चोरी काण्डका दोषीहरुलाई कार्बाही गरी सुरक्षाको प्रत्याभूति दिन नगरवासीको आग्रह !

बागलुङ २०७३ फागुन २४ । बागलुङ सदरमुकाम स्थित दुई वित्तिय संस्था र निजी सुन पसल र अर्को एक रेष्टुरेण्ट गरी चार ठाउँमा भएको चोरीका वारदातका दोषीहरुलाइ प्रहरीले पक्राउ गरी कार्वाही गर्न ढिला भएको भन्दै नगरवासीले टिप्पणी गर्न थालेका छन् । उनिहरुले जतिसक्दो छिटो चोरीमा संलग्न अभियुक्तहरुलाई नियन्त्रणमा लिएर उनिहरुलाई कानूनी कार्वाही गरी नगरवासीलाई सुरक्षाको प्रत्याभूति दिन सरोकारवाला निकायसंग माग गरेका छन् ।

गत फागुन १५ गतेको राति बागलुङ बजारको धौलागिरी चोकमा रहेको एक बैँक, लाली गुराँशचोकमा रहेको शुभलाभ सहकारी संस्था र सुनचाँदी पसल तथा शिवधाराचोकमा रहेको एक शाकाहारी रेष्टुरेन्टमा चोरीका वारदात भएका थिए ।

बैंकमा चोरहरुले गेटको ताल्चा फोडेपनि अरु केहि नोक्सान नपुराएको सम्वन्धित बैकले जानकारी दिएको छ भने शुभलाभ सहकारीले संस्थामा चोरहरुले केहि लाननसकेको बताईएपनि सगरमाथा सुदचाँदी पसलबाट केहि तोला चाँदी र केहि रती सुन चोरी भएको र शिवधाराको गोविन्दाज शाकाहारी रेष्टुराँबाट ९५ हजार रुपयाँ चोरी भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक अनिल कुमार खड्काले चोरीमा संलग्नहरुको व्यापक खोजी भैरहेको बताउदै सिभिलमा प्रहरी परिचालन गरी अभियुक्तहरुको खोज तलास भैरहेको जानकारी दिए ।

सुरक्षाका सबै संयन्त्र मौजूद रहको जिल्लाको सदरमुकाम बागलुङ बजारमा एकै रातमा चोरीका चार वारदात हुनु र दश दिन बित्दा सम्म अभियुक्तहरुको सुराक नलाग्नु सुरक्षा निकायका निम्ति ठुलो चुनौती भएको नागरिक समाजको ठहर छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.