५० हजार, गल्कोट यातयात प्रा लि बाट ५० हजार, गैरे समाजबाट ५० हजार, उद्योग वाणिज्य संघ गल्कोट ईकाईबाट रु ३० हजार, गल्कोट घुम्टे सप्लायर्सका सञ्चालक होम थापाबाट २० हजार सहयोग प्राप्त भएको छ ।

प्रतियोगिताबाट छानिने उत्कृष्ट २४ खेलाडीलाई राष्ट्रिय टिमको तयारीमा राखिने नेपाल भलिबल सङ्घले जनाएको छ । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिने छ ।

विजेता टिमले नगद रु ५० हजार, उपविजेताले रु ३० हजार र तस्रो हुनेले रु २० हजार पुरस्कार पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई रु १० हजार पुरस्कारको व्यवस्था गरिएको छ । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सर्भर, लिबेरो, सटर र ब्लकरलाई पनि रु ५ हजारका दरले पुरस्कार प्रदान गरिने जनाइएको छ ।

राष्ट्रिय खेल भलिबल सञ्चालन गर्न पाउनु सुखद् अवसर भएको नगर प्रमुख भरत शर्मा गैरेले बताए । खेल क्षेत्रको विकासलाई नगरपालिकाले प्राथमिकतामा राखेको उनको भनाइ छ ।

अध्यक्ष श्रीसका अनुसार राष्ट्रिय महिला भलिबल प्रतियोगिताले व्यावसायिक खेलको प्रवद्र्धन हुनेछ भने खेलले पर्यटनमा पनि टेवा पुग्ने विश्वास गरएकाे छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply