जेष्ठ नागरिक दिवसमा बुहारी सम्मानित भएकाले मात्र होईन अरु कारणले पनि चर्चामा छ बागलुङ नगरपालिका !

बागलुङ २०७५ असोज १६ । सोमबार बागलुङ नगरपालिकाले २८ औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा जेष्ठ नागरिक अधिकार अभियन्ताको अभिनन्दन गरौँ भन्ने मुल नाराका साथ आयोजना गरेको सम्मान कार्यक्रममा दुई जना बुहारीहरुलाई पनि सम्मानित गरेको छ । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसमा बुहारीहरु सम्मानित कसरी हुन पुगे ? भन्ने प्रश्न अहिले आमचर्चाको विषय बनेको छ ।

हिँजो स्थानीय राधाकृष्ण मन्दिरमा आयोजित जेष्ठ नागरिक सम्मान कार्यक्रममा नगरपालिकाका १४ वडाहरु (प्रत्यक वडाबाट एक पुरुष र एक महिला) बाट जेष्ठ नागरिक छनोट गरी २८ जना जेष्ठ नागरिकहरु मध्य कार्यक्रममा उपस्थित केहि जेष्ठ नागरिकहरुलाई प्रमाणपत्र र दोसल्ला ओढाई सम्मानित गरिएको थियो । सोहि कार्यक्रममा बागलुङ नगरपालिका ३ का दुई बुहारीहरु बविता ओझा र रत्ना श्रेष्ठ (जो उमेरका हिसाबले जेष्ठ नागरिकमा पर्दैनन्) समेतलाई जेष्ठ नागरिकको सेवा सुश्रुषा गरेको भन्दै सम्मानित गरिए पछी नगरपालिका भित्रै यो त गाईजात्रै भयो भन्ने टिप्पणी चलेको हो ।

कहाँ कहिले के कार्यक्रम हुन्छ थाहै हुँदैन, वडाध्यक्षहरुले अनभिज्ञता प्रकट गर्दैछन्, बैठक बसेर निर्णय गर्ने चलन नै छैन, तीन महिना भयो नगरपालिका/कार्यपालिकाको एउटा बैठक भएको छैन । आफुखुशी कार्यक्रम राखिन्छ, अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा बुहारीहरुलाई सम्मानित गरिन्छ, सबैको सरसल्लाहबाट कार्यक्रम गरिने भए पो यस्ता हास्यस्पद काम हुन पाउँदैन थिए । को, कहाँबाट परिचालित छ बागलुङ नगरपालिका बुझ्नै कठीन छ । हुनत, हिँजोको सम्मान कार्यक्रममा नगर उप प्रमुख सहित नगरपालिकाका अधिकांश वडाध्यक्षहरुले सहभागिता जनाएका थिएनन् ।

त्यसो त, बुहारीहरुलाई सम्मान गरेका कारण मात्रले बागलुङ नगरपालिका चर्चामा आएको होईन । हालै मात्र नगरप्रमुख जनक पौडेल र तत्कालीन माओवादी केन्द्रका स्थानीय नेता कृष्णबहादुर केसीको दक्षिण कोरिया भ्रमणलेपनि चर्चा पाएको छ । नगरप्रमुख पौडेलले केसीलाई राजनैतिक सल्लाहाकारमा नियुक्ती गर्ने पक्का पक्की भएको पार्टी पंक्तीमा टीप्पणी भैरहेको छ । राजनैतिक सल्लाहाकारमा केसीको नाम चर्चामा आएपछी प्रेस सल्लाहाकारमा नियुक्त हुन चाहना राख्नेहरुले सामाजिक सन्जाल फेसबुकमा नगर प्रमुख पौडेलको स्तुतिगान गाउन सुरु गरेका छन् । अघिल्लो महिना सम्म नगरप्रमुख पौडेलका कृयाकलाप बिरुद्ध खुलेर असन्तुष्टि जनाउदै आएकाले पछिल्ला दिनमा भजन गाएको (यूटर्न) देखेर प्रेस सल्लाहकारमा फेसबुक मार्फत आवेदन दिएको विश्लेषकहरुको ठम्याई छ ।

उता बागलुङ नगरपालिकाले नगरपालिकाका तर्फबाट अदालतमा तीन मुद्दामा बहस पैरवीगरे बापत अधिवक्ता हरिप्रसाद पौडेललाई रु १ लाख ८५ हजार भुक्तानी दिएको घटनापनि नगरपालिका भित्र चर्चित नै छ । अधिवक्ता पौडेललाई नै खुरुक्क कानूनी सल्लाहाकार बनाए त नगरपालिकाले यति विघ्न व्ययभार व्यहोर्नु पर्ने त थिएन भन्ने आवाज नगरपालिका भित्र गुन्जिरहेको छ । नगरप्रमुखको दाजु नाता पर्छ भन्दैमा कानूनी सल्लाहकार बनाउन नमिल्ने केहि छैन । एक पटक बहस पैरवी गरेको रु ६० हजार भन्दा बढी रकम दिन भ्रष्टाचार हुन्न भने कानूनी सल्लाहाकार बनाउन के हुन्छ ? यस्ता टीप्पणीहरु बाहिर निस्किरहेका छन् ।

अरुको त कुरा छोडौँ, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुवँरज्यू पनि नगरपालिकालाई चर्चामा ल्याउने काममा सहभागिता जनाउदै आएका छन् । हप्ता दिन पहिले, कसैले प्रमुख प्रशासकीय अधिकृत कुवँरलाई मोबाईलमा फोन ग-यो, केहि बेर कुराकानी भयो । जब कुराकानी सकियो, कुँवर साहेवले रिसाउदै कति दबाब सहने… भन्दै भूँईमा मोबाईल फ्याके । कसले के दबाब दियो ?उनले भनेनन्, केवल झर्किएमात्रै । मोबाईल कुन अवस्थामा छ, त्यो भने थाहा भएन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *