जनसञ्चार सहकारी संस्था लि तथा सामुदायिक रेडियो परिवर्तनको आठौं साधारण सभा सम्पन्न !

सुमन सुनार, बुर्तिबाङ, २०७५ असोज २० । ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा रहेको जनसञ्चार सहकारी संस्था लिमिटेड तथा सामुदायिक रेडियो परिवर्तन ९२ मेगाहर्जको आठौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

सहकारीको साधारण सभामा बोल्ने वक्ताहरुले सहकारी, सदस्यहरुको उतपादन र जीवनसँग जोडिनु पर्नेमा जोड दिएका छन् । संस्थाका सहकारी सञ्चालक समिति सदस्य मध्येका जेष्ठ सदस्य चन्द्रकुमार कुवँरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बोल्दै कुवँरले, स्थापना कालदेखिनै जनसञ्चार सहकारी संस्थाले सूचना तथा सञ्चार अभियानसँगै सदस्य हितका लागि बचत तथा कर्जा कारोवार गर्दै आएको बताए । सहकारी सदस्यहरुको हित र उन्नतिका लागि अग्रसर तथा क्रियाशील हुनुपर्ने भएकाले उत्पादनमूलक कार्यमा लाग्नु पर्नेमा उनको जोड थियो ।

स्तै कार्यक्रमका अतिथि एवं सहकारी सञ्चालक सदस्य धनबहादुर कुवँरले, विकासोन्मुख राष्ट्रमा स्थापना भएका सहकारीहरु देशको विकास तथा नागरिकहरुको आर्थिक उन्नतिमा जानुपर्ने भएकाले, उत्पादनमा जोड दिनुपर्ने धारणा राखे । उनले, हरेक सदस्यहरुको सहकार्यबाट जम्मा भएको पूँजीले सदस्यहरुको हितसँगै उनीहरुको जीवन परिवर्तन गर्नसक्ने क्षेत्रमा लगानी र त्यसले प्रतिफल दिनुपर्ने बताए ।

यस्तै कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता दीपक थापाले, स्थानीय तहको सामाजिक विकास समितिमा रहेकाले नगरपालिका भित्रका संघ संस्थाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा आफ्नो सकरात्मक भूमिका हुने बताए । स्थानीय संघ संस्था त्यसमा पनि सहकारी तथा सञ्चारमाध्यम समेत सञ्चालन भएकाले यसले नगरपालिकासँग सहकार्य गरेर जानुपर्ने वडा अध्यक्ष थापाको भनाई थियो ।
यस्तै नगरपालिकाको वडा नं. ३ का वडा अध्यक्ष एवम सहकारीका सञ्चालक सदस्य हेमेन्द्र घर्तिले, सहकारी गरिव दुखी जनताको भरोसाको केन्द्र बन्नुपर्ने बताउँदै सबैको पहल त्यस तर्फ जानुपर्नेमा जोड दिएका थिए ।

सहकारीका लेखा समिति संयोजक तथा प्रवन्ध निर्देशक लोकेन्द्र सुनारले, विगतमा धेरै कष्टसहित दुःखले संस्थालाई यहाँसम्म ल्याएको स्मरण गराउँदै, आफू संस्थापक अध्यक्ष बनेर दुई कार्यकाल सम्हाल्दै जाँदाको अवस्था र अहिले आठ वर्ष पछिको अवस्था धेरै फेरिएको अनुभव सुनाएका थिए । अझै संस्थाको उन्नति र प्रगतिका लागि यसका सञ्चालक सदस्य, कार्य समितिका पदाधिकारी तथा उपसमितिका सदस्यहरुले धेरै मेहनत गर्नु पर्ने उनको जोड थियो ।

संस्थाका सचिव सहवीन अर्गेजाले संस्थाको आर्थिक वर्ष २०७४/०७५ को प्रगति तथा आगामी वर्षको वार्षिक कार्यक्रम प्रस्ताव गरेका थिए । संस्थाको लगानी वृद्धि, बचत वृद्धि, समय अनुसार सदस्यहरुलाई सहज बचत तथा कर्जा लगानीको वातावरण निर्माण गर्ने, संस्थाको दीर्घकालीन तथा अल्पकालीन व्यवस्थापनसँगै भवन निर्माणका लागि यसै वर्षबाट शेयर सदस्यहरुको लगानीका हिसावले ५ प्रतिशतले कोष वृद्धिको प्रस्ताव गरिएको थियो । कर्मचारी व्यवस्थापन कार्यविधि निर्माण समिति, रेडियो सञ्चालन सचिवालय समित, कार्यसमिति हेरफेर लगायतका प्रस्तावहरु साधारण सभाबाट पारित भएका छन् ।

सचिव अर्गेजाको प्रस्ताव अनुसार बर्तमान कार्य समितिका कोषाध्यक्ष आफ्नो व्यक्तिगत समस्याले संस्थाका जिम्मेवारी वहन गर्न असमर्थ भएको प्रस्ताव पछि कोषाध्यक्ष पदमा लेखा समिति सदस्य मीनबहादुर महतलाई चयन गरिएको छ ।

उता संस्थाका कार्यसमिति सदस्य लोकथान भुसाल बैदेशिक रोजगारीमा रहेकाले उहाँको पदमा संस्थाका बचत समिति सदस्य भीम भण्डारीलाई चयन गरिएको छ । उता लेखा समितिको सदस्यमा भने धनबहादुर महतलाई राखिएको छ ।

स्तै संस्थाका लेखा समिति सदस्य दीपक कुवँरको संयोजकत्वमा ५ सदस्यीय कर्मचारी व्यवस्थापन कार्यविधि निर्माण समिति गठन गरिएको छ भने संस्थाका प्रवन्ध निर्देशक लोकेन्द्र सुनारको संयोजकत्वमा ५ सदस्यीय रेडियो सञ्चालन तथा व्यवस्थापन उप–समिति चयन गरिएको छ । यस्तै संस्थाका कार्यबहाक अध्यक्ष टीका बहादुर पुनको संयोजकत्वमा ३ सदस्यीय कर्मचारी पदपूर्ति समिति गठन गरिएको छ ।

संस्थाका कोषाध्यक्ष धनबहादुर महतले आर्थिक वर्ष २०७४÷०७५ को आर्थिक प्रगति प्रतिवेदन तथा आगामी वर्षका लागि निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

संस्थाले गत आर्थिक वर्षमा १७ करोड ७९ लाख ९ हजार ९ सय ९५ रुपैयाको कारोबार गरेको, ९८ लाख ९० हजार ९ सय ७० लगानी गरेको तथा ८ लाख ३३ हजार ४ सय ४७ रुपैयाँ नाफा गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थामा अहिले १ सय ९१ जना सहकारी सञ्चालक सदस्यहरु रहेका छन् । उनीहरुको ९५ लाख २१ हजार ५ सय रुपैयाँ शेयर रहेको बताए ।

यस्तै रेडियोका स्टेशन म्यानेजर राम सुवेदीले रेडियोको स्थायित्व, दीगो विकास र व्यवस्थापनका विषयमा भावी कार्यक्रम तथा गत वर्ष गरिएका कार्यक्रमको विषयमा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै स्टेशन म्यानेजर सुवेदीले, रेडियो व्यवस्थापनमा थप ध्यान दिंदै अवका दिनमा रेडियोले बौद्धिक कार्यक्रम तथा जनताको जीविकोपार्जनसँग जोडिएर रेडियो कार्यक्रम उत्पादन तथा प्रशारणमा ध्यान जानु पर्ने बताए ।

सहकारीका कार्यबहाक अध्यक्ष टीका बहादुर पुनको अध्यक्षता, सह–सचिव चेत नारायण पौडेलको स्वागत मन्तव्य तथा सचिव सहवस्न अर्गेजाको सञ्चालनमा कार्यक्रम समापन भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *