महिलालाई राजनीतिक प्रतिष्पर्धामा जान संविधानले ढोका खोलिदिएको छ- उपराष्ट्रपति पुन

महेन्द्र केसी, पर्वत २०७३ फागुन २४ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा महिला आन्दोलनको जग आधारभूत तहदेखि नै बलियो रहेको बताएका छन् । उनले नेपाली महिलाबाट समान अधिकारका लागि एक शताब्दीदेखि निरन्तर रुपमा गर्दै आएको सङ्घर्ष र बलिदानीको परिणामस्वरुप अहिले राज्यका तीन महत्वपूर्ण पदमा महिलाको नेतृत्व रहन पुग्नु र आगामी दिनमा हुदै गरेका तीन तहका निर्वाचनमा महिलाहरुको अधिकारलाई हरेक वडा, तह र क्षेत्रमा समान अधिकार प्रत्याभूत गरिएको बताए ।

रेडियो दिदिवहिनी पर्वतको सातौ बार्षिक उत्सव तथा नवौं पश्चिमाञ्चल महिला महोत्सवको मंगलबार उपराष्ट्रपति पुनले उद्घाटन गर्दे सो कुरा बताएका हुन् ।

नेपालको संविधानले राजनीतिक रुपमा प्रतिष्पर्धामा जानको लागि महिलाहरुलाई ढोका खोलिदिएको बताउँदै उपराष्ट्रपति पुनले अबका दिनका संविधानले उल्लेख गरे अनुसारका अधिकारहरु महिलाहरुले प्राप्त गर्ने र महिला र पुरुषको बराबरीता कायम हुनेमा विश्वास व्यक्त गरे ।
अझै पनि पितृ सत्तात्मक देश रहेको पनि हरेक क्षेत्रमा महिलाको समान अधिकार र अस्तित्व स्वीकार गरिसकेको अबस्था नरहेता पनि नेपालको संविधानले महिला र पुरुषलाई समान अबसर प्रदान गर्दै राज्यको माथिल्लो तहमा समेत महिलाको नेतृत्व रहेको भन्दै यसलाई संस्थागत गर्नको लागि अब हुदै गरेका तीन तहका चुनावमा उल्लेखनीय रुपमा सहभागी हुनको लागि उनले आग्रह गरे ।

देशका भएको १० बर्षे जनयुद्ध त्यसपछिका आन्दोलन र त्यागका कारण यो अबसर मिलेको बताउँदै यसलाई चुक्न नदिनको लागि अब हुने चुनावहरु सफलताका साथ सम्पन्न गर्नको लागि एक जुट हुनुपर्ने बेला आएको बताए । अन्तरराष्ट्रिय महिला श्रमिक दिवसका अवसर पारेर आयोजना गरेको सो कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख जस्ता राज्यका महत्वपूर्ण पदमा एकै पटक महिला नेतृत्व एक शताब्दीभन्दा लामो सङ्घर्षको प्रतिफल भएको बताउँदै सो प्रतिफललाई बचाइराख्नको लागि सवै लाग्नुपर्नेमा जोड दिए ।

उनले रेडियो दिदीबहिनी महिलाहरुको नेतृत्वमा संचालन हुनु र महिलाहरुको आवाजलाई बुलन्द गर्न सक्नु आफैमा सुखद भएको भन्दै रेडियोको भवन तथा आवश्यक मेसिनरी औजारका समाग्रीहरु खरिदको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

उपराष्ट्रपति पुनले आज महिला महोत्सवको उद्घाटन गर्दै बिगतको एउटा अनुभव आम नागरिकलाई सुनाउदै भने सरकारले टाउँकाको मुल्य तोक्ने समयमा म सिडियो कार्यालयमै थिए ।

उनले जनयुद्धको समयमा आफूलाई पार्टीले, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा मध्ये एक जिल्लाको सदरमुकाम उडाउनको लागि आदेश दिएपछि आफू रेक्की गर्नको लागि चार जिल्लाको सदरमुकाम पुगेको बताए । उनले सो बेलामा हरेक जिल्लाको सदरमुकाम र त्यहाँ रहेका सिडिओ कार्यालय, प्रहरीचौकी, कारगारमा आफू पसेर त्यहाँको अबस्थाको बारेमा बुझेको बताए ।

आफ्नो टाउको मुल्य तोकिएको थियो तर पनि सिडिओको कार्यालयमा म आए तर सिडिओले मलाई चिनेनन् । सोही जनयुद्ध र आन्दोलनबाट नै आज देशको अबस्था यहाँ सम्म आइपुगको भन्दै उनले अब ती उपलब्धीलाई संस्थागत गर्नको लागि सवै राजनीतिक दलहरु तीन तहको चुनाव तोकिएकै मितिमा सम्पन्न गर्नको लागि अग्रसर हुनुपर्नेमा जोड दिए ।

उनले जनयुद्ध र त्यसपछिको परिर्वतनले देशको राजनीतिक अबस्थामात्रै नभइ महिला, दलित, जनजाति, आदीबासी, अल्पसंख्यक, मधेसी लगायत तमाम नागरिकहरुको अधिकारलाई स्थापित गरेको र अब त्यसलाई संस्थागत गर्नको लागि राजनीतिक दलहरु एक हुनुपर्नेमा जोड दिए ।

फागुन २४ देखि ३० सम्म चल्ने महोत्सवमा १ सय भन्दा बढी स्टलहरु रहेको आयोजकले जनाएको छ । महोत्सवमा राखिएका स्टलहरु पुरा बुकिङ भैसकेको जनाएको छ ।

महोत्सवमा कृषि, शिक्षा, परम्परागत प्रविधि, लघु तथा घरेलु उद्यम, होटल व्यवसायीहरुको स्टल सहित कुल १०० स्टल रहने बताईएको छ । अघिल्ला वर्षहरुमा भन्दा फरक तरिकाले आयोजना गर्न लागिएको यस महोत्सवको मुख्य प्रायोजकमा नेपाल टेलिकम रहेको अध्यक्ष चापागाइले बताईन् ।

महोत्सवमा जेष्ठनागरिक, एकल महिला, अनाथ तथा अपाङ्गता भएका व्यक्तिहरु १।१ सयको संख्यामा सम्मान गरिने आयोजकले जनाएको छ ।

महोत्सवको मुख्य आकर्षणको रुपमा भने प्रथम दिदीबहिनी कप महिला भलिबल प्रतियोगिता हुने भएको छ । जिल्लामा सवैभन्दा ठूलो धन राशीको महिला भलिबल प्रतियोगिता हुन लागेको यो पहिलो हो । प्रतियोगितामा नेपालको चर्चित ५ महिला टोली र एक आयोजक गरी ६ टोलीको सहभागिता रहनेछ ।

नेपाल भलिबल संघ, जिल्ला खेलकुद विकास समिति र पश्चिमाञ्चल भलिबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा एक आयोजकसहित तीन विभागीय क्लब एपीएफ, नेपाल पुलिस र आर्मी तथा न्यु डायमण्ड एकेडमी र पश्चिमाञ्चल भलिबल संघको टिम सहभागीता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले टूफी तथा नगद १ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै उपविजेताले ६० हजार तथा तेस्रो हुनेले ४० हजार पाउने छन् । यस्तै उत्कृष्ट खेलाडीले नगद ५ हजार प्राप्त गर्नेछन् भने व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने स्पाइकर, सेटर, क्वीकर, ब्लकर, डिफेन्डर र प्रशिक्षकले जनही ३।३ हजार पुरस्कार प्रदान गरिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

महोत्सवमा रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, विभिन्न समुह तथा संस्थाहरुको ¥याली प्रतियोगिता, टपरी गाँस्ने लगायतका प्रतियोगिता समेत संचालन हुनेछन् । रत्यौली प्रतियोगिताको लागि २० टोली, भजन प्रतियोगिताको लागि २५ र खुला तथा सामुहिक नृत्य प्रतियोगिताको लागि ३५ टोलीले सहभागीता जनाउने बताइएको छ ।

सो मेला तथा महोत्सव सम्पन्न गनएको लागि ३० लाख खर्च लाग्ने अनुमान गरिएको छ । सो महोत्सवबाट जिल्लाको पर्यटन क्षेत्रको विकास र प्रर्वद्धन, स्थानीय धार्मिक तथा सांस्कृति विकास, जेष्ठ नागरिक,अनाथ,अपाङ्गता भएका व्यक्ति तथा एकल महिलाहरुलाई सम्मान गर्ने, महिला उद्यमीको सम्मान तथा बजार प्रबद्र्धन, कृषि तथा बनस्रोतमा आधारित उत्पादनहरुको विकास र विस्तार, स्थानीय लोपउन्मुख झाँकी, पञ्चेबाजा, भजन, लोकदोहोरी लगायतको संरक्षण र सम्बद्र्धन लगायतका मुख्य उदेश्यहरु राखिएको छ । कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुती समेत रहने भएको छ ।

चर्चित लोक गायकगायिक थान्नेश्वर गौतम ,पशुपती शर्मा, राजु परियार, कुलेन्द्र वि क, रामजी खाँड, राधिका हमाल, देवी घर्ति मगर, टिका पुन, तथा हास्य कलाकार लगायतको प्रस्तुती रहने रेडियोले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.