स्वच्छ दुध उत्पादन गोष्ठीमा कृषकहरुले भने – ‘दुध उत्पादन व्यवसाय जोखिमपूर्ण !’

सुवास गौतम, बागलुङ, २०७५ असोज ९ । बागलुङ दूग्ध उत्पादक सहकारी संघ लिमिटेडको आयोजनामा स्वच्छ दुध उत्पादन एवं सहकारी व्यवसायमा सञ्चालकहरुको भूमिका विषयक एक दिने अन्तरक्रिया गोष्ठी सोमबार सम्पन्न भएको छ ।

कार्यक्रमका सहभागी दुग्ध उत्पादक कृषकहरुले दुध उत्पादन गर्ने कार्य जोखिम बन्दै गएको गुनासो गरेका छन् । युवा जनशक्ति गाउँमा नबस्ने, उत्पादनका लागि उच्च लागत लगायतका कारण उत्पादन गर्ने कार्य जोखिमपूर्ण बन्दै गएको उनीहरुको भनाई छ ।

बागलुङ दुग्ध उत्पादक सहकारी संघमा आवद्ध १३ वटा दुग्ध उत्पादक सहकारी संस्थाका प्रतिनिधिहरुले विभिन्न चुनौतीका बीच पनि उपभोक्तालाई गुणस्तरीय दुध समयमै उपलब्ध गराउनका लागि आफुहरु प्रतिवद्ध रहेको बताएका थिए ।

दुग्ध उत्पादक कृषकहरुले उत्पादन, प्रशोधन र बजारीकरणमा लागेका कृषकहरुलाई उत्साहित बनाउने गरी नीति निर्माण गर्न तथा प्राविधिक र आर्थिक सहयोग गरी स्थायित्व दिनका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारसंग आग्रह गरेका छन् ।

कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका वरिष्ठ पशु विकास अधिकृत डा.नारायणप्रसाद शर्माले दुग्ध व्यवसाय सञ्चालनका लागि व्यवहारिक संहिता र राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारीमार्फत व्यवसाय प्रवद्र्धनमा सञ्चालकहरुको भूमिकाका विषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा वरिष्ठ पशु विकास अधिकृत डा. नारायण प्रसाद शर्माले दूध शुद्ध हुनलाई गोठ देखि ओठ सम्मका हरेक क्रियाकलापहरुमा सर्तकता अपनाउनु पर्ने बताएका थिए । उहाले दूध उत्पादन हुने गोठको बातावरण, दूध दुने भाडा, दुधलाई स्टोर गर्ने प्रविधिका आधारमा दूधको शुद्धता कायम गर्न सकिने बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जि.सीले सहकारीमार्फत सञ्चालित दुग्ध व्यवसायलाई थप प्रभावकारी बनाउनका लागि सञ्चालक समितिको भूमिका थप प्रभावकारी र अतिरिक्त खालको हुनु पर्नेमा जोड दिए । उनले व्यवसायसंगै सहकारी ऐन नियमका बारेमा पनि सचेत बनेर काम गर्न सकियो भने थप प्रभावकारीता आउने बताए ।

जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले दुग्ध उत्पादन व्यवसायलाई निरन्तरता दिनका लागि थप सक्रियताका साथ व्यवसायीहरु लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रम बागलुङ दुग्घ उत्पादक सहकारी संघका अध्यक्ष युक्त कंडेलको अध्यक्षता, उपाध्यक्ष ओमनाथ सापकोटाको स्वागत र संघका प्रवन्धक धरणीधर सापकोटाको सञ्चालनका सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *