माझफाँट, पर्वत जिल्लाको ३२ औँ पूर्ण साक्षर गाविस घोषित !

विशन क्षेत्री, पर्वत, २०७३ फागुन २४ । चालु आवमा पर्वत जिल्लालाई पूर्ण साक्षर घोषणा गर्ने अभियान अन्तर्गत सोमबार उत्तरी पर्वतको मझफाँट गाविसलाई पूर्ण साक्षर गाविस घोषणा गरिएको छ । २०६८ सालदेखि लागु भएको पूर्ण साक्षर कार्यक्रम अन्तर्गत पर्वतमा आव २०७०÷०७१ देखि पूर्ण साक्षर गाविस घोषणा सुरु गरिएको हो ।

पूर्ण साक्षर एवम् निशुल्क तथा अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता घोषणा भएको ३२ औँ गाविस हो । दुई हजार पाँच सय ४७ जनसंख्या रहेको गाविसमा १५ देखि ६० वर्ष उमेर समूहका चार हजार जना साक्षर रहेका छन् । गाविसभरिमा ७४ जना असाक्षर रहेको गाउँ शिक्षा कार्यक्रमको तथ्यांकमा उल्लेख गरिएको छ ।

गाविस भित्र रहेका १५ देखि ६० उमेर समुहका ९८ प्रतिशत नागरिक अक्षर चिन्न, लेख्न र पढ्न सक्ने भएपछि जिल्ला शिक्षा कार्यालय पर्वतको समन्वयमा गाउँ शिक्षा समिति मझफाँटको आयोजनामा गाविसलाई पुर्ण साक्षर गाविस घोषणा गरिएको हो ।

साक्षर गाविस घोषणा सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि स्थानीय विकास अधिकारी विष्णुप्रसाद भुषालले विकासको मुलआधार नै शिक्षा भएको बताउँदै गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिए । पुरानो शैलि र पुरानै पद्धतिको भरमा अध्ययन अध्यापन गराउँदा देशले शैक्षिक क्षेत्रमा फड्को मार्न नसक्ने बताउँदै युगसापेक्षित अध्ययन अध्यापन शैली परिवर्तन गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा नै भुषालले त्यहाँका बासिन्दाहरुलाई जिल्ला विकास समितिबाट सेवाग्राहीलाई प्रदान गरिने सेवा र लिने तरिकाको बारेमा समेत जानकारी गराएका थिए ।

त्यस्तै विशिष्ट अतिथी जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले पर्वतका अन्य गाविसलाई पनि यही आर्थिक वर्षभित्र जिल्लालाई नै पूर्ण साक्षर घोषणा गर्ने तयारीमा रहेको बताए । जिल्लालाई नै पूर्ण साक्षर घोषणाका लागि कार्यालयले रणनीति तयार गरि सोबमोजिम अगाडि बढेको पनि उनले जानकारी दिए । गाविसलाई साक्षर बनाउन सहयोग पु¥याउने गाविसका सवै शैक्षिक संघसंस्था तथा समुदायलाई उनले धन्यवाद समेत ज्ञापन गरेका थिए । मल्ललाजसँगै लगत्तै बेउलीवास, उराम र कुश्मा नगरपालिका पूर्ण साक्षर घोषणाको तयारीमा रहेको समेत उनले जानकारी दिए ।

त्यस्तै कार्यक्रममा मेख बहादुर खत्री, ईन्द्र बहादुर अधिकारी, गोरे नेपाली, घलबहादुर घर्ती क्षेत्री, मुरारी शर्मा, दल बहादुर लामिछाने लालबहादुर अधिकारी लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

माझफाँट गाविसका गाविस सचिव तथा गाउँ शिक्षा समितिका अध्यक्ष लिलाधर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य गाउँ शिक्षा समितिका सदस्य हेमकुमारी अधिकारी र कार्यक्रमकोे सञ्चालन स्रोत व्यक्ति सुभन्तनाथ सुवेदीले गरेका थिए । गाविसमा तीन माध्यमिक र नौ आधारभूत विद्यालय रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *