सप्तरी काण्ड दु:खद र निन्दनीय, परिस्थितिलाई जटिल हुन नदिन अध्यक्ष थापाको आग्रह !

काठमाडौँ २०७३ फागुन २४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिजो सप्तरीमा भएको झडपमा गोली लागेर तीन जना प्रदर्शनकारीको मृत्यु भएको घटनालाई दु:खद र निन्दनीय बताउदै घटनाको छानविन गरि तत्काल सत्य तथ्य सार्वजनिक गर्न सरकारसंग माग गरेका छन् ।

अध्यक्ष थापाले आज एक प्रेस बक्तव्य प्रकाशित गर्दै, आफ्नो राजनैतिक बिचार र मान्यता अनुरुप कार्यक्रम गर्ने अधिकार प्रत्येक व्यक्ति र दललाई संबिधानले नै सुनिश्चित गरेको उल्लेख गर्दै त्यस्तो अधिकारको प्रयोग शान्तिपूर्ण र अरुको अधिकार हनन नहुने गरि गर्नु प्रजातन्त्रको नैसर्गिक मान्यता भएको बताएका छन् ।

उनले वक्तव्यमा निहित राजनैतिक स्वार्थ परिपूर्तिका लागि अरुलाई होच्याउने, उत्तेजित तुल्याउने र हिंसा भडकाउने काम सर्वथा उपयुक्त होईन भन्दै यस तर्फ सचेत रहन एवं परिस्थितिलाई थप जटिल हुन नदिन संयमको निमित्त पनि सम्बद्ध सबै पक्षमा अपिल गरेका छन् ।

वक्तव्यमा निर्वाचनको पूर्वसन्ध्यामा शान्ति, सुरक्षा र स्थिरता कायम गर्न सरकारले अविलम्ब प्रभावकारी कदम चाल्ने अपेक्षा अध्यक्ष थापाले गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *