रक्षामन्त्री पोखरेल र सांसद पाैडेलबीच छलफल : सेनाको प्रतिवेदन अनुसार काम हुन्छ !

बिमल खड्का, काठमाडाै २०७५ असाेज ७ । भदौ २९ गते शुक्रवार राति बागलुङको बडीगाड गाउपालिका र ढोरपाटन नगरपालिकाको सीमानाको तुरतुरेबाट खसेको पहिरो र बडीगाड खोलामा बनेको तालका विषयमा रक्षा मन्त्री ईश्वर पोखरेल र प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेल बीच आइतबार बिहान छलफल भएको छ । पहिरो सँगै खसेको चट्टानले मध्य पहाडी लोकमार्ग र बडीगाड खोलामा बनेको ताल खुलाउने विषयमा छलफल गरिएको बताइएको छ । छलफलमा रक्षा मन्त्री पोखरेलले सेनाले त्यसको अध्ययन गरी फर्किसकेकाले प्रतिवेदन अनुसार काम हुने बताए ।

जनताले दुख पाएका छन् त्यसको वैकल्पिक मार्गका लागि जिल्ला तथा स्थानीय सरकारसँग पनि छलफल भएको छ पोखरेलले भने, चाडै नै ताल र मध्य पहाडी लोक मार्ग खुलाउन सरकार तत्पर छ । छलफलमा जनताले पाएका दुःखका विषयमा सांसदले जानकारी गराएका थिए । छलफलमा मन्त्री पोखरेलसँग कालिगण्डकी कोरिडोर निमार्णका विषयमा पनि छलफल गरिएको थियो ।

पहिरो गएर मध्य पहाडी लोकमार्ग र बडिगाड खोलामा ताल बनेको पनि हप्ता दिन भन्दा बढी भएको छ । पहिरो कारण निशी, भुजी र ढोरपाटनका जनतामा खाद्यान्न लगायतको अभाव देखिन थालेको छ । लोकमार्ग सुचारु हुन कति समय लाग्ने हो भन्ने निश्चित छैन । पहिरो पारगर्ने पैदल मार्गको विकल्प नहुँदा आम नागरिक निकै मर्कामा रहेका छन् । स्थानीयबासीहरूलाई यात्रा गर्ने समेत अहिले निकै अप्ठ्यारो परेको छ ।

शनिवार ताल फुटाउँन काठमाडौँबाट गएको बम डिस्पोजल टोली पनि ताल तत्कालै पुट्याउँने स्थिति नभएको भन्दै फर्किएको छ । डिस्पोजल टोलीका प्रमुख सेनानी राधाकृष्ण थापाका अनुसार हाललाई जम्मा भएको ताललाई आफूहरूले फुटाएर पानीको वहाब घटाउन सक्ने अवस्था नरहेको र केही दिनको धैर्यता सँगै पानीको वहाब केही मात्रामा घटेपछि मात्र ताल फुटाउन सकिने बताएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *