साताको तस्बीर : सबका नजरमा ‘ तुरतुरेको ताल !’

शव्द/चित्र : झरना कँडेल

बुर्तिवाङ २०७५ असोज १४ । भदौ २९ गतेको राति ढोरपाटन नगरपालिका र बडीगाड गाउपालिकाको सीमानामा रहेको तुरतुरे देउरालीको पहिरो खसेर अबरुद्ध बनेको मध्यपहाडी लोकमार्ग र बडीगाड खोला थुनिएर बनेको तुरतुरे ताल अवलोकन गर्न आउनेहरुको ताँती लागेको छ ।

भदौ ३० गते विहान सवेरै बागलुङ सदरमुकाम देखी प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको समन्वयमा नेपाली सेनाको अर्जुनवाण गणका गणपति भुवनराज देवकोटा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मी सहितको टोली देखी लोकमार्ग सन्चालन, बैकल्पिक पदमार्ग देखी सडकमार्गको पहिचानका निम्ती मन्त्री, सांसद, प्राविधिक टोलीहरुबाट अवलोकन निरीक्षण जारी छ ।

अवरुद्ध लोकमार्ग र तुरतुरेको ताल अवलोकन गर्न पछिल्लो पटक शनिवार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले निरीक्षण अवलोकन गरेका छन् । मन्त्री बस्नेतका साथ गण्डकी प्रदेश सांसद ईन्द्रलाल सापकोटाले पनि पहिरो र ताल अवलोकन गरेका छन् ।

केहि दिन देखी पहिरो पन्छाउन चार वटा स्काभेटर प्रयोग गरी दशैँ अगावै लोकमार्ग सुचारु गर्ने प्रयास भैरहेको छ । बडीगाड खोलाको सिस्नेरीको मोटरेबल पुल भएर बैकल्पिक सडक सन्चालनमा आएपछी स्थानीयले केहि राहत पाएको महसूस गरेका छन् ।

दशैँ अगावै मध्यपहाडी लोकमार्ग सन्चालनमा आउने विश्वासमा रहेका निसीभूजी क्षेत्रबासीहरु यतिखेर तुरतुरे तालको संरक्षणतिर आकर्षित बनेको अवस्था छ । तुरतुरेको पहिरोले बनाएको यो तालको दूरगामी महत्व बुझेका तत्क्षेत्रबासीको चाहना समयसापेक्ष भएको सहजै अनुमान गर्न सकिन्छ ।

जो आउँछ पहिले तालको मनोहरतालाई पिउँछ । पहिरो पन्छाएर लोकमार्ग सुचारु बनेपछी त, सबका नजरमा ताल बाहेक अर्को केहि हुनै सक्तैन । ताल तलका तटीय बस्तीको सुरक्षा गरी तालको संरक्षण, विकास र व्यवस्थापनमा सरोकारवाला निकायहरुको ढोका घच्घचाउन नगरप्रमुख तथा गाउपालिका अध्यक्षहरु लगायत स्थानीय राजनीति दलका कार्यकर्ताहरु, बुद्धिजीवी, आमनागरिकको सक्रियता अनिर्वार्य देखिन्छ । बिपदबाट बनेको तालबाट सुखद भविष्यको निर्माण गर्न नचुकौँ । अस्तु,

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *