नेकपा गण्डकी प्रदेशका सचिव नेपालीको स्वागत : कानूनलाई नटेर्नेहरुले अपराध गरिरहेका छन् !

सिर्जना पन्त, बागलुङ २०७५ असोज ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य गोविन्द नेपालीलाई बागलुङमा भव्य स्वागत गरिएको छ । गण्डकी प्रदेश सचिव तथा मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङका राजनीतिक सल्लाहकार भएकोमा नेता नेपालीलाई स्वागत गरिएको हो ।

नेपाल उत्पीडित जातिय मुक्ति समाज र नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाले संयुक्तरुपमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दैं नेपालीले समाज रुपान्तरणको लागि आर्थिक, समाजिक र सांस्कृतिक आन्दोलनको अग्र पङतिमा कम्युनिष्ट पार्टी बाहेक अरु उभिन नसक्ने भन्दैं आफुहरुले सधै जनता र राष्ट्रको पक्षमा काम गर्ने बताए ।

नेता नेपालीले पछिल्लो समय कानुनी हिसावले दलितहरूलाई केही सहजता भएपनि कानुनलाई नटेर्नेहरूले कानुन र नियमभन्दा माथि उठेर अपराध गरिरहेको भन्दै एकदिन कानुनको कठघरामा आउनुपर्छ भन्ने कुरा सबैले हेक्का राख्नुपर्ने समेत बताएका थिए ।

सो अवसरमा संघिय सांसद सुर्य पाठकले बागलुङको मात्र नभई नेपालको कम्युनिष्ट आन्दोलनको शालीन र भद्र व्यक्ति नेपालीलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेर पार्टीले न्याय गरेकोमा शुभकामना व्यक्त गरेका थिए । उनले पछिल्लो समय केहि अपराधिक क्रियाकलापलाई लिएर सरकार प्रति जनमानसमा नैराश्यता उत्पन्न गराउने काम गरिएको भन्दैं अहिलेको सरकारले अपराधीको मनोवल उच्च बनाउने गरी कुनैपनि काम नगर्नेमा विश्वस्त रहन आग्रह गरेका थिए ।

पाठकले ४ वर्ष पहिले बागलुङको बोक्सेमा दिउसैं धारिलो हतियार प्रयोग गरि हत्या गरिएकी रुपा गौतम हत्याकाण्ड र कञ्चनपुरकी निर्मला पन्त हत्याकाण्ड प्रति इसारा गर्दै केहि अपराधको अनुसन्धान प्रक्रिया लामो भएपनि अपराधी छुट्छ वा सरकार आफैले संरक्षण गर्छ भनेर भ्रममा नरहन समेत आग्रह गरे । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता फमलाल न्यूरेले शुभकामना व्यक्त गरेका थिए ।

नेपाल उत्पीडित जातिय मुक्ति समाज बागलुङका अध्यक्ष मनोज विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम टिका कुमारी विश्वकर्माको स्वागत तथा धनबहादुर परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *