साताको तस्वीर : विपदबाट उत्पन्न ‘तुरतुरेको ताल !’

बागलुङ भिङगिठे २०७५ असोज ५ । बागलुङ जिल्लामा तालहरुको चर्चा चल्दा दमेकको गाजा दह, भकुण्डेको बराह ताल, बोवाङको रुद्रताल, निसीको तिलाचन ताल बोँगादोभानको सिद्ध बराहताल, ढोरपाटन शिकार आरक्ष क्षेत्रमा रहेको जाल्पा र गन्हाउने तालहरुको नाम अघी आउँछ ।

ढोरपाटन शिकार आरक्षमा रहेको जाल्पाताल ।
बागलुङ जिल्लाका विविध क्षेत्रहरुमा रहेका प्राकृतिक ताल (जलकुण्ड)हरु क्षेत्रफलका हिसावले साना भएपनि धार्मिक आस्थासंग जोडिएका हुनाले यी तालहरुको विशेष महत्व रहेको छ । यी ताल (जलकुण्ड)हरुलाई आन्तरिक एवं बाह्य पर्यटकीय आकर्षणको केन्द्र बनाउन अझ धेरै काम गर्न बाँकी छ । ढोरपाटन शिकार आरक्ष भित्र रहेका तालहरु (बागलुङ जिल्लामा पर्ने)को लुफ्त उठाउन कठीन पदमार्गका कारण असम्भव जस्तै छ ।

साबिक बोँगादोभान गाविसमा रहेको सिद्ध बराह ताल र साविक बोबाङ गाविसमा रहेको रुद्रताल ।
जब तालको चर्चा चल्छ, ताल तलैया घुम्ने विचार फुर्छ तब यस जिल्लाका बिद्यार्थी, युवा युवती, बृद्धबृद्धाहरु सबै पोखराको फेवाताल, बेगनासताल र रुपाताल घुमेर धीत मार्ने गर्छन । अधिकाँश शैक्षिक संस्थाहरुले त अध्ययन भ्रमणकै कार्यक्रम बनाएर छात्रछात्राहरुलाई यी तालहरु घुमाउछन् ।

तुरतुरेको पहिरोल बडीगाड खोला थुनिएपछी बनेको ताल जुन अहिले आकर्षणको केन्द्र बनेको छ ।
ढोरपाटन शिकार आरक्ष सीमामा पर्ने जाल्पा र गन्हाउने तालहरु अतिनै रमणीय चित्ताकर्षक रहेपनि दूरी र कठीन यात्राका कारण त्यस्को लुफ्त उठाउन असम्भव जस्तै रहेको अवस्थामा गत भदौ २९ गते रातिको प्राकृतिक विपदले बडीगाड खोला थुनिएर उत्पन्न ताल (जलाशय) यसबखत सबैको आँखामा परेको छ । प्राकृतिक विपदबाट अक्रान्त यस क्षेत्रका जनताहरु बडीगाड खोलामा बनेको यस तालको रमणियताबाट लोभिएका छन् र घुईरो घुईरो कुरा उठाई रहेका छन् यो तालको संरक्षण गर्नु पर्छ । केहि जनप्रतिनिधीहरुले त सार्वजनिक रुपमै तालबाट पीडित र विस्थापितहरुलाई मुआव्जा दिएर उचित व्यवस्थापन गरी तालको संरक्षण गरेमा पर्यटकीय आकर्षणको केन्द्र बन्ने र बृहत योजना बनाएमा विद्युत उत्पादन पनि गर्न सकिने विचार व्यक्त गरिरहेका छन् ।

तुरतुरे तालका थप तस्वीरहरु
ताल तलका बस्तीहरु ताल फुटेर ठुलो नोक्सानी हुने जलत्रासमा रहेका छन् । बडीगाड खोलाको तटीय क्षेत्र जुन गुल्मी जिल्लाको रिडी सम्म फैलिएको छ त्यहाँका जनता तालमा जम्मा भएको पानी जतिसक्यो चाँडो सुरक्षित तवरले फाल्नु पर्ने आवज उठाई रहेका छन्, दबाब दिईरहेका छन् ।

गल्कोट दुदिलाभाटीको हलहलेको पोखरी ।
यस स्थितिमा तालको संरक्षण वा तालको पानीलाई सुरक्षित रुपमा निकास दिने विषयमा गम्भीर भएर बिस्तृत अध्ययन मनन् गर्नु आवश्यक छ ।

तस्वीर-ईबागलुङ सहकर्मीहरुबाट ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *